
७ जेठ,काठमाडौं । काठमाडौं महानगरपालिकासहित उपत्यकका स्थानीय तहबाट फोहोर बोकेर बन्चरेडाँडा गएका सवारीसाधनमा स्थानीयले फेरि अवरोध गरेका छन् ।
बन्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीयले आफ्ना मागहरू पूरा नभएको भन्दै आइतबारदेखि आन्दोलन गरेपछि फोहोर बोकेका सवारीसाधनहरू रोकिएका हुन् ।
‘हाम्रो मात्रै ६०–७० वटा फोहोर बोकेका सवारी साधन रोकिएका छन् । अन्य स्थानीय तहहरूको समेत गरी ३ सयभन्दा बढी गाडीहरू रोकिएका छन् । हिजोदेखि फोहोर जान नपाएपछि काठमाडौंका सडकमा पार्किङ गर्न परिरहेको छ,’ काठमाडौं महानगर मेयरका प्रमुख स्वकीय सचिव भुपदेव साहले अनलाइनखबरलाई भने ।
यसअघि २४ चैत २०८० मा सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोट र धादिङका स्थानीयले फोहोर फाल्न अवरोध गरेका थिए ।
‘बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समिति’(नुवाकोट–धादिङ) ले यसअघिका सहमति कार्यान्वयन तथा ‘मानवबस्तीरहित ल्यान्डफिल साइट विकास क्षेत्र’ घोषणाको माग गर्दै फोहर व्यवस्थापनमा अवरोध गरेको थियो । सहरी विकास मन्त्रालयसँगको छलफल पछि भने फोहोर व्यवस्थापन अवरोध हटेको थियो ।
प्रतिक्रिया 4