+
+
पोखराको प्राइम सहकारी घोटाला :

डेढ अर्ब हिनामिनामा सहकारी विभागका कर्मचारीको पनि हात

सेवा विस्तार गर्ने भन्दै विभागका कर्मचारीले प्राइम सहकारीका सीईओ र व्यवस्थापकबाट गाडी किन्ने, मर्मत गर्नेदेखि विदेश भ्रमणको लागि समेत रकम लिएको पाइएको छ ।

अमृत सुवेदी अमृत सुवेदी
२०८१ जेठ ७ गते २०:३६

६ जेठ, पोखरा । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्थामा ठूलो घोटाला भएको खुलासा भएको छ । सूर्यदर्शन, इमेज, बलिदानी, मित्रमिलन, शिवशिखर विन्ध्यवासिनीभन्दा पनि ठूलो रकम प्राइम सहकारीबाट हिनामिना भएको पाइएको छ ।

जीबी राईको नेतृत्वमा रहेको सूर्यदर्शन सहकारीमा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ बचत रहेको पाइएको थियो । जिल्ला अदातल कास्कीमा दर्ता भएको मुद्दामा ८ देखि १० वर्ष कैद सजाय तथा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो रकम मागदाबी गरिएको छ ।

प्राइम सहकारीको १ अर्ब ५४ करोडभन्दा बढी रकम हिनामिना भएको प्रतिवेदनमा उल्लेख छ । यो सहकारी प्रकरणमा अहिलेसम्म ९ जना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेहरूको सूची लामो हुन सक्ने प्रहरीले जनाएको छ ।

पोखराको प्राइम सहकारीका प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापकले अपचलन रकम दबाउन र कार्यक्षेत्र विस्तार गर्न सहकारी विभागका कर्मचारीलाई घुस दिएको बयान दिएका छन् ।

बचतकर्ताको रकम हिनामिना गर्ने मुख्य योजनाकार मानिएका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुरेन्द्रमणि अधिकारी र व्यवस्थापक निरू केसीले सहकारी विभागदेखि तत्कालीन सहकारी रजिष्ट्रारले घुस लिएर अपचलन संलग्न भएको बयान दिएका हुन् ।

प्राइम सहकारीका सीईओ र व्यवस्थापकले बचत रकमबाट व्यक्तिगत घरजग्गा किन्ने, फर्जी खाता खोलेर रकम हिनामिना गर्ने, एजेन्ट नै राखेर मिटर ब्याजमा लगाउने तथा ऋणीबाट घरजग्गा उठाउनेजस्ता काम गरेको प्रतिवेदनमा जनाइएको छ ।

करिब २ वर्ष अगाडिदेखि नै आर्थिक समस्या देखिएको सहकारीको रकम अपचलनमा नियमनकारी निकायकै कर्मचारीको संलग्नता देखिएको प्रतिवेदन वैशाख अन्तिममा प्रहरीसमक्ष पुगेको थियो ।

सहकारी रजिष्ट्रारको कार्यालयले गराएको वित्तीय विश्लेषण तथा छानबिनसहितको प्रतिवेदनमा सुरेन्द्रमणि र निरूको बयानलाई आधार मानिएको छ ।

२०६६ सालमा दर्ता भएर सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्की, पोखराबाट २०७२ असारबाट बहुउद्देश्यीयमा रूपान्तरित भएको यो सहकारीको कार्यक्षेत्र सुरुमा पोखराका वडा नम्बर ३, ४, ५, ८ र ९ मा सीमित थियो । तर हाल कास्की, तनहुँ र गोरखा जिल्लासम्म कार्यक्षेत्र कायम गरिएको छ । यसको कार्यालय पोखरा महानगरपालिका वडा नं. ०४ मा रहेको तथा लेखनाथ, बगर र नयाँपुल गरी ३ सेवा केन्द्रमार्फत कारोबार गरिरहेको छ ।

यसरी कार्यक्षेत्र विस्तार गर्ने, सेवा केन्द्र खोल्ने बेला र सहकारी विभागबाट अनुगमनमा आउने बेला कर्मचारीलाई घुस खुवाएको, गाडी किन्न, मर्मत गर्न पनि पैसा दिएको सुरेन्द्रमणि र निरूले बयान दिएका छन् ।

ठूलो रकम व्यक्तिगत स्वार्थ र हिसाब नमिलेपछि त्यही मिलाउने प्रत्यत्नमा एकपछि अर्को दलदलमा प्रमुख प्रशासकीय अधिकृत र व्यवस्थापक फस्दै गएको देखिएको छ । उनीहरूको त्यही कमजोरी लुकाउनकै लागि कर्मचारीले घुस लिएको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा ऋण दिने र कमिसन लिने, सहकारीको नाममा भएका तथा विभिन्न धितोमा लगानी गरिएका ऋणी सदस्यहरूको जग्गा खरिदबिक्री गर्न सुरेन्द्रमणिले सल्लाहकारका रूपमा एजेन्ट बनाएरै मनबहादुर गुरुङ (माने)लाई राखेका थिए । जसलाई पोखरामा मिटरब्याजीका रूपमा धेरैले चिन्ने गरेका छन् ।

सहकारीको घर, जग्गा, जमिन, ऋणीको जग्गा, कर्मचारीहरूको जग्गा राजीनामा पास गरी लिने र सो रकम आफ्नो बचत खातामा जम्मा गर्न लगाउने काम मनबहादुरले गर्थे । सबैभन्दा धेरै जग्गामा कर्जा प्रवाह गर्ने, फर्जी खाता खोल्ने र पैसा लैजानेमा उनै मनबहादुर जोडिएका छन् ।

कर्मचारीले गरे रिसोर्टमा डिल

एकपछि अर्को व्यक्तिसँग जोडिएर सहकारीको रकम दुरुपयोग हुने क्रम तीव्र भएर समस्या देखिन थालेसकेको थियो । यही क्रममा सहकारी विभाग, नयाँ बानेश्वर काठमाडौँबाट सहकारीको अनुगमनमा आउने कर्मचारीले पोखराकै एउटा रिसोर्टमा बसेर घुस बार्गेनिङ गरेको बयान सीईओ र व्यवस्थापकले दिएका छन् ।

वित्तीय विश्लेषणकै क्रममा विभागका कर्मचारीको नाम, मोबाइल नम्बर, खाता नम्बरसहित दिएको बयानले प्रहरीलाई मात्रै होइन, अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि आकर्षित गराएका छन् ।

सहकारीको अनुगमनमा विभागबाट शाखा अधिकृत सन्देशप्रसाद जोशी र नायब सुब्बा कमल पोखरेल आएको उनीहरूले बताएका छन् ।

‘कारबाही नगर्ने व्यवस्था मिलाइदिन्छु भनी कुटी रिसोर्टमा बसी कुल २० लाख रकम माग गरेकोमा सो समयमा ८ लाख ५० हजारमात्र मैले नगद लिई गएकोले रकम अपुग भयो भनेपश्चात निजहरूले बाँकी रकम माग गरेकोमा मात्र ६ लाख ५० हजार रकम कर्मचारी राम सुनारलाई निजहरूले दिएको, भक्तबहादुर खड्काको महालक्ष्मी बैंकको खाता नं. ……०९०००००१ मा सन् २०२१ डिसेम्बर ३ मा दाखिला गरिदिन भनि पठाई जम्मा गरिदिएको हुँ,’ सीईओ सुरेन्द्रमणिले बयानमा क्रममा भनेको प्रतिवेदनमा उल्लेख छ । खड्का उनीहरूको सवारी चालक भएको उनीहरूले बताएका छन् ।

कर्मचारीहरूले सम्पत्ति शुद्धीकरण बमोजिम कारबाही नगर्ने वातावरण मिलाइदिने भन्दै रकम लगेको सीईओ सुरेन्द्रमणिको भनाइ छ ।

‘२० लाख रकम माग गरेकोमा हामीले मात्र १५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएकोले थप जरिवानासमेत गरी पठाएका हुन्,’ सुरेन्द्रमणिले बयानमा भनेका छन् ।
सहकारीकी व्यवस्थापक निरूले पनि उनीहरूलाई दिनका लागि काउन्टरबाट आफूले पैसा निकालेर दिएको र पछि घुस लिए पनि पुनः जरिवाना भने निर्धारण गरी पत्र पठाएको बताएकी छन् ।

