+

युरिक एसिड कसरी हुन्छ ?

२०८१ जेठ  ३ गते १३:४१ २०८१ जेठ ३ गते १३:४१
युरिक एसिड कसरी हुन्छ ?

रगतमा पाइने तर शरीरका लागि काम नलाग्ने तत्व युरिक एसिड हो । यसलाई न्यून, सामान्य र उच्च गरी तीन मात्रामा वर्गीकरण गरिन्छ । युरिक एसिड सामान्य रहँदा कुनै हानि गर्दैन तर मात्रा बढेमा शरीरमा समस्या देखिन सक्छ ।

युरिक एसिड शरीरमा कसरी उत्पन्न हुन्छ ?

शरीरमा प्युरिन भन्ने रसायन हुन्छ, जुन मेटाबोलिज्मको प्रक्रियामा टुक्रिंदा (ब्रेकडाउन) रगतमा यो एसिड निस्कन्छ । प्रोटिन आहारमा पाइने प्युरिन मेटाबोलिज्मपछि उत्पन्न हुने विकार तत्व हो । प्युरिन सामान्यतया हाम्रो शरीरले बनाउँछ र केही खानामा पनि पाइन्छ ।

युरिक एसिड सामान्यतया रगतमा घुलेर बसेको हुन्छ । त्यसलाई मिर्गौलाले छानेर पिसाब मार्फत शरीरबाट बाहिरिन्छ । तर मिर्गौलाले राम्रोसँग छान्न नसकेपछि पिसाबबाट बाहिरिन सक्दैन । फलस्वरुप, यसको निरन्तर वृद्धि भई ‘हाइपरयुरिसेमिया’को  समस्या देखिन सक्छ । ‘हाइपरयुरिसेमिया’ भन्नाले शरीरमा युरिक एसिडको मात्रा अत्याधिक बढ्नु हो । जसले शरीरका अंगहरुमा क्षति पुर्‍याउन सक्छ ।

कति मात्रा सामान्य ?

महिला र पुरुषमा युरिनको स्तर फरक-फरक हुन्छ । रगत वा पिसाब परीक्षण गर्दा महिलामा युरिक एसिडको मात्रा १.५ देखि ६.० सम्म (मिलिग्राम प्रति डेसिलिटर) आउँछ भने यो सामान्य स्तर मानिन्छ । यता, पुरुषमा २.५ देखि ७.० (मिलिग्राम प्रति डेसिलिटर)सम्म सामान्य स्तर हो ।

महिला र पुरुषमा २४ घण्टाको पिसाब परीक्षणपछि २५० देखि ७५० मिलिग्राम स्तर देखिन्छ भने पनि सामान्य भन्न सकिन्छ । यद्यपि, कहिलेकाहीं प्रयोगशाला अनुसार शून्य वा एक-दुई संख्यामा घटबढ हुनसक्छ । तर  यो संख्या भन्दा अलि धेरै माथि आएमा युरिक एसिड बढेको बुझिन्छ ।

कारण

युरिक एसिड उच्च हुने ठोस कारण स्पष्ट रूपमा यही हो भन्न सधैं सकिने अवस्था हुँदैन । यद्यपि, वातावरण र वंशाणुगत कारणलाई यो बढ्नुमा जिम्मेवार मानिन्छ ।

अन्य भनेको मेटाबोलिक सिन्ड्रोम, अत्याधिक मदिरा पिउनु, उच्च रक्तचाप, मधुमेह भएकामा पनि युरिक एसिड बढ्ने सम्भावना बढी हुन्छ ।

वंशाणुगत कारणले गर्दा युरिक एसिडको मेटाबोलिज्ममा असर गर्नाले सो एसिड फाल्न नसक्दा बढ्छ । त्यस्तै, प्युरिन भएका खानेकुरा तथा पेय जस्तै, रातो मासु, केही समुन्द्री खाना, च्याउ र प्रशोधित खानेकुराको बढी सेवनले पनि एसिडको मात्रा बढाउन सक्छ ।

पेयमा सबै प्रकारका मदिराले बढाउन सक्छ ।

रक्तअल्पता, रक्त क्यान्सर भएका बिरामी र केही औषधिको लगातार सेवनले पनि सो एसिड बढाउन सक्छ । मिर्गौला खराब भएकामा पनि पिसाबमा क्रियटिनिन बढेसँगै युरिक एसिड पनि बढ्दै जान सक्छ ।

मांसपेशी कुनै कारणवश क्षति भएमा बढ्न सक्छ । गर्भावस्थामा उच्चरक्त चाप र छारेरोग भएमा पनि एसिडको स्तर बढ्न सक्छ । ट्युमरको लागि केमोथेरापी लिंदा पनि कसैमा युरिक एसिडको मात्रा उच्च हुनसक्छ ।

