
३ जेठ, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले नेपालका हजयात्रीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिदाइ गरेका छन् । बुधबार बेलुकी हजयात्रीलाई बिदाइ गर्न गएका बेला उनले विमानस्थलको अनुगमन पनि गरेका छन् ।
हिजरी सम्वत् १४४५ को हजका लागि पहिलो टोली बुधबार बेलुकी साउदी अरब प्रस्थान गरेको छ । उनीहरुलाई उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र नेपालका लागि साउदी अरबका राजदूत साद नसिर अब्दुल्लाह अबु हमिदले खादा लगाइदिएर बिदाइ गरे ।
पहिलो चरणमा १४९ जना हजयात्री र एक जना हज प्रतिनिधिमण्डलसहित जम्मा १५० जना साउदी अरब गएको छ । यस वर्ष जम्मा ७६४ जना नेपाली हजयात्री साउदी अरबको मक्कामदिना पुग्ने छन् ।
पहिलो टोलीलाई बिदाइ गर्न गएको बेला उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्ष, आगमन कक्ष, अध्यागमन, भन्सार जाँचपास, लगेज व्यवस्थापन लगायतको अनुगमन गरेका थिए । विमानस्थलमा अत्यधिक भिड हुने गरेको विषयमा चासो राख्दै लामिछानेले भीड व्यवस्थापनमा ध्यान दिन सम्बद्ध अधिकारीहरुलाई निर्देशन दिएका थिए ।
साथै उनले विमानस्थललाई उच्च प्रविधियुक्त बनाउन, सौन्दर्यीकरणमा जोड दिन र सहज तथा सुरक्षित ढंगले आउ–जाउ गर्ने वातावरण बनाउन निर्देशनसमेत दिएको लामिछानेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया 4