+
+

संसद बैठक चार बजेलाई सर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १२:१०

३ जेठ, काठमाडौं । प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको छ । आजको बैठक बिहान ११ बजे बस्ने तय भएको थियो ।

तर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले प्रतिनिधि सभाको बैठक अपराह्न चार बजेका लागि सारिएको संसद सचिवालयले जनाएको छ ।

सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग नेपाली कांग्रेसले राख्दै आएको छ । कांग्रेसको यही अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन । संघीय संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने प्रस्ताव समेत कांग्रेसको अवरोधका कारण पारित हुन सकेको थिएन ।

प्रधानमन्त्री र सभामुखबीच टेलिफोन कुराकानी

सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेर बैठक सारेका हुन् । केहीबेर अघि सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग टेलिफोनमा कुराकानी गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केहीबेर बैठक ढिला गर्न भनेका थिए । त्यसपछि सभामुखले बैठक चार बजेका लागि तोकेको उनको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री प्रचण्डका अनुसार आजको बैठकमा नै गृहमन्त्री रवि लामिछानेलाई बोल्ने वातावरण निर्माणको प्रयास भइरहेको छ । त्यसका लागि प्रधानमन्त्री प्रचण्डले बुधबार पनि कांग्रेस नेताहरुसँग छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?