+
+

एसएसपी बढुवामा दुई ब्याच र गुप्तचरबाट आएकाहरुको प्रतिस्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते २०:१२

७ जेठ, काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) बढुवा सिफारिस भएसँगै खाली भएको एसएसपी पदमा पनि बढुवाको गृहकार्य भएको छ ।

बढुवा सिफारिस समितिले गत शुक्रबार एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारीलाई डीआईजी बढुवाका लागि सिफारिस गरेसँगै नेपाल प्रहरीमा अब चार एसएसपी दरबन्दी रिक्त हुने भएको छ । रिक्त चार एसएसपीको दरबन्दीमा बढुवाका लागि गृहकार्य सुरु गरिएको छ ।

गृह मन्त्रालयका सचिव अध्यक्ष रहने बढुवा सिफारिस समितिले डीआईजी बढुवा भएलगत्तै चार एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गर्ने तयारी गरेको छ । बढुवा समितिमा प्रहरी महानिरीक्षक र उनले तोकेको एक जना अतिरिक्त महानिरीक्षक सदस्य रहन्छन् ।

एसएसपी बढुवाका लागि चार ब्याचका एसपीहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । अहिलेको एसपी बढुवाको पहिलो नम्बरमा विमल बस्नेत छन् ।

२०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर नेपाल प्रहरीमा स्थानान्तरण भएका बस्नेत आफ्नो ब्याचका सबै प्रहरी अधिकृतहरु एसएसपी भइसक्दा पनि एसपी नै छन् ।

एसपी बस्नेत आर्थिक अनियमितताको आरोपमा निलम्बनमा समेत परेका अधिकृत हुन् । २०७७ मंसिरमा कर्णाली प्रदेशको ट्राफिक प्रहरी प्रमुख हुँदा मातहतका कार्यालयहरुबाट रकम असुलेको आरोपमा उनी निलम्बनमा परेका थिए । जसकारण उनी यसअघिको बढुवामा छुटेका थिए ।

२०५५ मा राष्ट्रिय अनुसन्धान विभागको इन्सपेक्टरमा भर्ना भएर प्रहरीमा स्थानान्तरण भएका अर्का एसपी श्यामकृष्ण अधिकारी पनि बढुवाको प्रतिस्पर्धामा छन् ।

२०७८ भदौमा बाँकेको एसपी रहेका बेला उनी विवादमा आएका थिए । नेपालगञ्जको मोजाङ मिनी क्यासिनोका एजेन्टससँग मदिरा र मोबाइल उपहार लिएको भन्दै उनी आलोचित बनेका थिए ।

तत्कालीन प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हप्काएपछि उनले मदिरा र मोबाइल फिर्ता गरेको चर्चा प्रहरीवृत्तमा थियो ।

राष्ट्रिय अनुसन्धानबाट आएका यी दुई अधिकृत बाहेक २०५६ मा इन्सपेक्टरमा भर्ना भएको टोली र २०५८ मा इन्सपेक्टरमा भर्ना भएको टोलीबीच एसएसपी बढुवा प्रतिस्पर्धा हुने देखिएको छ ।

एसएसपी बढुवाको दाबेदारमा एसपी हिराबहादुर पाण्डे पनि छन् । जिल्ला प्रहरी कार्यालय सिरहाको एसपी रहेको बेला २०७९ पुसमा मदिरा सेवन गरेर सिरहाका एक कांग्रेस नेतालाई आक्रमण गर्छु भनेपछि उनको जिम्मेवारी खोसिएको थियो ।

उनीहरुपछि एसएसएपी बढुवाका लागि नान्तिराज गुरुङ, रवीन्द्र रेग्मी, गोविन्द अधिकारी, कृष्ण प्रसाई, विनोद सिलवाल र भीमबहादुर दाहाल प्रतिस्पर्धामा छन् । उनीहरु सबै २०५६ मा इन्सपेक्टरमा भर्ना भएकाहरु हुन् । राष्ट्रिय अनुसन्धानबाट आएका दुई र २०५६ मा इन्सपेक्टरमा भर्ना भएका ७ जना गरी ९ जना एसएसपी बढुवाको मुख्य प्रतिस्पर्धामा रहेको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।

तर उनीहरुसँगै २६ माघ २०७५ मा एसपी भएका २०५८ का टोलीहरु पनि एसएसपी बढुवाको प्रतिस्पर्धामा छन् । एकै पटक बढुवा भएकाले आफूहरु पनि एसएसपीको स्वभाविक दाबेदार रहेको भन्दै २०५८ को टोली पनि अहिले बढुवाको लविइङमा लागेको छ ।

यो टोलीबाट पहिलो नम्बरमा एसपी रमेश थापा छन् । उनी हाल जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रमुखको रुपमा कार्यरत छन् । त्यसैगरी प्रकाश रानाभाट २०५८ को टोलीबाट दोस्रो नम्बरमा छन् । जिल्ला प्रहरी कार्यालय धनुषामा रहँदा विवादमा परेपछि उनी अवधि नपुग्दै तानिएका थिए । हाल उनी बेलायतमा तालिममा छन् ।

त्यसैगरी विमलराज कँडेल, कमल थापा, जनार्दन जिसी, कृष्णप्रसाद कोइराला, सन्तोष खड्का, रञ्जु सिग्देल, अनुपम शमशेर जबरा, श्यामकुमार महतो, कृष्ण पंगेनी, अजय केसी, नवराज अधिकारी, वीरबहादुर बुढा मगर लगायत एसपीहरु पनि बढुवाको प्रतिस्पर्धामा छन् ।

यसअघि डीआईजी बढुवामा २०५३ को राष्ट्रिय अनुसन्धानबाट आएको टोली नै छुटाएर बढुवा सिफारिस गरेका गृहमन्त्री रवि लामिछानेले अहिले पनि कारबाहीमा परेकाहरुलाई छुटाएर बढुवा सिफारिस गर्न निर्देशन दिएको उच्च स्रोतले बताएको छ । जसकारण एसएसपी बढुवामा ज्येष्ठतामा अघि रहे पनि राष्ट्रिय अनुसन्धान विभागबाट आएको टोलीलाई बढुवा नगर्ने पक्षमा गृहमन्त्री रहेको प्रहरी प्रधान कार्यालय स्रोतका भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?