
३ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नै प्रतिनिधि सभामा अप्रिय स्थिति सिर्जना गर्न खोजेको आरोप लगाएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा एमाले र कांग्रेसका सांसदहरुबीच धकेलाधकेल भएको थियो । यस्तो अवस्था आउनुको पछाडि एमाले अध्यक्ष ओलीको भूमिका रहेको महामन्त्री थापाको आरोप छ ।
प्रतिनिधि सभाको बैठकपछि पत्रकार सम्मेलन गरेर थापाले ओलीमाथि आरोप लगाएका हुन् ।
‘एकातिर सम्माननीय सभामुखज्यूलाई आज जसरी पनि सदन चलाउनुपर्छ भनेर निर्देशित गर्ने । अर्कोतर्फ हामी उठिरहेको बेलामा, सदनभित्र आफ्नो कुरा राखिरहँदा बेलामा जबर्जस्ती सत्तापक्ष त्यसमाथि पनि सत्तापक्षभित्रको प्रमुख दलको प्रमुख नेताले जसरी त्यहाँभित्र वातावरण बिगार्ने प्रयास गर्नुभयो । त्यहाँभित्र एउटा अप्रिय स्थिति सिर्जना होस् भन्ने खालको प्रयास गर्नुभयो । यो आफैंमा खेदजन्य छ’, महामन्त्री थापाले भने ।
उनले एमाले अध्यक्ष ओलीलाई कांग्रेस र कांग्रेसका सांसदहरुलाई आफ्नो कार्यकर्ता नठान्न चेतावनी दिए ।
‘उहाँले कांग्रेसको सांसदहरुलाई आफ्नो कार्यकर्ता जस्तो ठान्नुभयो’ थापाले अगाडि भने, ‘एमालेको सांसदहरुलाई उहाँको कुरा हो हप्काउने, धम्क्याउने, तर्साउने, उठबस गराउने त्यो उहाँले अधिकार राख्नुहुन्छ होला । उहाँका सम्बन्ध पनि त्यस्तै होला । तर, नेपाली कांंग्रेस पार्टीका बारेमा त्यो नसोच्नुहोला । कांग्रेस सांसदका बारेमा त्यो नसोच्नुहोला । हामी तपाईंका कार्यकर्ता होइनौं ।’
आफूहरु सबैले संसदमा अवसर पाउनुपर्छ भन्नेमा प्रष्ट रहेको उल्लेख गर्दै उनले एमाले अध्यक्ष ओलीलाई भनेका छन्, ‘तपाईंले हामीलाई अह्राउने होइन ।’
प्रतिक्रिया 4