
२ जेठ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसका सांसद टेकबहादुर गुरुङको संसद प्रवेशलाई लिएर प्रश्न उठाएका छन् ।
बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका व्यक्तिले संसदमा नारा लगाइरहेको टिप्पणी गरे ।
‘…भ्रष्टाचारी ठहर भएकाहरुले नारा लगाइराख्या छ । नेपाली कांग्रेसलाई सरम हुँदैन ? भ्रष्टाचार ठहर गरेको, आफ्नो भएपनि सांसदलाई बाहिर निकाल्नुपर्दैन ?’ ओलीले भने, ‘नियम कानुन कांग्रेसले बुझ्या छैन ? पढ्या छैन ?’
काठमाडौंस्थित भृकुटीमण्डपको जग्गा भाडा प्रकरणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतले गुरुङलाई दोषी ठहर गर्दै जरिवाना गरेको थियो । गत चुनावमा मनाङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गुरुङ भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले १२ पुस २०७९ मा निलम्बनमा परेका थिए । उक्त मुद्दामा विशेष अदालतले उनलाई १ करोड २१ लाख रुपैयाँ जरिवाना गरेको थियो । फैसलापछि गुरुङले आफ्नो निलम्बनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । १६ चैत २०८० मा न्यायाधीशद्वय डा.मनोजकुमार शर्मा र विनोद शर्माको संयुक्त इजलसले सांसद गुरुङको निलम्बन फुकुवा गरिदिएको हो ।
सर्वोच्च अदालतको आदेशका आधारमा संघीय संसद सचिवालयले सांसद गुरुङको निलम्बन १२ वैशाख २०८१ मा फुकुवा गरेको थियो । सांसद गुरुङ २८ वैशाख २०८१ देखि सुरु भएको संसदीय संसदको बर्षे अधिवेशन अन्तर्गत प्रतिनिधि सभाको बैठकमा सहभागी हुँदै आएका छन् ।
सांसद गुरुङलाई संसदमा बस्न नदिएर कांग्रेसले नै निकाल्नुपर्ने एमाले अध्यक्ष ओलीको तर्क छ । अध्यक्ष ओलीले दोहोर्याएका छन्, ‘प्रमाणित भ्रष्टाचारीलाई (संसदमा) ल्याएर …. अरु धेरै कुरा म भन्न चाहन्न, कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ, यति भन्छु ।’
गिरिबन्धु टी इस्टेटमा सर्वोच्चको फैसलालाई लिएर कांग्रेस नेताहरुले ओलीमाथि प्रश्न उठाइरहेका बेला ओलीले एमालेमाथि अनेक आरोप नलगाउन चेतावनी दिएका छन् । उनले भनेका छन्, ‘कांग्रेसमाथि अनेक आरोपहरु छन् । फाइल धपाउँदा हैरान भएको छ नेपाली कांग्रेस । अनि फाल्तु कुरा गर्ने ? अनि एमालेका विरुद्ध जथाभावी ?’
आफूमाथि रहेका प्रश्नहरु बिर्सेर उपप्रधानमन्त्री तथा गृहमन्त्रीमाथि प्रश्न नगर्न पनि ओलीले कांग्रेसलाई चेतावनी छ । ‘न कहीँ कतै अभियोजन छ ! छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि कांग्रेसले नै अभियोजन चलाइहाल्ने ? कांग्रेसले नै फैसला पनि ठोकिदिने ?’ ओलीले पश्नमाथि प्रश्न गरेका छन् ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएर संसद अवरोध गर्दै आएको छ । तर, बुधबार पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले लामिछानेका सम्बन्धमा कतै उजुरी नपरेको र अभियोजन नचलेको भन्दै बचाउ गरे ।
प्रतिक्रिया 4