+
+

पर्यटक संख्या बढ्दा सूचीकृत होटलहरूको आम्दानीसँगै नाफा बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १६:०८

३ जेठ, काठमाडौं । वाह्य पर्यटकको संख्या बढ्दा सूचीकृत होटल तथा पर्यटन समूहका कम्पनीहरुको आम्दानी र नाफा बढेको छ । कम्पनीहरूले सार्वजनिक गरेको साउनेदेखि चैत मसान्तसम्म (९ महिना)को वित्तीय विवरणअनुसार सूचीकृत सबै होटलहरूको आम्दानी बढेको छ ।

वाह्य पर्यटकको संख्या बढ्दा आम्दानी बढेको होटलहरूले आफ्नो वित्तीय विवरणमै प्रष्ट्याएका छन् । पर्यटक संख्यामा वृद्धि भएसँगै होटलहरुको तेस्रो त्रैमासिक अवधिमा अक्युपेन्सी दर बढेको छ, जसले आम्दानीसँगै नाफा पनि बढेको हो ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ७९ हजार १ सय पर्यटक भित्रिएकोमा फेब्रुअरीमा ९७ हजार ४ सय २६, मार्चमा १ लाख २८ हजार १६७ तथा अप्रिल महिनामा १ लाख ११ हजार ३७६ विदेशी पर्यटक नेपाल भित्रिएको तथ्यांक छ । वाह्य पर्यटकको संख्या उल्लेख्य देखिएपछि दोस्रो बजारमा सूचीकृत होटल तथा पर्यटन क्षेत्रका ६ कम्पनीको आम्दानी बढेको छ ।

हायात होटल सञ्चालन गर्दै आएको तारागाउँ रिजेन्सी कम्पनीको आम्दानी ११ प्रतिशत बढ्दा नाफा ३९ प्रतिशत बढेको छ । होटलले चालु आवको तेस्रो त्रैमासमा कुल १ अर्ब ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आवको यसै अवधिमा आम्दानी ९० करोड ६१ लाख थियो । त्यस्तै खुद नाफा पहिले २३ करोड ८८ लाख रुपैयाँ रहेकोमा अहिले ३३ करोड ३२ लाख रुपैयाँ छ ।

सोल्टी होटलको आम्दानी पनि समीक्षा अवधिमा १२ प्रतिशत बढेको छ । कम्पनीले गत आवको तेस्रो त्रैमासमा कुल आम्दानी १ अर्ब ५० करोड रहेकोमा अहिले १ अर्ब ६८ करोड छ ।  चालु आवको तेस्रो त्रैमाससम्म सोल्टी होटलको खुद नाफा ४१ करोड २३ लाख रुपैयाँ छ, पोहोर यहीं अवधिमा खुद नाफा ३७ करोड ११ लाख रुपैयाँ थियो ।

र्‍याडिसन होटल सञ्चालन गर्दै आएको ओरियन्टल होटल कम्पनीले चालु आव तेस्रो त्रैमाससम्म कुल ८१ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको आम्दानी पहिलेको तुलनामा १८ प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा यस्तो आम्दानी ६९ करोड ४७ लाख रुपैयाँ थियो । आम्दानी बढ्दा नाफा ९.८ प्रतिशत बढेको छ । चालु आवको साउनदेखि चैतसम्म ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा यस्तो नाफा ६ करोड थियो ।

हायात प्लेस सञ्चालन गर्दै आएको सिटी होटल भने नोक्सानीमा छ । यद्यपि आम्दानी १३ प्रतिशत बढेपछि नोक्सानी घटेको छ । यस होटलले चालु आवको तेस्रो त्रैमासमा ३७ करोड २ लाख रुपैयाँ आम्दानी गरेको छ । पहिले ३२ करोड ७२ लाख आम्दानी गरेको थियो । पहिले कम्पनीको नोक्सानी २१ करोड ६१ लाख रुपैयाँ रहेकोमा अहिले १५ करोड ३७ लाख रुपैयाँ छ ।

होटलहरुको मात्रै नभई पर्यटन क्षेत्रका अन्य कम्पनी चन्द्रागिरि हिल्स र कालिन्चोक दर्शनको पनि आम्दानी बढेको छ । चन्द्रागिरि हिल्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कुल ६९ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ । पहिलेको तुलनामा कम्पनीको आम्दानी १० प्रतिशत बढी हो । पहिले यस्तो आम्दानी ६२ करोड ९० लाख रुपैयाँ थियो । त्यस्तै नाफा ३८ प्रतिशत बढेको छ । पहिले ७ करोड ७७ लाख खुद नाफा कमाएको कम्पनीले अहिले १० करोड ७ लाख कमाएको छ ।

कालिन्चोक दर्शनको कुल आम्दानी शत प्रतिशत बढेको छ । गत आवको तेस्रो त्रैमाससम्म कुल ३ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको कम्पनीले अहिले ६ करोड ९३ लाख कमाएको छ । तर कम्पनीको नाफा भने ३.८ गुणा बढेको छ । पहिले ६४ लाख ३४ हजार नाफा कमाएको कम्पनीले अहिले २ करोड ४७ लाख कमाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?