+
+

तस्करले कतारबाट पठाएको सुन हात पार्न अपहरणको नाटक

गौरव पोखरेल गौरव पोखरेल
२०८१ जेठ ३ गते १९:४१

३ जेठ, काठमाडौं । ललितपुरको गोदावरीबाट बुधबार बिहान प्रहरी कन्ट्रोल १०० मा फोन आयो, ‘जंगलमा एक जना व्यक्ति हात, खुट्टा बाँधिएको अवस्थामा छन् ।’

सूचना दिने व्यक्तिले गरेको वर्णन सुनेपछि प्रहरीले अपरहण भएको हुनसक्ने आशंका गर्‍यो । तत्कालै प्रहरी चौकी, गोदावरीबाट टोली गएर इलामको सूर्योदय नगरपालिका–१४, लक्ष्मीपुरका २९ वर्षीय सूर्यबहादुर समाल मगरलाई उद्धार गर्‍यो । उनलाई उपचारका लागि नमस्ते मेट्रो अस्पताल लगियो ।

अपहरणमा संलग्नबारे अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली खटियो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईका अनुसार, सामान्य चोटपटक र बोल्न सक्ने अवस्था भएकाले समालको प्रारम्भिक बयान लिएर घटनाबारे जाँच सुरु भयो ।

‘सुरुमा उनले कतारबाट त्रिभुवन विमानस्थलमा ओर्लिएर ट्याक्सीमा कोटेश्वरतर्फ जाँदा आफूलाई टिस्यू पेपर सुँघाएर बेहोश बनाइएको बताएका थिए’ एसएसपी भट्टराई भन्छन्, ‘कोटेश्वरतिर ट्याक्सी चढेर गएको तर, ट्याक्सीमा अगाडि भएका व्यक्तिले आफूलाई बेहोश बनाएर बन्धक बनाएको उनको प्रारम्भिक बयान थियो ।’

त्यसपछि अपराध अनुसन्धान कार्यालयबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) रोशन खड्का, प्रहरी निरीक्षक निर्मल थापा लगायतको टोली गोदावरीस्थित घटनास्थलमा पुग्यो । उनलाई उद्धार गरिएको स्थानबाट ५०० मिटरको दूरीमा ढुंगाले च्यापेर राखेको अवस्थामा सेतो टि–सर्ट, हाफ पाइन्ट, कालो जुत्ता लगायत सामान भेटियो ।

‘ढुंगाले थिचेको देख्नेबित्तिकै शंकास्पद जस्तो लागेको थियो’ डीएसपी खड्का भन्छन्, ‘त्यसपछि उनलाई के लुगा लगाउनुभएको थियो भनेर सोध्दा फरक हुलिया बताए ।’

खड्काका अनुसार, उनले पहेंलो टिसर्ट, खैरो पाइन्ट र सेतो जुत्ता लगाएको बताएका थिए । तर, घटनास्थलमा भेटिएको कपडासँग त्यो मिलिरहेको थिएन ।

एसएसपी भट्टराईका अनुसार, यसपछि मंगलबार विमानस्थलबाट निस्किंदाको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज हेर्दा उनको कपडा अझै फरक देखियो । उनी ब्याग बोकेर ज्याकेट, टिसर्ट र निलो पाइन्टमा निस्किएको देखिए ।

गोदावरीमा भएको सीसी टीभी फुटेजमा देखिएका थापा ।

अनुसन्धानमा संलग्न अधिकृतहरुका अनुसार, सीसी टीभी फुटेज नै पछ्याउँदै जाँदा उनी विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलबाट सीधै आन्तरिक टर्मिनलतिर गएको देखियो । जबकि, उनले सिधै बाहिर निस्किएर ट्याक्सी चढेको बयान दिएका थिए ।

