+
+

गठबन्धन फेरबदल र जसपा विभाजनले संकटमा समाजवादी मोर्चा

दिपेश शाही दिपेश शाही
२०८१ जेठ ६ गते १९:३२

६ जेठ, काठमाडौं । वामपन्थी पार्टीहरूले २०८० असारमा निर्माण गरेको समाजवादी मोर्चा संकटमा पर्दै गएको छ ।

नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) नेपाल, एकीकृत समाजवादी र संसद बाहिर रहेको नेपाल कम्युनिस्ट पार्टीले सडक, सदन र सरकार तीनै क्षेत्रबाट आफ्ना मुद्दा स्थापित र कार्यान्वयन गर्ने भन्दै समाजवादी मोर्चा घोषणा गरेका थिए ।

गत फागुनमा एमाले–माओवादीसहितको सत्ता समीकरण बनेपछि र मोर्चाभित्रकै दल जसपा नेपाल विभाजन भएसँगै यसको औचित्य सकिएको नेताहरूले बताउन थालेका छन् ।

मोर्चाको घोषणा गर्दा चार दलले संघीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक–आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवाद स्थापना प्रमुख उद्देश्य रहेको बताएका थिए ।

यी उद्देश्य प्राप्तिका लागि मोर्चाले १५ बुँदे वैचारिक–राजनीतिक प्रतिबद्धता समेत सार्वजनिक गरेका थिए । जसमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै समाजवादको नेपाली बाटो तय गर्नेलगायतका उद्देश्य समेटिएका थिए ।

नेताहरूले जे भने पनि मोर्चाको मूल उद्देश्य भने त्यतिबेला गठबन्धनमा रहेको ठूलो दल नेपाली कांग्रेससँग बार्गेनिङ क्षमता बढाउनुथियो । पुरानो गठबन्धनमा कांग्रेससँग संसदमा ८८ सिट थियो भने मोर्चामा आवद्ध दलहरूसँगको सिट जोड्दा ५४ पुग्थ्यो ।

संसद बाहिर रहेको नेकपाले बेलाबेलामा सडकमा दबाबमूलक कार्यक्रम गरिरहन्थ्यो । मोर्चाका कारण प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा आफ्नो शक्ति बढेको ठानेका थिए ।

जसपा नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीको पछिल्लो केन्द्रीय कार्यकारिणी समितिको बैठकले निष्क्रिय अवस्थामा रहेको मोर्चा विस्तारै विघटन हुने निष्कर्ष निकालेको बताए ।

‘जुन उद्देश्य राखेर मोर्चा गठन गरिएको थियो क्रियाकलाप त्यसको ठीक विपरीत भइरहेको देखिए । हामीले बैठकमा छलफल गर्दा यसको यसै पनि औचित्य छैन, त्यसैमा सुस्ताउँदै गएकाले विघटनको बाटोमा जान्छ भन्ने निष्कर्षमा पुगेका छौं’, बस्नेतले भने ।

अशोक राईको नेतृत्वमा आफ्नो पार्टी विभाजन हुनुमा सत्तारुढ दलहरूकै भूमिका रहेको जसपा नेपालको बुझाइ छ ।
एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे समाजवादी मोर्चालाई वामपन्थी कम्युनिस्टबीचको एकता र सहकार्यका लागि भन्दा पनि सत्ता टिकाउने अस्त्र बनाएकाले यसको औचित्य सकिएको बताउँछन् ।

‘समाजवादी मोर्चाको उपादेयता सकियो’, उपाध्यक्ष पाण्डे भन्छन्, ‘किनभने, मोर्चामा रहेको दल जसपा नेपाललाई विभाजन गरेर दुईवटा बनाइसके । स्वयं प्रचण्डले सत्ता टिकाउनका लागि पार्टीहरू तोडफोड गरिन्छ भनिसकेका थिए । अर्कोतिर एमाले अध्यक्ष केपी शर्मा ओली मोर्चाको औचित्य छैन भनिरहेका छन् । त्यसो हुँदा आफ्नै गठबन्धनमा रहेको पार्टीलाई फुटाउने गरी बनेको मोर्चा केही काम लाग्दैन ।’

सुरूदेखि नै असन्तुष्ट देखिएको एकीकृत समाजवादी अहिले आएर थप चिढिएको छ । बृहत वाम एकताको पक्षमा वकालत गरिरहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले समाजवादी मोर्चा घोषणा भएकै दिन यो सत्ता टिकाउने साधन हुनसक्ने आशंका व्यक्त गरेका थिए ।

गत २१ फागुनदेखि माओवादी केन्द्रले कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमालेसँग मिलेर सरकार बनाएदेखि नै खनालको आशंकामाथि बल पुग्यो । साथै, कांग्रेससँग गठबन्धन बनाउँदा बनाएको मोर्चाको उपादेयतामाथि एमालेसँग गठबन्धन बनाएसँगै प्रश्न उठ्न थालेको थियो ।

