+
+

प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ६ गते ९:०१

६ जेठ, काठमाडौं । संघीय संसदअन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ ।

प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्नेछ । बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने, प्रतिनिधि सभा नियमावली–२०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ ।

संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने, राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची पनि रहेको छ ।

आजकै बैठकमा प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गर्ने, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयकलाई फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

राष्ट्रिय सभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्री तथा राज्यमन्त्रीको नियुक्ति तथा कार्यभारसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समितिमा सदस्यको नाम मनोनयन गर्ने कार्यसूची छ ।

यसका साथै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पेस गर्ने, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मिडिया काउन्सिल विधेयक पेस गर्ने, विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले सुरक्षित कारोबार (पहिलो संशोधन), सम्बन्धीको प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?