+
+

‘१२ गाउँ’बाट फिल्ममा फर्किन लागेका इकु : ‘नाकमुख बंग्याउँदा हाँस्ने दर्शक अहिले छैनन्’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते १३:५२

काठमाडौं । ‘इकु’को रुपमा प्रसिद्ध हास्यकलाकार सुलेमान शंकर विराज भट्टको आगामी एक्सन–थ्रिलर ‘१२ गाउँ’मा अनुबन्धित भएका छन् । निर्माता र उनीबीच बुधबार लिखित सहमति भएको छ ।

‘इकु’को तेस्रो सिक्वेल बनाउने तयारीमा जुटेका सुलेमानले अहिलेलाई यो फिल्म गर्ने सहमति गरेका हुन् । भट्टले निर्देशन गर्ने यो फिल्ममा आफू हास्य भूमिकामै देखिन लागेको उनले बताए ।

‘फिल्मभरि नै एक महत्वपूर्ण कमेडी रोलमा म देखिनेछु,’ उनले भने, ‘विराज दाइको छोराले डेब्यु गर्नेदेखि लिएर जसरी विदेशी प्राविधिक लिएर भव्यरुपमा फिल्म बनाउने तयारी छ, यसले मलाई उत्साह दिएको छ,’ दुई वर्षपछि फिल्ममा फर्किन लागेका सुलेमानले अनलाइनखबरसँग भने ।

उनी पछिल्लोपटक ‘चोर र पुलिस’मा देखिएका थिए । पछिल्लो समयका दर्शक स्मार्ट भएको र यसले आफूलाई अझै मेहनत गर्न प्रेरित गरेको उनको भनाइ छ । ‘नाकमुख बंग्याउँदा हाँस्ने दर्शक अहिले छैनन्,’ सुलेमानले भने, ‘अहिले सिचुएसनल कमेडीको ट्रेन्ड छ । हास्य कलाकारको लागि यो चुनौतीको कुरा पनि हो ।’

अहिले ‘१२ गाउँ’ फिल्ममा आफूले निर्वाह गर्ने विरु भन्ने पात्रको क्यारेक्टर निर्माणको काम भइरहेको उनले बताए । ‘अहिले क्यारेक्टरमा घुस्ने प्रयास गर्दैछु । क्यारेक्टर पनि बन्दैछ,’ उनले भने । यो फिल्मको सुटिङ दुई सातापछि हुने उनले जनाए ।

सुलेमान यतिबेला आफ्नो चर्चित फिल्म ‘इकु’को तेस्रो सिक्वेल निर्माणको तयारीमा जुटेका छन् । अहिले पटकथा लेखन कार्य भइरहेको यो फिल्मको निर्माण नेपाली, भोजपुरी र हिन्दी भाषामा हुने उनले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?