‘आन्तरिक टर्मिनलतिर गएर समालले सौर्य एयरको टिकट काटेर झापा गएको देखियो, बुझ्दै जाँदा उनकी श्रीमती विर्तामोडमा बस्दिरहिछन्’ एक अधिकृत भन्छन्, ‘विर्तामोडमा श्रीमतीलाई भेटेर त्यहीं लगेज छाडेर बेलुकी ६ बजे फेरि काठमाडौं आउने टिकट काटेको देखिन्छ ।’

बुद्ध एयरमा काठमाडौं फर्किएर उनी विमानस्थलको गेटमा निस्किएर ट्याक्सी चढेको फेला परेको एसएसपी भट्टराई बताउँछन् ।

‘त्यसपछि ट्याक्सी चालकलाई पनि फेला पार्‍यौं, उनले ती व्यक्तिलाई सिनामंगलस्थित मनकामना गेष्ट हाउस लगेर छाडिदिएको बताए’  उनले भने, ‘तर, होटलमा रुम प्याक भएको थाहा पाएपछि उनी निस्किएका रहेछन् ।’ त्यसपछि उनी कोटेश्वरतर्फ गएको पाइएको एसएसपी भट्टराई बताउँछन् ।

कोटेश्वरबाट हिंड्दै गोदावरीतर्फ गएको पाइएको प्रहरी बताउँछ । गोदावरीस्थित सेन्ट जेभियर्स स्कुलको सीसी टीभी फुटेज पनि प्रहरीले संकलन गरेको छ । जसमा बुधबार राति साढे १० बजेतिर उनी एक्लै लुरुलुरु हिंडिरहेको देखिन्छ ।

‘त्यसपछि अपरहणको नाटक गरेकोमा कुनै शंका नै भएन’ भट्टराईले भने, ‘त्यसपछि उनलाई नियन्त्रणमा लिएका छौं ।’

प्रहरीका अनुसार उनले कतारबाट नेपाल आउँदा तस्करले दिएको ७० ग्राम सुन र एउटा आइफोन बोकेर आएका थिए ।

बन्धक बनाएर लुटियो भन्दा फिर्ता दिनु नपर्ने सोचेर उनले अपहरणको नाटक गरेको अनुसन्धानबाट खुलेको उनी बताउँछन् ।

‘पाइन्टको तलपट्टिको भागमा ५० ग्राम र २० ग्रामको औंठी लगाएर उनी आएका थिए, त्यसवापत उनलाई टिकट काटिदिने प्रलोभन दिइएको थियो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘उनले बाहिर निस्किनेबित्तिकै कतारबाट भनिएको व्यक्तिलाई डेलिभरी दिनुपर्ने थियो ।’

तर उनी अन्तर्राष्ट्रिय टर्मिनलबाटै ननिस्किई आन्तरिकतिर गएर झापातिर लागेको भेटिएको प्रहरी अधिकृतहरु बताउँछन् । तर, पाइन्टमा ५० ग्रामको सिक्री लुकाएर ल्याउँदा पनि भन्सार जाँचमा डिटेक्ट नहुनु चाहिँ अनौठो भएको अधिकृतहरु बताउँछन् ।

‘उनले बोकेको सुन करिब १३ लाख रुपैयाँ बराबरको थियो, त्यसका लागि उनले आफैंलाई चोट पुर्‍याएर अपहरणको नाटक गरेको देखिन्छ’ एसएसपी भट्टराई भन्छन्, ‘आफैंले कपडा खोलेर पहिले खुट्टामा त्यसपछि हातमा हल्का बाँधेको देखिन्छ ।’

प्रारम्भिक अनुसन्धानबाट उनले अपहरणको नाटक गरेको पुष्टि भएपछि प्रहरीले थप कारबाहीका लागि उनलाई सुनसहित राजश्व अनुसन्धान विभाग पठाउने तयारी गरेको छ ।

यसअघि पनि झिटीगुन्टाको नाममा पठाउन मिल्ने सुन वैदेशिक रोजगारीमा गएका व्यक्तिबाट हराउँदा अपहरण भएका केही घटना सतहमा आएका थिए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?