मित्रमिलन प्रकरणमा थुनामा पुगेका उदयबहादुर पनि जोडिए

पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका गण्डकीका पूर्व सहकारी रजिष्ट्रार उदयबहादुर पराजुली प्राइम सहकारी घोटला प्रकरणमा पनि जोडिएका छन् ।

मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न भन्दै १ करोड २५ लाख रुपैयाँ धरौटी लिएको अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारीको बयानका आधारमा ११ पुसमा पक्राउ परेका पराजुली ९ चैतमा २० लाख धरौटीमा छुटेका थिए । पराजुली कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत रहेकै बेला कार्यकक्षबाटै पक्राउ परेका थिए ।

मित्रमिलनको स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न घुस लिएको आरोप लागेको अधिकारीले प्राइम सहकारीको कार्यक्षेत्र विस्तारमा पनि घुस लिएको बयान सुरेन्द्रमणि र निरूले दिएका छन् ।

प्राइम सहकारीको १२औँ वार्षिक साधारण सभामा २०७८ असोज १० गते तत्कालीन रजिष्ट्रार पराजुलीलाई प्रमुख अतिथि बनाएर बोलाएको र उनैले कार्यक्षेत्र विस्तार गर्न ताकेता गरेको उनीहरूले बताएको प्रहरीसमक्ष पुगेको प्रतिवेदनमा उल्लेख छ ।

संस्था अध्यावधिक गर्न रजिष्ट्रारको कार्यालय पोखरा जाने क्रममा साधारण सभामा विनियम संशोधन गरी कार्यक्षेत्र थप गरी अरू काम गर्ने भनेको स्मरण गराउँदै आफूले मिलाइदिने पराजुलीले बताएको उनीहरूको भनाइ छ । आफू सरुवा भएपछि अर्को हाकिम आउँदा नहुने भएकाले अहिले नै गरिहाल्न पराजुलीले दबाब दिए बयानमा छ ।

‘नारी दिवसको दिनमा निजसँग कुरा हुँदा यहाँ नगरौँ कतै जाउँ घुम्न भनि प्रस्ताव गरेपश्चात् मेरो नै गाडीमा राखी कवि शिरोमणि संग्राहलयमा लगी घुमाउने सिलसिलामा कुरा गर्दा काम त गर्ने हो ? तर सबै तिर मिलाउनुपर्छ,’ सुरेन्द्रमणिले बयानमा भनेका छन्, ‘तपाईंले त्यहीअनुसार व्यवस्था गर्नुपर्छ सक्नुहुन्छ कि नाई ? एउटा वडा मात्र दिने कुरा हैन २/२ वटा जिल्ला कार्यक्षेत्र थपदिने कुरा हो ।’

कारोबार खुलेको २/३ महिनामै उठाइहाल्न सक्ने भन्दै उनले ५० लाख रुपैयाँ व्यवस्था गर्न भनेको प्रतिवेदनमा उल्लेख छ । २०७९ असार १९ गते ४ लाख रकम उनी डेरा बसेको बिरौटाको राममन्दिर नजिकै गल्लीमा लगेर दिएको र सोही बमोजिम नयाँपुल सेवा केन्द्र थप भएको पत्र बुझेर ल्याएको सुरेन्द्रमणिले बताएका छन् ।

सोही जिल्लामा कार्यक्षेत्र थप्ने कुरा आफैँ टुंग्याएर सरुवा रमाना लिएर जाने पराजुलीले बताएपछि थप १२ लाख रुपैयाँ दिएर आएको सुरेन्द्रमणिको बयान छ । सो रकम २ सेवा केन्द्र र २ जिल्ला कार्यक्षेत्र थप गर्नको लागि प्रतिएकाई/जिल्ला गरेर ७ लाखको दरले काम भएको भनेपछि ४ लाखको दरले १६ लाख रकम नगदै व्यवस्थापक निरू थापा केसीसँग कार्यालयको पैसा मागेर दिएको उनले बताएका छन् ।

