+

रुबिना र सीतामै भर परिरहेको नेपाली महिला क्रिकेट

२०८१ जेठ  ४ गते ६:५२ २०८१ जेठ ४ गते ६:५२
रुबिना र सीतामै भर परिरहेको नेपाली महिला क्रिकेट

३ जेठ, काठमाडौं । सन् २००७ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालेको नेपाली महिला क्रिकेट टोली हालसम्म उपाधिविहीन छ ।

पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्दा नेपाली टिमकी सदस्य सीता रानामगर र सन् २००९ देखि खेल्दै आएकी रुविना क्षेत्री नेपाली महिला क्रिकेटका खम्बा हुन् । र उनीहरु नै महिला क्रिकेटका उत्कृष्ट खेलाडी हुन् ।

तर यी दुई खेलाडी बढ्दो उमेरका कारण नेपालको जर्सीमा धेरै समय देखिने छैनन्, युवा पुस्ताका खेलाडी तयार नहुँदा सन्न्यास लिन पनि सकेका छैनन् ।

सीता र रुविनापछि टिममा आएकी इन्दु बर्माले राष्ट्रिय टिमबाट खेल्न थालेको एक दशक भइसक्यो । सीता, रुविना र इन्दुको प्रदर्शनमा नेपाली महिला क्रिकेट निर्भर छ ।

‘युवा खेलाडी नआउँदा एकदमै दुःख लाग्छ । म र सीता कुरा गरिराखेका हुन्छौं, हामी हरेक बिहान उठ्दा शरीरमा नदुखेको ठाउँ हुँदैन’, रुबिनाले भनिन्, ‘यत्रो वर्ष योगदान दिएपछि जिउले पनि अब भयो भन्ने बेला आयो । तर भविष्य के भन्ने प्रश्न छ ।’

उनले थपिन्, ‘हामी कहिलेसम्म खेल्न सकौंला ? हामी नहुँदा यहाँसम्म ल्याएको महिला क्रिकेट बच्दैन कि भन्ने डर लाग्छ ।’

रुबिना क्षेत्री ।

हाल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ललितपुर मेयर्स वुमन्स च्याम्पियनसिप टी–२० प्रतियोगिता चलिरहेको छ । जहाँ प्रधानमन्त्री कप टी–२० राष्ट्रिय प्रतियोगिताको सेमिफाइनलमा पुगेका चार टोली र सेमिफाइनलमा पुग्न नसकेका चार टोलीबाट उत्कृष्ट खेलाडी छनोट गरेर बनाइएको ललितपुर मेयर्स ११ टोली गरी पाँच टोली सहभागी छन् ।

बिहीबारसम्म ९ खेलमा १८ इनिङ सकिएका छन् । जसमा ४ इनिङमा मात्रै १०० रन बनेको छ । त्रिवि मैदान नेपालमा ब्याटिङ गर्न सबैभन्दा उत्कृष्ट मैदान मानिन्छ । तर महिला टोलीले ७०/८० रन भन्दा बनाउन सकेका छैनन् । खेलाडीहरुमा थ्रो, ब्याटिङ, बलिङ, रन आउट जस्ता सामान्य ज्ञान पनि पाइँदैन । उनीहरुको फिटनेसमा पनि समस्या देखिएको छ ।

रुबिनाले चोटका कारण ललितपुर मेयर्स कप खेलेकी छैनन् । ९ खेल सकिँदा सीता र सम्झना खड्काले मात्रै १/१ अर्धशतक बनाएका छन् ।
राष्ट्रिय टिमको खेलमा पनि सीता, रुबिना र इन्दु नचलेको खेल नेपालले हार्ने लगभग पक्का जस्तै हुन्छ ।

सन् २०१९ मा महिला टोलीले टी–२० आई मान्यता पाएपछिको अन्तर्राष्ट्रिय आँकडाले नेपाली महिला क्रिकेट टोलीको अवस्था प्रष्ट्याउँछ । महिला टी–२० आईमा नेपालबाट सर्वाधिक रन बनाउनेमा सीता ८६३ रनसहित पहिलो, रुविना ७४१ रनका साथ दोस्रो र इन्दु ६३९ रनका साथ तेस्रो स्थामा छन् ।

चौथो स्थानमा रहेकी काजल श्रेष्ठले ४५ खेलमा २९८ रन बनाएकी छिन् । ज्योति पाण्डेले १७ खेलमा २१० र विन्दु रावलले २९ खेलमा २०२ रन बनाएकी छिन् । अन्यले २०० रनको आंकडा छुन सकेका छैनन् । कविता कुँवरले १९९ रन बनाएकी छन् ।

सर्वाधिक विकेट लिनेमा सीता ५० र रुविना ४२ का साथ पहिलो र दोस्रो स्थानमा छिन् । कविता कुँवर ४१ र इन्दु बर्मा २६ विकेटका साथ तेस्रो र चौथो स्थानमा छन् ।

यी तीन खेलाडीपछि महिला क्रिकेटमा कविता कुँवर अर्की आशलाग्दी अलराउण्डर हुन् । रुबिना युवा खेलाडी माथि आउन नसक्नुमा खेलप्रतिको समर्पणको कमी भएको बताउँछिन् ।

काठमाडौं बाहिर राम्रा क्रिकेट मैदान छैनन् । काठमाडौंमा पनि महिला टिमले राम्रो मैदानमा अभ्यास गर्न नपाउने रुबिना बताउँछिन् । ‘महिला खेलाडीले धेरै सिक्ने मैदान सिमेन्ट विकेट हुन्छ । कतिपय ठाउँमा ग्राउण्ड पनि हुँदैन । न हामीले प्रपर विकेटमा सिक्न पाउँछौं । न टर्फ विकेटमा’, रुबिनाले भनिन् ।

