+
+

भक्तराज आचार्यको जीवनमा आधारित फिल्म ‘आचार्य’ असार ७ मा पुनः रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते १३:२१

काठमाडौं । भजन शिरोमणि भक्तराज आचार्यको जीवनकथामा आधारित फिल्म ‘आचार्य’ पुनः रिलिज हुने भएको छ । असार ७ गते यो फिल्म नेपाल र अन्तर्राष्ट्रिय बजारमा रि–रिलिज हुन लागेको हो ।

नेपालमा ब्यांकटेस इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिजले प्रदर्शन गर्न लागेका हुन् । वरिष्ठ गायक तथा संगीतकार आचार्यको निधनको झण्डै चार महिनापछि फिल्मलाई नयाँ शैली र संरचनामा हलमा ल्याउन लागिएको आचार्यका छोरा तथा गायक सत्यराज आचार्यले अनलाइनखबरलाई बताए । सत्यराज उक्त फिल्मका निर्माता तथा अभिनेता समेत हुन् ।

यसअघि यो फिल्म सन् २०११ मा रिलिज भएको थियो । १३ वर्षपछि फिल्मलाई पुनः दर्शकमाझ ल्याउन लागिएको हो । ‘गायक आचार्यप्रति ट्रिब्युटको रुपमा यो फिल्म पुनः हलमा ल्याउन लागेका हौं,’ वितरक मनोज राठीले भने, ‘सो दिन नेपाल र विदेशमा एकसाथ आउनेछ ।’

निर्माता तथा अभिनेता आचार्यले पनि नयाँ पोस्टर र ट्रेलरसहित फिल्म आउन लागेको बताए । ‘सुरुमा फिल्म आउँदा माहोल थिएन । मुख्य कुरा मान्छेले हेर्न पाएनन् । सिक्किममा पनि भुइँचालो गयो । सबैले कहिले हेर्न पाइन्छ भनेर सोधिरहनुभएको थियो,’ सत्यराजले भने ।

उनले त्यतिबेला र यतिबेला फिल्मलाई हेर्ने, बुझ्ने क्षमता र दृष्टिकोणमा परिवर्तन आएकाले पनि पुनः रिलिजका लागि आफूहरु लागेको बताए । ‘अहिले फिल्मको माहोल र दृष्टिकोण बदलिएको छ । यो प्यारालल फिल्मको टाइपको पनि भयो,’ उनले भने ।

अर्को साता ल्याउने नयाँ ट्रेलरले माहोल बनाउने सत्यराजले बताए । आफ्नो बुवाको यो बायोपिक फिल्ममा सत्यराजले बुवाकै रोलमा अभिनय गरेका छन् । सुनिल पोखरेल, अरुणा कार्की, दयाहाङ राई र विपिन कार्कीको पनि फिल्ममा अभिनय छ ।

सिक्किमका प्रशान्त रसाइली निर्देशित यो फिल्मले त्यतिबेला राम्रो समीक्षा प्राप्त गरेको थियो । यो फिल्मको रनटाइम २ घण्टा १५ मिनेट छ ।

‘नयाँ फिल्म रिलिज भएजस्तै शैलीमा फिल्म आउनेछ । पहिलेको ट्रेलरमा नयाँ नभएका नयाँ दृश्य हालेर ट्रेलर बनाउने काम भइरहेको छ,’ उनले भने ।

सत्यराजले हालै ‘मनसरा’ फिल्ममा चिकित्सकको केमियो भूमिका गरेका थिए । अन्य फिल्ममा पनि काम गर्नेबारे छलफल भइरहेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?