+
+

बढ्यो गर्मी, तराई मधेशमा लू चल्ने सम्भावना

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते ९:१६

३ जेठ, काठमाडौं । आगामी ४ दिनसम्म देशभर अत्यधिक गर्मी बढ्ने भएको छ । तत्काल वर्षा गराउने प्रणाली नभएकाले तराई मधेशका जिल्लामा अत्यधिक गर्मी बढ्ने मौसमविद्को पूर्वानुमान छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले आगामी तीन दिनसम्म तराई मधेशका जिल्लामा वर्षा गराउने प्रणाली नभएकाले गर्मी बढ्ने बताए । उनले अनलाइनखबरसँग भने, ‘गएको केही दिन अगाडि जुन किसिमले वर्षा भयो, त्यो वर्षाले तापक्रममा गिरावट भएको थियो । अब वर्षा गराउने प्रणाली नभएकाले आगामी दिनमा गर्मी बढ्ने देखिन्छ ।’

केही दिन अघि भारत बिहार आसपासको न्यूनचापीय प्रणाली, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले देशभर वर्षा भएको थियो । सो वर्षाका कारण तापक्रम घट्दा केही शीतल महसुस भएको थियो । बिहार आसपासको न्यूनचापीय प्रणालीको प्रभाव नेपालबाट पूर्णरुपमा हटिसकेको छ । अहिले स्थानीय वायु र पश्चिमी वायुको मात्र आंशिक प्रभाव छ ।

त्यसको प्रभावले कोशी प्रदेशका थोरै स्थानमा र बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मात्र हल्का वर्षाको सम्भावना छ । तर तराई मधेशका जिल्लामा तत्काल पानी पर्ने सम्भावना देखिंदैन । त्यसैले गर्मी बढ्ने पूर्वानुमान मौसमविद्ले गरेका हुन् ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक एवम् मौसमविद् डा. विनोद पोखेरलले आगामी चार दिनसम्म देशैभर गर्मी बढ्ने र तराई मधेशका जिल्लामा तातो हावाको लहर अर्थात् लू चल्न सक्ने सम्भावना औंल्याएका छन् ।

वरिष्ठ मौसमविद् प्रधानाङ्ग लगातार गर्मी बढ्दा लू चल्ने बताउँछन् । अहिले नै लू चल्ने भनेर भविष्यवाणी भने नगर्ने उनले बताए । ‘हामीले त्यसलाई नियालिरहेका छौं, लू चल्यो भने बुलेटिन मार्फत जानकारी दिन्छौं ।’

धनगढी, नेपालगञ्ज, जनकपुर लगायत तराई मधेशका धेरै जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस र त्यस आसपाससम्म पुगेको छ । अघिल्ला दिनहरुमा ती स्थानको अधिकतम तापक्रम ३० डिग्री सेल्सियसभन्दा तल झरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?