
काठमाडौं । सन् २०२१ मा रिलिज भएयता कोरियाली नेटफ्लिक्स सिरिज ‘स्क्वीड गेम’को लोकप्रियता विश्वव्यापी फैलिएको छ । नयाँ सिजन आउने भएपछि प्रशंसक दोस्रो सिजन प्रिमियरको लागि उत्सुकतापूर्वक पर्खिरहेका छन् ।
यसअघि सन् २०२४ को सुरुवातमा यो सिरिज रिलिज हुने चर्चा थियो । नयाँ रिपोर्टअनुसार फ्यानले अझै केही महिना सिरिजलाई पर्खिनुपर्ने हुन्छ । अमेरिकी समाचार वेबसाइट ‘बिजनेस इन्साइडर’ले ‘स्क्वीड गेम सिजन २’ लाई लिएर केही रोचक र विस्तृत जानकारी प्रकाशमा ल्याएको छ ।
मुख्य पात्र सेओङ गि हुनको रोलमा देखिएका अभिनेता ली जङ जेले उक्त मिडियालाई रिलिजबारे केही संकेत दिएका छन् । हालै उनले आगामी स्टार वार्स श्रृंखला ‘द एकोलिट’को प्रचार कार्यक्रममा उनी उपस्थित थिए । सो क्रममा उनलाई सिजन २ को बारेमा सोधिएको थियो । उनले यो सिरिज डिसेम्बरमा आउने खुलासा गरे । यद्यपि, नेटफ्लिक्सले यसबारे केही बताएको छैन ।
‘स्क्विड गेम’ एक कोरियाली सर्भाइभल सिरिज हो जसले आर्थिक बोझले थिचिएका ४५५ जना खेलाडीले भाग लिएको एक गोप्य प्रतियोगिताको कथा भन्छ । जब उनीहरूले पुरस्कारले आफूहरुलाई ऋणबाट सधैंको लागि मुक्त गर्ने कुरा थाहा पाउँछन्, तब उनीहरुले प्रतियोगिता खेल्ने निम्तो स्वीकार गर्छन् । तर पैसाको अघि यस्तो खतरनाक अवरोध आउँछ, यो कुरा उनीहरुलाई थाहा हुँदैन ।
१७ सेप्टेम्बर २०२१ मा रिलिज भएको यो उत्कृष्ट थ्रिलरमा ली जङ जे, गोंग यू, ली यू मी, पार्क हे सू, ली ब्युङ ह्युन, जुंग हो येओन, वि हा जुनको प्रमुख अभिनय छ । यतिबेला सबैले नेटफ्लिक्सबाट यो सिरिजको आधिकारिक रिलिज मिति घोषणाको प्रतीक्षा गरिरहेका छन् ।
प्रतिक्रिया 4