+
+

न्युरोड : पार्किङ निषेध गरेर फुटपाथ  

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १५:४१
फाइल तस्वीर

८ जेठ, काठमाडौं ।  काठमाडौं महानगरपालिकाले न्युरोडको पार्किङ हटाएको ठाउँमा फुटपाथ निर्माण गर्ने भएको छ । महानगरपालिकाले साविक पार्किङ हुँदै गरेको स्थानमा पार्किङ हटाएर फुटपाथ विस्तार गर्न लागेको हो ।

महानगरपालिका ट्राफिक व्यवस्थापन विज्ञ जगतमान श्रेष्ठका अनुसार न्युरोडदेखि काठमाडौं दरबार स्क्वायरको गेटसम्म दायाँबाँया ३–३ मिटर फुटपाथ विस्तार गर्न लागेको हो । ‘यसका लागि टेन्डर आह्वान र डिमार्केसन पनि भइसकेको छ,’ उनले भने ।

महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले न्युरोडमा फुटपाथ बनाउन ३ करोड १९ लाख २० हजार रुपैयाँ लागत अनुमान गरिएको बताए ।

उक्त अनुमान राखेर महानगरपालिकाले ८ मंसिर २०८० मा टेन्डर आह्वान भएको थियो । जसमा २ करोड ५६ लाख ९५ हजारमा टेन्डर स्वीकृत भइसकेको छ ।

‘महानगरपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमै न्युरोड क्षेत्रको फुटपाथ विस्तारको विषय उल्लेख गरिएको छ । सोहीअनुसार टेन्डर आह्वान भएर काम गर्र्न बाटो खुलेको थियो,’ अधिकारीले भने ।

महानगरपालिकाका अनुसार ७ मिटर मात्रै कालोपत्रे हुन्छ अर्थात् दुई लेनको कालोपत्रे सडक बाहेक स्थान अब फुटपाथ हुन्छ । न्यूरोड क्षेत्र हुँदै सम्पदा अवलोकन गर्ने र व्यावसायिक प्रयोजनका लागि जानेलाई पनि फुटपाथमा हिँडाउने महानगरपालिका जनाएको छ ।

‘सहज ढंगले फुटपाथमा हिँड्न पाइन्छन्, अपाङ्गतामैत्री हुन्छ । धरहरामा पार्किङ गरेर न्युरोडमा हिँड्ने, सम्पदामा पैदलयात्रु मैत्री वातावरण बनाउन त्यसो गरिएको हो,’ अधिकारीले भने ।

जबरजस्ती गरिएको थियो पार्किङ निषेध

काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा स्थानीय व्यापारीको विरोध हुँदाहुँदै पार्किङ निषेध गरेको थियो ।

महानगरले ९ माघ २०८० देखि न्युरोड क्षेत्रका कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको थियो । काठमाडौं टावरमा निःशुल्क पार्किङ  सुविधा उपलब्ध गराउने र सुन्धारास्थित धरहरामा पनि दुई पाङ्ग्रे सवारी निःशुल्क पार्किङ गर्ने भन्दै न्युरोड क्षेत्रमा ‘नो पार्किङ’ गरेको थियो ।

महानगर प्रहरी बल प्रमुख राजुनाथ पाण्डेका अनुसार धर्मपथ, जुद्ध शालिक, इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा सवारीसाधन पार्किङ गर्न पाइने छैन । त्ययसअघि महानगरपालिकाले झोँछे क्षेत्र, दरबारमार्ग क्षेत्रमा सवारी पार्किङ निषेध गरेको थियो ।

स्थानीय व्यापारीले पार्किङ निषेध गरेपछि चर्को विरोध गरेका थिए । केही समय महानगरपालिका र नगर प्रहरीविरुद्ध आन्दोलन भए पनि महानगर ‘ब्याक’ भएको थिएन ।

‘धरहराको बेसमेन्ट पार्किङ दिएपछि न्युरोड क्षेत्रमा पैदलयात्री संख्या धेरै भएकाले अब पार्किङको सट्टा फुटपाथलाई जोड दिन लागेका हौं,’ पाण्डेले भने, ‘यसले स्थानीय व्यापारीको व्यवसाय प्रवद्र्धनसँगै दरबार क्षेत्र जाने पर्र्यटकलाई पनि सहज हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?