+
+

अनेरास्ववियुको विद्यार्थी महोत्सव सम्पन्न

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ३ गते २०:२०

३ जेठ, काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को तीन दिने विद्यार्थी महोत्सव सम्पन्न भएको छ ।

महोत्सवमा देशभरबाट एक लाखभन्दा बढी विद्यार्थी सहभागी भएको अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले बताए । घर्तीले महोत्सवमा सहभागीले सूचना, ज्ञान, मनोरञ्जन एकैसाथ प्राप्त गरेकोले विद्यार्थीमा सकारात्मक सञ्चार पैदा गरेको दाबी गरे । उनले भने ‘नितान्त विद्यार्थी केन्द्रित महोत्सव थियो । एकै ठाउँबाट उनीहरूले सूचना, ज्ञान, मनोरञ्जन प्राप्त गरे र यसले विद्यार्थीहरूमा सकारात्मक सञ्चार पैदा गराउन सक्यौं भन्ने लागेको छ ।’

महोत्सवमा करिब १५० वटा स्टल राखिएको थियो । ती स्टलबाट विद्यार्थीले आफ्ना रुचि अनुसारको सूचना तथा मनोरञ्जन लिएका छन् । त्रिभुवन विश्वविद्यालय भू–विज्ञान केन्द्रीय विभागले पनि स्टल राखेर जिज्ञासु विद्यार्थीलाई सूचना दिएको थियो ।

तेस्रो सेमेष्टरमा अध्ययरत प्रियान्सु चौधरी आफ्नो विभागले राखेको सूचनामूलक स्टलमा बसेर धेरै विद्यार्थीको जिज्ञासा मेटाउने प्रयास गरेको बताइन् । उनी विद्यार्थीको चहलपहल, जिज्ञासाले यस्ता महोत्सव भइरहनुपर्ने हो भन्ने महसुस गराएको बताउँछिन् । उनी भन्छिन् ‘एकदम राम्रो आइडिया लाग्यो, यहाँबाट हामीले कति धेरै कुरा एक्प्लोर गर्न पाइरहेका छौं । यहाँबाट हामीले ज्ञान र मनोरञ्जन एकैसाथ पायौं ।’

यस्ता महोत्सवले विद्यार्थीलाई सिर्जनात्मक बन्न उत्प्रेरित गर्ने अर्का विद्यार्थी सर्वेसिं महरा बताउँछन् । ‘विद्यार्थीले नै बनाएको चीज हेर्न सकिन्छ जसले म पनि गर्न सक्छु । अब म पनि बनाउँछु अथवा गर्छु भन्ने हुँदोरहेछ ।’

महोत्सवमा सबै तह, उमेरका विद्यार्थी सहभागी भएको अनेरास्ववियुले जनाएको छ । विचार, बहसमा रुचि भएकाहरूका लागि विभिन्न शीर्षकमा जानकारीमूलक बहसको आयोजना भएको प्रवक्ता प्रकाश पौडेलले बताए ।

महोत्सवमा १४ विधाका कार्यक्रम राखिएको थियो । विद्यार्थी महोत्सवमा अनेरास्ववियुको बारेमा जानकारी दिने, लाइभ म्युजिक, लाइभ प्रोजेक्ट, करियर काउन्सिलिङ, युवा संसद् बहस र संवाद, सांस्कृतिक प्रदर्शनी, रक्तदान तथा स्वास्थ्य शिविर राखिएको थियो ।

त्यस्तै गरी फुडस्टल, ई–गेमिङ प्रतियोगिता, पर्यटन भिजन, विश्वविद्यालयबारे जानकारी, कानुनी शिविर, लाइभ पेन्टिङ प्रतियोगिता, चलचित्र स्क्रिनिङ र दस्तावेजीकरण जस्ता कार्यक्रम भएको थियो ।

करिब डेढ करोड बजेटको कार्यक्रमबाट उठेको रकमको ५ प्रतिशत रकम गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति दिने योजना रहेको अनेरास्ववियुका अध्यक्ष समिक बडालले बताए ।

तस्वीरहरू : विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?