+
+

लेनडाँडा ‘ब्रेक थ्रु’ सँगै पाइपलाइनमा छन् द्रुतमार्गका सुरुङ 

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ४ गते २०:२४

४ जेठ, काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्गका सुरुङ धमाधम ‘ब्रेक थ्रु’ हुन थालेका छन् ।

शुक्रबार मकवानपुर बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये काठमाडौंबाट निजगढतर्फ जाने १ हजार ४ सय ३० मिटर लम्बाइको सुरुङमार्ग ब्रेक थ्रु भएको हो ।

नेपाली सेनाले गत फागुनमा सार्वजनिक गरेको विवरण अनुसार लेनडाँडा सुरुङ ब्रेक थ्रु वैशाखमा सक्ने योजना थियो । निर्धारित लक्ष्यअनुसार नै यो सुरुङ जेठ पहिलो साता ब्रेक थ्रु गरिएको छ ।

नेपाली सेनाले सार्वजनिक गरेको विवरण अनुसार धेद्रे सुरुङ जेठ र महादेवटार सुरुङ आगामी असोजभित्र ब्रेक थ्रु गरिसक्ने लक्ष्य छ । कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्गमध्ये सुरुङको मात्र हिस्सा १०.५५ किलोमिटर छ ।

यस आयोजनामा कुल ६ स्थानमा सुरुङ रहने छ । लामो सुरुङका तीन प्याकेजमध्ये यसअघि ४.३२ किलोमिटर सुरुङ निर्माण भइसकेको छ । यस आयोजनामा ८९ पुल बन्ने छ । जसले १२.८८ किलोमिटर ओगट्छ । धेद्रे–लेनडाँडा सुरुङमार्ग निर्माण ठेक्का चीनको पोली च्याङ्दा इन्जिनियरिङ कम्पनी लिमिटेडले पाएको थियो ।

कुल ७०.९७७ किलोमिटर लामो द्रुतमार्ग निर्माणलाई सेनाले ११ खण्डमा विभाजन गरेको छ । जसमध्ये १ देखि ७ खण्ड र १० मा ठेक्का लागेर कामसमेत जारी छ । जसको लम्बाइ ४४.६२७ किलोमिटर हो ।

तर, मुआब्जा वितरण र जग्गा अधिग्रहण नै नभएको खोकना क्षेत्र र अदालतमा मुद्दा परेर रोकिएका ठेक्का प्रक्रियाका कामले भने सेनालाई अझै पनि टाउको दुखाइरहेको छ । यस आयोजनाको ४.६ किलोमिटर भाग काठमाडौंमा पर्छ ।

आयोजनाको प्याकेज नम्बर ८ क, ९ क र ९ खको खरिद प्रक्रिया विवादमा रहेको सेनाले जनाएको छ । प्याकेज ११ मा खोकना क्षेत्रको प्रस्थान बिन्दुमै समस्या छ । यहाँ सवारी आवागमन व्यवस्थापन र जग्गा अधिग्रहण सम्बन्धी विषय नै विवादमा छ ।

सरकारले चार वर्षमा सक्ने गरी २१ वैशाख २०७४ मा सेनाको जिम्मा लगाएको थियो । त्यसको एक महिनापछि १४ जेठमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले शिलान्यास गरेका थिए ।

प्रारम्भिक लक्ष्यअनुसार काम भएको भए यो आयोजना भदौ २०७८ मै सकिनुपर्थ्यो । कोभिड-१९ महामारीसहित कारण देखाउँदै आयोजनाको म्याद २०८१ सम्म पुर्‍याइयो । थप अवधिमा पनि काम नसकिएपछि आयोजनाको म्याद चैत २०८३ पुर्‍याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?