ग्रास रुटमा स्तरीय प्रशिक्षकको अभाव अर्को मुख्य कारण हो । जिल्ला, प्रदेशमा र एकेडेमीमा भएका अधिकांश प्रशिक्षक दक्ष छैनन् । सुरुवाती दिनमै राम्रो प्रशिक्षक नपाउँदा खेलाडीको जग राम्रो बन्दैन ।

राष्ट्रिय टिमकी उपकप्तान रहेकी सीता रानामगर नयाँ आएका खेलाडीमा कन्फिडेन्स नदेखिएको बताउँछिन् । ‘खेलाडीमा कन्फिडेन्स छैन, कोचको अन्डरमा अभ्यास गर्ने निकै कम खेलाडी छन् । एक्लै अभ्यास गर्ने बढी छन्’, सीताले भनिन् ।

घरेलु क्रिकेटमा महिलाका लागि प्रधानमन्त्री कप र ललितपुर मेयर्स च्याम्पियनसिप गरी जम्मा दुई ठूला प्रतियोगिता छन् ।

प्रधानमन्त्री कपमा एक टोलीले ७ र ललितपुरमा ४ खेल खेल्न पाउँछन् । दुबै प्रतियोगिता फाइनलमा पुग्न सक्ने टोलीका खेलाडीले वर्षमा बढीमा १३ खेल खेल्न पाउँछन् ।

यीनै दुई प्रतियोगितामा गरेको प्रदर्शनबाट राष्ट्रिय टोलीमा पर्ने खेलाडीलाई नेपालको जर्सीमा उत्कृष्ट प्रदर्शनको दबाब हुन्छ । वर्षमा १२/१३ खेल खेलाडीको क्षमतामा निखारपन ल्याउन पर्याप्त हुँदैन ।

एउटा प्रतियोगिता भएपछि अर्को कहिले हुन्छ ठेगान हुँदैन । पर्याप्त अनुभव हासिल गर्न नसकेका कारण खेल जिताउने खेलाडी आउन नसकेको सीता बताउँछिन् ।

सीता रानामगर ।

‘हामीपछि जुनियर खेलाडी आएनन् भने महिला क्रिकेट टोली कहाँ जान्छ होला ? रुविना, म र इन्दुमा निर्भर देख्दा एकदमै खल्लो लाग्छ’, सीताले भनिन् ।

महिला टोलीका मुख्य प्रशिक्षक मनोज कटवालले कविता कुँवर, पूजा महतो, कृतिका मरासिनी लगायतका केही युवा खेलाडी आशा लाग्दो देखिएको बताए ।

रुबिना र सीताबाहेक अरु छैनन् भन्नु पहिला पुरुष टिममा पारस खड्का विना खेल्न सकिँदैन भन्नुजस्तै भएको उनको भनाइ छ । ‘युवा खेलाडीलाई समय दिनुपर्छ । युवाबाट धेरै आशा गरेका छौं’, कटवालले भने ।

छनोटकर्ता युनिल श्रेष्ठ आफूले युवा खेलाडीलाई प्राथमिकतामा राखे पनि उनीहरुको प्रदर्शन नै राम्रो नभएको बताए ।

‘हामी पनि नयाँ खेलाडी हेर्न चाहन्छौं । यो भन्दा अघि युवा खेलाडीलाई मौका दिएका थियौं । युवा खेलाडीले प्रदर्शन नै गर्दैनन् भने कसरी मौका दिने ?’ उनले भने ।

युवा खेलाडीमा मिहिनेत गर्ने बानी नदेखिएको श्रेष्ठले बताए । ‘पहिला खेलाडी जस्तो बन्न १० वर्ष लाग्छ । अहिलेका खेलाडीमा त्यो गुण छैन । खेल नभएको समयमा घरमा गएर बस्छन्, यसरी महिला क्रिकेट कहिल्यै विकास हुँदैन’, उनले भने ।

खेलाडीले घरमै पनि दिनमा ४–५ घण्टा आफैं अभ्यास गर्नुपर्ने श्रेष्ठ बताउँछन् । ‘फिल्डिङ, ब्याटिङ र बलिङ अनि टी–२० क्रिकेट कसरी खेल्ने महिला खेलाडीमा त्यो विकास गर्नैपर्छ’, उनी भन्छन् ।

महिला टोलीले आउँदो जुलाइमा श्रीलंकामा टी–२० एसिया कप खेल्दैछ । नेपालको समूहमा भारत, पाकिस्तान र युएई छन् । नेपाल क्रिकेट संघ (क्यान) का कोषाध्यक्ष पदमबहादुर खड्काका अनुसार महिला टोलीले आगामी जुनमा घरेलु मैदानमा भारतको एक टोलीसँग अभ्यास खेल्नेछ । त्यसपछि प्रशिक्षणका लागि विदेश जाने सम्भावना छ ।

नेपालको पुरुष टोलीले आगामी १० वर्षमा टेस्ट मान्यता पाउने लक्ष्य राखेको छ । तर महिला टोलीले विश्वकप खेल्ने त टाढाको कुरा एसोसिएटमै लगातार खराब प्रदर्शन गरिरहेको छ ।

क्रिकेट नेपाली महिला क्रिकेट रुबिना क्षेत्री सीता राना मगर
लेखक
भुपेन्द्र जि.सी.
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय