+
+
सिम्रिक एयर दुर्घटना जाँच प्रतिवेदन :

‘हाइड्रोपावरको ड्रिलिङ मेसिनमा ठोक्किँदा भएको थियो हेलिकप्टर दुर्घटना’

हेलिकप्टरमा सवार यात्रुलाई हेलिकप्टर भुइँमा नझारी हावामै अडाएर रोक्ने क्रम (होभर) मा नियन्त्रण गुमेको र निर्माण साइटमा रहेको ड्रिलिङ मेसिनमा ठोक्किन पुगेको जाँच आयोगको प्रतिवेदनले देखाएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ जेठ ६ गते २१:११
दुर्घटनाग्रस्त हेलिकप्टर र ठोक्किएको ड्रिलिङ मेसिन ।

६ जेठ, काठमाडौं । २२ वैशाख २०८० का दिन संखुवासभामा भएको हेलिकप्टर दुर्घटना निर्माण साइटमा रहेको ‘ड्रिलिङ मेसिन’ मा ठोक्किँदा भएको पाइएको छ ।

जहाज दुर्घटना जाँच आयोगको अन्तिम प्रतिवेदनले यस्तो देखाएको हो । सिम्रिक एयरको ‘९एन–एजेजेड’ दर्ता नम्बरको हेलिकप्टर दुर्घटनामा परेको थियो ।

अरुण तेस्रो जलविद्युत् आयोजनाको सामग्री संखुवासभा छुम्रुङमा झारेर ४ यात्रुसहित सोही जिल्लाको गोलाका लागि उडेको हेलिकप्टर भोटखोला गाउँपालिका–४ सिप्रुङ भन्ने स्थानमा स्थानीय समय अनुसार दिउँसो १ बजे दुर्घटनामा परेको थियो । हेलिकप्टरमा चालकसहित ५ जना थिए । तीमध्ये एक जनाको मृत्यु भएको थियो ।

दुर्घटना जाँच गर्न सरकारले गठन गरेको समितिले तयार पारेको अन्तिम प्रतिवेदनमा दुर्घटनाको सबैभन्दा सम्भावित कारणमा चालकले समग्र गुरुत्वाकर्षणमा अचानक आएको परिवर्तन नियन्त्रण प्रयासका लागि हेलिकप्टरको बायाँ चक्रीय नियन्त्रणमा चाहिने भन्दा बढी दबाब (ओभर करेक्सन इनपुट) दिँदा हेलिकप्टर बायाँतर्फ ढल्किएको र जमिनमा रहेको ड्रिलिङ मेसिनमा ठोक्किन पुगेको उल्लेख गरिएको छ ।

हेलिकप्टरमा सवार यात्रुलाई हेलिकप्टर भुइँमा नझारी हावामै अडाएर रोक्ने क्रम (होभर) मा नियन्त्रण गुमेको र निर्माण साइटमा रहेको ड्रिलिङ मेसिनमा ठोक्किन पुगेको जाँच आयोगको प्रतिवेदनले देखाएको छ ।

सन् २०१२ मा उत्पादन भएको उक्त हेलिकप्टरको नियमित जाँच तथा मर्मत भएका कारण एयरक्राफ्टमा भने कुनै समस्या नभएको देखिएको छ । त्यसदिन दुर्घटना क्षेत्रको मौसम समेत सफा रहेको प्रतिवेदनमा उल्लेख छ । भिजिबिलिटीमा समेत कुनै समस्या देखिएको थिएन ।

तालिम प्राप्त जनशक्ति खटाउँदा बढ्दो जोखिम

हेलिकप्टरबाट निर्माण सामग्री ‘सिलिङ’ गरी ओसार–पसार गर्दा त्यसको अपरेसनका लागि दक्ष र तालिमप्राप्त जनशक्तिले काम गर्नुपर्छ । तर, यो अपरेसनमा खटिएका स्थानीय कामदार त्यस्तो कामका लागि तालिम प्राप्त नभएको समेत पाइएको छ ।

यो उडानमा समेत ‘पाइलट इन कमान्ड’ (क्याप्टेन) बाट यस अपरेसनलाई सहज हुने गरी पूर्वब्रिफिङ नभएको प्रतिवेदनमा उल्लेख छ । हेलिकप्टरलाई जमिनको नजिकै हावामै तैराउने बारे ‘स्ट्यान्र्डर्ड अपरेटिङ प्रोसिडिओर’ (एसओपी) को अभाव देखिएको भन्दै यसमा सुधार गर्न प्रतिवेदनमा सुझाइएको छ ।

के दिइयो सुझाव ?

जाँच प्रतिवेदनले सबै हेलिकप्टर सञ्चालकलाई एसओपी बनाएर लागु गर्न सुझाव दिएको छ । सामान बोक्ने सिलिङ अपरेसनमा पाइलटको साथमा तालिम प्राप्त जनशक्तिमात्र हुनुपर्ने नियम बनाउन समेत आयोगले सुझाव दिएको छ ।

‘पार्सियल होभर’ सञ्चालन सम्बन्धी पाइलट ट्रेनिङ, ट्रेनिङ सिलेबस र कार्यविधि अध्ययन गरी सुधार गर्नसमेत आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सुझाव दिएको छ ।

आयोगले सबै पाइलटलाई सिमुलेटर ट्रेनिङ अनिवार्य गराउन प्राधिकरणलाई सिफारिस गरेको छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?