सहकारी डिभिजनका तत्कालीन प्राचार्य अधिकारीमाथि पनि आरोप

सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय कास्कीका तत्कालीन प्राचार्यको जिम्मेवारीमा रहेका उपसचिव बद्रीनाथ अधिकारीमाथि पनि प्राइम सहकारीको अनियमिततामा संलग्न रहेको सुरेन्द्रमणि र निरूले बताएका छन् । अधिकारी अहिले नीति तथा योजना आयोग गण्डकीको सचिव छन् ।

सहकारी डिभिजन कार्यालय कास्कीको प्राचार्य हुँदा अधिकारीले प्राइम सहकारीमा टोली खटिने कार्यसूची पठाएर आफूले नजाने वातावरण बनाइदिएको भन्दै रकम माग्न थालेको उनीहरूले दिएको बयानमा छ । पटक पटक रकम माग्ने र विभिन्न व्यक्तिको खर्च संस्थामा बिल मिलाउन भनेको आरोप उनीमाथि छ ।

बचत तथा केन्द्रीय संघमा आवद्ध हुन नाम परिर्वतन गरी बहुउद्देश्यीय सहकारीलाई साकोसमा परिणत गर्ने काम अधिकारीले गरिदिएको र उनले गाडी बनाउन सहयोग गर्न भनेको बयानमा छ ।

‘सरकारी गाडी बनाएको रकमसमेत तिर्न लगाई १ लाख ५० हजार रकम गाडी मर्मत भनी दिएको हुँ । सोबाहेक होटलमा बस्ने, टिकट काटिदिने रकमसमेत प्राइम सहकारीबाट निजले मागेपछि मैले भुक्तान गरिदिने गरेको थिएँ,’ सुरेन्द्रमणिले भनेका छन्, ‘टिकट तथा होटलको कारोबार तिरेको रकमको रेकर्ड भौचर विवरण देखिने गरि यसै लिखत साथ पेस गरेको छु ।’

व्यवस्थापक निरूले दिएको बयानअनुसार व्रतबन्धमा बद्रीनाथ अधिकारीसँग मन्त्र सुनेर सुरेन्द्रमणि जोडिएको र रकम मागेर उनै गुरुबालाई दिनुपर्ने रकम भनेर पटकपटक सुरेन्द्रमणिले लिएर गएको बताएकी छन् ।

‘बद्री सरलाई गाडी किन्न भनी सुरेन्द्रमणि पौडेल सरले करिब ७ लाख लिएर जानुभएको छ,’ निरूको बयानमा उल्लेख छ ।

सहकारी डिभिजन कार्यालयका कर्मचारी बालकृष्ण सुवेदीले पनि सहकारीकै पैसाले विदेश भ्रमण गरेको उनीहरूले बयान दिएका छन् । थाइल्यान्ड भ्रमण गएका सुवेदीलाई टिकटसहित होटल बुक खर्चसमेत सहकारीले १ लाख १० हजार भुक्तानी गरेको सुरेन्द्रमणिले बताएका छन् ।

सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखराका तत्कालीन रजिष्ट्रार चन्द्रबहादुर ठकुरीले प्राइम सहकारीबाट ‘सहकारीका सुसेलीहरू’ भन्ने गीतको एल्बम निकाल्ने नाममा पनि ५ लाख रुपैयाँ लगेको प्रतिवेदनमा उल्लेख छ ।

राष्ट्रिय सहकारी बैंकका तत्कालीन कास्की शाखा प्रमुख सन्तोष घिमिरेले कर्जा सहजीकरण गरिदिएबापत प्राइम सहकारीको तर्फबाट विदेश भ्रमण गराउन भनेपछि खर्च भुक्तानी गरिएको उनीहरूले बताएका छन् । मित्रमिलन सहकारी ठगी काण्डमा संलग्न भएको भन्दै पुर्पक्षका लागि थुनामा पुगेका घिमिरेलाई २ लाख रुपैयाँ भ्रमण खर्चको निकासी दिएको उनीहरूको अरोप छ ।

राष्ट्रिय सहकारी बैंकबाट कर्जा मिलाइदिएको खुसीयालीमा सहकारीका पदाधिकारी र केदार उप्रेती लगायतले श्रीलंका र सहकारीका कर्मचारीलाई थाइल्याण्ड भ्रमणसमेत गराएर ३० लाख पैसा भुक्तान गरेको पनि पाइएको छ ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?