युरिक एसिड वृद्धि हुँदा देखिने समस्या

यसको वृद्धि भएमा सबैभन्दा पहिला जोर्नीमा गएर बस्छ । जसले जोर्नीको संरचना र कार्यमा दखल दिई त्यही समस्या गराउँछ । र, जोर्नी दुख्ने र पोल्ने गर्छ ।

त्यस्तै, एसिडको मात्रा रगतमा एक सीमासम्म बढ्छ । र, त्यो सीमा कटेपछि थिग्रिएर ’क्रिस्टल’ (मणिभ) का रूपमा परिणत हुन्छ, जसलाई हामी पत्थरी भएको बुझ्छौं ।

यस्ता ’क्रिस्टल’ हातखुट्टाका टुप्पा, घुँडाका जोर्नी लगायतमा एसिड जम्न पुग्छ । जुन भागमा जम्छ त्यही भाग सुन्निने, रातो हुने, पोल्ने र दुख्ने लक्षण देखा पर्छन् । लक्षण देखिने प्रक्रियालाई युरिक एसिड बढेको भनिन्छ ।

लक्षण

उच्च वा कम युरिक एसिडको स्तर भएको व्यक्तिमा सधैं लक्षणहरू नदेखाउन सक्छ । कुनै व्यक्तिमा लामो समयसम्म सामान्य मात्राभन्दा बढी मात्रा नदेखिएसम्म लक्षणहरू देखा पर्दैन । युरिक एसिड बढ्दा देखिने लक्षणहरु यस्ता हुन्छन् ।

– जोर्नी दुख्नु र सुन्निनु

– जोर्नीको छालाको रङमा परिवर्तन देखिन सक्नु

– खुट्टाको बूढी औंला सुन्निनु वा दुख्नु

युरिक एसिडकै कारण पत्थरी बनेमा देखिने लक्षण

– ढाड दुख्नु

– पटक-पटक पिसाब आउनु

– पिसाबमा अनौठो खालको गन्ध हुनु र कहिलेकाहीं रगत देखिनु

– रिंगटा वा बान्ता हुनु

– कोखा दुख्नु

युरिक एसिडको मात्रा कम हुँदा देखिने लक्षण

– युरिक एसिड स्तर उच्चको तुलनामा स्तर न्यून हुनुको जोखिम सामान्य छ । युरिक एसिडको मात्रा कम भएका व्यक्तिले सामान्यभन्दा बढी पिसाब फेर्न सक्छन् । यस्तोमा पर्याप्त पानी नपिउँदा डिहाइड्रेसन हुन सक्छ ।

पहिचान तथा उपचार

युरिक एसिड परीक्षणका लागि केही मात्रामा पिसाब र रगतको नमुनाबाट लिइन्छ । यदि अन्य रोगको कारण युरिक एसिड बढेको शंका लागेमा अन्य परीक्षण पनि हुनसक्छ ।

सबैभन्दा पहिला लक्षणअनुसारको यसको उपचार गरिन्छ । साथै, एसिडको स्तर बढेर दुखाइ बढिरहेको छ भने दुखाइ निवारक र स्तर घटाउने औषधि दिइन्छ ।

युरिक एसिडको स्तर दीर्घकालीन रुपमा बढेको अवस्थामा यसलाई सन्तुलनमा राख्ने औषधिका साथै एसिडको मात्रा बढाउने उच्च प्रोटिन आहार कम खानुपर्छ । जस्तै- माछामासु, मदिरा, च्याउ, गालेको अचार, गेडागुडीहरु कम खानुपर्छ । यसको मतलब खाँदै नखानु भन्ने होइन । ठिक्क मात्रामा चिकित्सकको सल्लाहमा खानेकुरा खान सकिन्छ । युरिक एसिड बढ्न नदिन वा कम गर्न प्रशोधन नगरिएका वा कम प्रशोधित आहार तथा रेसादार फाइबरयुक्त खानेकुरालाई बढी जोड दिनुपर्छ ।

डा. सुमित आचार्य युरिक एसिड स्वास्थ्य
डा. सुमित आचार्य
लेखक
डा. सुमित आचार्य
मिर्गौलारोग विशेषज्ञ

एमबीबीएस, एफसीएपएस (पक), फेलोसिप इन एड्भान्स रेन्टल ट्रान्सप्लानेट (बेलायत) हाल काठमाडौं थापाथलीस्थित नर्भिक इन्टरनेसनल अस्पताल र भक्तपुर शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?