+
+

१० महिनामा ६ लाख नेपाली रोजगारीका लागि विदेशिए

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ७ गते १८:५९
फाइल तस्वीर ।

७ जेठ, काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा ६ लाखभन्दा बढी व्यक्ति वैदेशिक रोजगारीका लागि बाहिरिएका छन् ।

चालु आव २०८०/८१ को वैशाख मसान्तसम्म वैदेशिक रोजगारीमा ६ लाख ९ हजार ७०५ जना गएको वैदेशिक रोजगार विभागले जनाएको छ । विभागका अनुसार यो संख्या नयाँ तथा पुनः श्रम स्वीकृति लिएर जानेको हो ।

वैशाखमा मात्र ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा ६४ हजार १० पुरुष रहेका छन् भने ६ हजार ६२७ महिला छन् ।

आर्थिक वर्ष सकिन दुई महिना बाँकी रहेकाले यो वर्ष पनि वैदेशिक रोजगारीमा जानेको संख्या गत वर्षकै हाराहारीमा पुग्ने देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा रोजगारीका लागि विदेश जानेको संख्या सात लाख थियो ।

गत आवको १० महिनामा चाहिँ वैदेशिक रोजगारीका लागि ६ लाख ६० हजार २५५ जना बाहिरिएको विभागको तथ्याङ्क छ ।

वैशाखमा मलेसिया जाने धेरै

विभागका अनुसार वैशाखमा सबैभन्दा धेरै नेपाली मलेसिया गएका छन् । वैशाखमा मात्रै १६ हजार ९४९ जना मलेसिया पुगेका छन् ।

त्यस्तै वैशाखमा रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (यूएई)मा १६ हजार ५१२ जना, कतारमा ११ हजार १०७, साउदी अरबमा ११ हजार ६१ जना र कुवेतमा ३ हजार ३८६ जना पुगेका छन् ।

त्यस्तै जापानमा १ हजार २९८ जना, रोमनियामा १ हजार ८४ जना र क्रोएसियामा १ हजार ८१ जना रोजगारीका लागि गएका छन् ।

यो आवको १० महिनामा भने संयुक्त अरब इमिरेट्स (यूएई) जानेको संख्या सबैभन्दा धेरै छ । वैशाखसम्म यूएईका लागि १ लाख ५४ हजार ४९३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क छ । १० महिनामा मलेसिया भने ७९ हजार जना पुगेका छन् ।

कुन महिनामा कति ?

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो महिना, साउनमा ५५ हजार ५७५ जना वैदेशिक रोजगारीमा गएका थिए । भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ र कात्तिकमा ४३ हजार ६२२ जना रोजगारीका लागि विदेश गएको तथ्याङ्क छ ।

विभागको तथ्याङ्क अनुसार मंसिरमा ६८ हजार २०१ र पुसमा ६५ हजार ८१३ जना रोजगारीका लागि विदेश गएका छन् ।

त्यस्तै माघमा ६२ हजार १४७ जना, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र वैशाखमा ७० हजार ६३७ जना वैदेशिक रोजगारीका लागि गएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?