+

प्राकृतिक उपचार : खुट्टामा हिलोले खाए के गर्न सकिन्छ ?

२०८१ जेठ  ४ गते १३:५२ २०८१ जेठ ४ गते १३:५२
प्राकृतिक उपचार : खुट्टामा हिलोले खाए के गर्न सकिन्छ ?

खुट्टामा हिलोले खाने समस्या वर्षायाममा देखिने समस्या हो । हातखुट्टा हिलोले खाएमा हात र खुट्टाको काप-कापमा चिलाउने, छालाको कत्ला निस्किने, छाला रातो हुने, पानीको फोका उठ्ने सेतो पाप्रा जम्ने, औंलाहरू सुन्निने र दुख्ने गर्छ ।

यो समस्या फंगल संक्रमण क्यान्डिडा र डर्माटोफाइट्स कीटाणुको संक्रमणबाट हुन्छ । खाली खुट्टा बसियो वा धेरै पानीमा काम गरियो भने फङ्गसको सम्पर्कको कारण खुट्टाको छालामा यो संक्रमण सुरु हुन्छ । यो संक्रामक समस्या भएकाले एक व्यक्तिबाट अर्कोमा फैलिन सक्छ ।

पानीमा धेरैबेर काम गर्नुपर्ने व्यक्ति, किसान, माछा-मासु व्यवसायीमा  हिलोले खाने समस्या धेरै देखिन्छ । साथै रोगप्रतिरोधात्मक क्षमता कमजोर भएका मानिसलाई यो संक्रमण हुने सम्भावना बढी हुन्छ । मधुमेह र एचआईभी जस्ता रोगप्रतिरोधात्मक क्षमता घटाउने रोगबाट पीडित व्यक्ति पनि हिलोले खाने रोगको उच्च जोखिममा हुन्छन् ।

खुट्टामा हिलोले खाँदा घरमै गर्न सकिने प्राकृतिक उपचार

हिलो पानीमा पसेर काम गर्नुपर्ने अवस्था आएमा हात, खुट्टा र औंलाको कापमा भ्यासलिन, तेल वा कुनै मोइस्चराइजर दल्नुपर्छ । यसले छालामा पर्ने असर घटाइदिन्छ । हिलो पानीको कामले जतिसुकै थाके पनि हातखुट्टा धोएर सुक्खा बनाई क्रिम वा जेल लगाएमा पनि हिलोले खाने रोगबाट बच्न सकिन्छ ।

हिलोले खाएको ठाउँमा नरिवलको तेल वा तोरीको तेलमा बेसार मिसाएर त्यसको पेस्ट बनाएर लगायो भने समस्या कम हुन्छ । तेलमा ट्यानिक एसिड हुन्छ, जसले ब्याक्टेरिया र कीटाणुहरू हटाउन सहयोग गर्छ, यसले पसिना आउने खुट्टालाई सुक्खा बनाउन मद्दत गर्छ, संक्रमणको वृद्धि र फैलिन रोक्छ ।

एन्टिफंगल र एन्टिइन्फ्लेमेटरी गुण भएको नुनले पनि हिलोले खाएको समस्यालाई कम गर्छ । घाउ निको पार्न र खुट्टाको दुर्गन्धबाट जोगाउन पनि यो उपयोगी हुन्छ । मनतातो पानीमा नुन मिसाएर १० मिनेट खुट्टा भिजाउँदा संक्रमण कम हुन्छ ।

हिलोले खाएको ठाउँमा दही लगाएर पनि संक्रमण फैलिनबाट बच्न सकिन्छ । ताजा दहीमा पाइने राम्रो ब्याक्टेरियाले फङ्गसलाई मार्छ । साथै खुट्टा चिलाउने समस्यालाई पनि कम गर्छ । यस समस्याबाट छुट्कारा पाउन ताजा दहीलाई सिधै प्रभावित क्षेत्रमा लगाउन सकिन्छ ।

बेकिङ सोडामा प्राकृतिक एन्टिफंगल एजेन्ट हुन्छ, जसले  छाला र नङहरूको संक्रमणलाई कम गर्छ । यसले औंलाको बीचमा चिलाउने समस्याबाट पनि राहत दिन्छ । बेकिङ सोडा र पानीको पेस्ट बनाएर संक्रमित छालामा लगाउँदा संक्रमणबाट छुट्कारा पाउन सकिन्छ ।

धेरै पानीको प्रयोगलाई घटाएर कम गर्नुका साथै हात र खुट्टा सुक्खा राख्न सकिएमा इन्टरट्राइगो (हिलोले खाएको रोग) हुन पाउँदैन । अत्याधिक पानीको प्रयोग गर्नुपरे हातमा पन्जा लगाउन उपयुक्त हुन्छ र धेरै हदसम्म रोग बल्झिन पाउँदैन । खुट्टामा पानी परिसकेपछि सफा कपडाले खुट्टा सुक्खा बनाउने गर्नुपर्छ ।

छालारोग डा. विजेन्द्र शाह हिलोले खाने समस्या
डा. विजेन्द्र शाह
लेखक
डा. विजेन्द्र शाह
वरिष्ठ सर्जन

आयुर्वेद चिकित्सा परिषद् दर्ता नम्बर : ४४८/०६ बीएमएस, एमएस, एफएआरसी (भारत) हाल आयुर्वेद शिक्षण अस्पताल, कीर्तिपुरमा कार्यरत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय