+
+

नेपालमा भेटियो नयाँ प्रजातिको चरा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १२:५८

४ जेठ, काठमाडौं । नेपालको अन्नपूर्ण संरक्षण क्षेत्रमा नयाँ प्रजातिको चरा फेला परेको छ । नयाँ प्रजातिको चरा ‘फुस्रो सारौं’ नाममा अभिलेख भएको नेपाल पन्छीविद संघले जनाएको छ ।

यससँगै नेपालमा जम्मा चरा प्रजातिको संख्या ८९५ पुगेको छ ।

नेपालका चराविद शंकर तिवारीले अन्नपूर्ण संरक्षण क्षेत्रको उपल्लो मुस्ताङस्थित लोमान्थाङको ३ हजार ८४० मिटर उचाइ क्षेत्रमा सो चरा फेला पारेका हुन् । विदेशी पाहुनाको साथमा पदयात्रा तथा चरा अवलोकन गर्ने क्रममा तिवारीले गत वैशाख २५ गते बिहान ८ बजेर ४९ मिनेटमा सो चरा देखेका थिए । तिवारीले सो चराको फोटोलाई पुष्ट्याइँका लागि नेपाल बर्ड रेकर्ड कमिटीमा पठाएका थिए ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय पन्छीविदहरुको समेत सल्लाह सुझाव र अध्ययन पश्चात उक्त चरा नेपालका लागि नयाँ भएको निष्कर्षमा पुगेको नेपाल पन्छीविद संघले जनाएको छ ।

संघका अनुसार उक्त चराको नाम White-cheeked Starling  र वैज्ञानिक नाम Spodiopsar cineraceus हो । यो चरा उत्तर र पूर्वी एशियाका चीन, जापान, मंगोलिया, उत्तर कोरिया, रुस, दक्षिण कोरिया, हङकङ, ताइवान र भियतनाममा आवासीय रुपमा पाइन्छ । लाओस, म्यानमार, फिलिपिन्स र थाइल्याण्डमा फिरन्ते चराको रुपमा रेकर्ड भएको छ ।

यो चरा नेपालको छिमेकी देश चीनका विभिन्न ठाउँमा पाइने र त्यहाँ प्रजनन् पनि गर्ने नेपाल बर्ड रेकर्ड कमिटीका अध्यक्ष डा. तुली सुवेदी बताउँछन् । जाडोयाममा यी चरा नियमित रुपमा दक्षिणतिर बसाइँ सर्दछन् र दक्षिणपूर्वी चीन र ताइवानमा जाडो बिताउँछन् ।

लोमान्थाङमा भेटिएको यो चरा प्रजनन् क्षेत्रमा फर्किने बाटोमा फिरन्ते रुपमा आइपुगेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?