+
+
असन्तुलित वैदेशिक व्यापार :

मासिक १ खर्ब ३० अर्ब आयात हुँदा १२ अर्ब मात्र निर्यात 

आयात र निर्यात दुवैमा कमी आएको चालु आवको १० महिनासम्म आइपुग्दा वैदेशिक व्यापारमा निर्यातको हिस्सा १.१४ प्रतिशतले खस्किएको छ ।

अच्युत पुरी अच्युत पुरी
२०८१ जेठ ७ गते २०:०१

७ वैशाख, काठमाडौं । वैदेशिक व्यापारअन्तर्गत आयात र निर्यातबीचको खाडल झनै बढेको छ । आयात र निर्यात दुवैमा कमी आएको चालु आर्थिक वर्ष (आव) २०८०/८१ को १० महिना (साउन–वैशाख) सम्म आइपुग्दा वैदेशिक व्यापारमा निर्यातको हिस्सा १.१४ प्रतिशतले खस्किएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।

वैशाखसम्म १४ खर्ब २९ अर्ब ५३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । जसमा आयातको हिस्सा ९१.१७ प्रतिशत र निर्यातको हिस्सा ८.८३ प्रतिशत देखिन्छ । १० महिनाको आंकडा अनुसार आयातको हिस्सा गत वर्षको तुलनामा ०.११ प्रतिशतले बढ्दा निर्यातको हिस्सा भने १.१४ प्रतिशतले खुम्चिएको हो ।

आंकडा अनुसार वैशाखसम्म मासिक औसत १ खर्ब ३० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । निर्यात भने मासिक १२ अर्ब रुपैयाँमा सीमित छ । वैशाखसम्म नेपालले १३ खर्ब ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो गर्त वर्ष यसै अवधिको तुलनामा २.३९ प्रतिशतले कम हो । सो वर्ष आयात १० महिनामा १३ खर्ब ३५ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । यस अवधिमा निर्यात भने १ खर्ब २६ अर्ब १७ करोड रुपैयाँ बराबरको भएको छ । यस अनुसार मासिक १२ अर्ब रुपैयाँ मात्र निर्यात भइरहेको देखिन्छ ।

नेपालले लामो समयदेखि निर्यात बजार बढाउन सकेको छैन । तर, आयात भने निरन्तर वृद्धि भइरहेकोमा चालु आवमा आयात खुम्चिएको छ । विज्ञहरूका अनुसार आन्तरिक अर्थतन्त्रमा आएको संकुचनले लगानी आकर्षित नहुनु र पूर्वाधार निर्माणले अपेक्षित गति लिन नसक्दा वस्तु आयात समेत बढ्न सकेको छैन ।

वैशाख २०८१ सम्म वैदेशिक व्यापार

  • कुल वैदेशिक व्यापार : १४ खर्ब २९ अर्ब
  • आयात : १३ खर्ब ३ अर्ब
  • निर्यात : १ खर्ब २६ अर्ब
  • व्यापार घाटा : ११ खर्ब ७७ अर्ब

व्यापार घाटा सामान्य कमी

चालु आवको १० महिनाको अवधिमा व्यापार घाटामा समेत सामान्य कमी आएको देखिन्छ । आयात र निर्यात दुवै खुम्चिँदा व्यापार घाटा कम भएको हो ।

तथ्यांक अनुसार १० महिनामा ११ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा भएको छ । यो अघिल्लो आवको यसै अवधिको तुलनामा २.२६ प्रतिशत कम हो । अघिल्लो वर्ष वैशाखसम्म व्यापार घाटा १२ खर्ब ४ अर्ब रुपैयाँ भएको देखिएको थियो ।

पेट्रोलियम पदार्थ आयातमा बाहिरियो पौने ३ खर्ब

१० महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयातमा मात्र नेपालले पौने ३ खर्ब रुपैयाँ खर्च गरेको छ । यसअवधिमा २ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । यस अनुसार नेपालको निर्यात व्यापारको दोब्बर भन्दा धेरै रकम पेट्रोलियम पदार्थ आयातमा खर्च गर्नु परेको छ ।

आइरन र स्टिलको आयात समेत १ खर्बमाथि पुगेको छ । यी सामानको आयातमा १ खर्ब ५ अर्ब रुपैयाँ खर्च भएको देखिन्छ । सवारी साधनको आयातमा ६७ अर्ब रुपैयाँ विदेशिएको छ ।

विद्युतीय सामग्री र उपकरणको आयातमा ८४ अर्ब ४१ करोड रुपैयाँ विदेशिएको विभागको तथ्यांकमा देखिएको छ । यस अवधिमा २४ अर्ब ७० करोड बराबरको तरकारीजन्य वस्तु आयात भएको छ ।

भारतसँग ९ खर्बमाथिको व्यापार

नेपालको वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । तथ्यांक अनुसार भारतबाट नेपालमा ८ खर्ब १५ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालबाट भारततर्फ भने ८६ अर्ब रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । भारतसँग व्यापार घाटा समेत उच्च छ । यो मुलुकसँग ७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा देखिन्छ ।

चीन नेपालको दोस्रो ठूलो व्यापार साझेदार मुलुक हो । यस मुलुकबाट नेपालमा २ खर्ब ४० अर्ब रुपैयाँको सामान भित्रँदा नेपालबाट भने २ अर्ब २७ करोड रुपैयाँको मात्र सामान बाहिरिएको छ । यो अवधिमा नेपालले १६८ भन्दा बढी मुलुकसँग व्यापार गरेको आंकडा छ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?