बढ्दो निष्क्रियता

नेकपाका नेता अनिल शर्मा देशको ठूलो कम्युनिस्ट पार्टी एमालेसँग सत्ता गठबन्धन बनाइरहँदा मोर्चामा ऊ नरहने कुरा उचित नदेखिने र जसपा नेपाल विभाजन भएपछि थप संकट देखा परेको स्वीकार गर्छन् ।

‘पहिलो कुरा त सत्ता राजनीतिको कारण मोर्चाको काम हुन सकिरहेको अवस्था छैन । उपेन्द्र यादवजीको पार्टी विभाजन भएपछि उहाँहरू पनि चिढिनुभएको छ । माधव नेपालहरू पनि सन्तुष्ट देखिनुहुन्न’, शर्मा भन्छन् ।

मोर्चाले ३ चैतमा काठमाडौंमा ‘नेपाली विशेषताको समाजवाद’ नामक कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो । सत्ता गठबन्धनमा आएको फेरबदलसँगै स्थगित भएको कार्यक्रम २० चैतमा सम्पन्न भयो । तर त्यसयता भने मोर्चामा छलफल समेत हुन सकेको छैन ।

मोर्चा गठन भएयता दुई कार्यकाल निरन्तर एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेतृत्व गरेका थिए । आलोपालो प्रणाली बनाइएको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सरकारको नेतृत्वमा भएकाले नेपालले नै दोहोरिएर नेतृत्व गरेका थिए । नेपालको कार्यकालमा मोर्चाले सातवटै प्रदेशमा सन्देश सभा गरेको थियो ।

गत ५ फागुनबाट नेकपाका महासचिव विप्लवले यसको नेतृत्व पाएका छन् । उनी नेतृत्वमा आएपछिको पहिलो कार्यक्रम नै ‘नेपाली विशेषताको समाजवाद’ शीर्षकमा अन्तर्क्रिया गर्ने र सोही नामको प्रकाशन पनि सुरु गर्ने भन्ने थियो । कार्यक्रम सम्पन्न गरे पनि बाँकी काम अलपत्र अवस्थामा छन् । आउने असारमा विप्लवको चार महिने नेतृत्व गर्ने अवधि सकिँदै छ । तर उनको अवधि सकिनु अगावै मोर्चा भने पूर्णतया निष्क्रियजस्तै बन्न पुगेको छ ।

मोर्चाले आफ्नो घोषणापत्रमा अन्य दलहरूसँग सहकार्यको प्रयास गर्ने उल्लेख गरेको थियो । तर गठन भएको एक वर्ष पुग्नै लाग्दा कुनै दल मोर्चामा समावेश हुन सकेका छैनन् । बरु मोर्चामै रहेका दलहरू असन्तुष्ट बन्दै औचित्यमाथि प्रश्न गर्न थालेका छन् ।

यद्यपि गत फागुनमा जिम्मेवारी पाएलगत्तै विप्लवले एमाले र नेकपा मसालका नेताहरुसँग छलफल गरेका नेता शर्माले बताए । एमालेबाट कुनै प्रतिक्रिया नआएको र मसालले सहमति जनाए पनि घोषणा नभएको उनको भनाइ छ ।

मोर्चाको अर्को महत्वपूर्ण उद्देश्य थियो, कम्युनिस्ट वा वाम एकता गर्ने । तर परिणाम त्यसको ठीक उल्टो मात्रै आएको छैन, एकीकृत समाजवादीले आफ्नो दस्तावेजनमा तत्कालका लागि सम्भन नै नरहेको निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनमा लेखेका छन्, ‘…नेकपा माओवादी केन्द्र र जसपालगायतका पार्टीहरूसँग वार्ता पनि चलाएका थियौँ । यस दौरान व्यवहारबाट के स्पष्ट भयो भने अहिले तत्काल कम्युनिस्ट पार्टीहरूबीचको एकता वा वाम एकता सम्भव छैन ।’

माओवादी केन्द्रका कोषाध्यक्ष श्रीराम ढकाल अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सबैको ध्यान केन्द्रित भएकाले समाजवादी मोर्चाको गतिविधि सुस्ताए पनि त्यसपछि पुनः सक्रिय हुने बताउँछन् । ‘एउटा लक्ष्यसहित बनेको मोर्चा हो । यत्तिकै औचित्य नै नरहने र विघटन भइहाल्ने भन्ने हुँदैन’, ढकालको भनाइ छ ।

लेखकको बारेमा
दिपेश शाही

शाही अनलाइनखबरका लागि कूटनीति, राष्ट्रिय राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?