+

अटिजमको एक कारण ढिलो उमेरमा बच्चा जन्माउनु

२०८१ जेठ  ९ गते ७:०० २०८१ जेठ ९ गते ७:००
अटिजमको एक कारण ढिलो उमेरमा बच्चा जन्माउनु

काठमाडौं । पछिल्लो समय विवाह गर्ने उमेर पछाडि धकेलिइरहेको छ । ढिलो उमेरमा विवाह गर्ने र दाम्पत्य जीवन परिपक्व भएपछि मात्र सन्तान जन्माउने चलन छ । तर चिकित्सकहरू भने गर्भधारणका लागि एउटा निश्चित उमेर राम्रो हुने बताउँछन् । ढिलो उमेरमा सन्तानको योजना बनाउँदा आमा र बच्चामा विभिन्न समस्या देखापर्ने उनीहरुको भनाइ छ ।

ढिलो सन्तान जन्माउँदा महिलाको राम्रो अण्डाहरूको संख्या कम हुने र कम गुणस्तरको हुने भएकाले यसको कारण विभिन्न जटिलता निम्तिन सक्ने डेभलपमेन्ट पेडियाट्रिसियन डा. अनिल ओझा बताउँछन् ।

‘ढिलो बच्चा जन्माउँदा पहिलो त बच्चा नै नबस्ने समस्या निम्तिन सक्छ । बच्चा भएपनि विकलाङ्ग हुने, सुस्त हुने सम्भावना हुन्छ भने आमामा मधुमेह, प्रेसर जस्ता समस्या पनि देखा पर्न सक्छ,’ उनी भन्छन् ।

साथै ढिलो उमेरमा सन्तान जन्माउँदा बच्चामा अटिजमको जोखिम हुनसक्छ । हुन त अटिजम यही कारण हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागेको त छैन । तर यो वंशाणुगत र वातावरणीय कारणले देखा पर्न सक्छ, जसले गर्भमा हुर्किने बच्चाको मस्तिष्कको विकासमा बाधा पुग्ने डा. ओझा बताउँछन् ।

‘अटिजमलाई मेडिकल भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ । यो एक विकाससम्बन्धी विकार हो, जसकारण प्रभावित व्यक्तिलाई बोल्न, पढ्न, लेख्न र सामाजिक बन्न कठिनाइ हुन्छ,’ उनी भन्छन्, ‘अटिजम यस्तो अवस्था हो, जसमा यसबाट पीडित व्यक्तिको मस्तिष्कले अन्य व्यक्तिको मस्तिष्कभन्दा फरक ढंगले काम गर्छ । अटिजमबाट पीडित व्यक्तिहरू पनि एकअर्का भन्दा फरक हुन्छन् । यसको मतलब अटिजमका विभिन्न बिरामीले फरक-फरक लक्षणहरू अनुभव गर्न सक्छन् ।’

ढिलो उमेरमा बच्चा जन्माउँदा अटिजमको जोखिम किन हुन्छ ?

महिलाले जन्मिंदा नै पाठेघरमा निश्चित अण्डाहरू लिएर आएका हुन्छन् । ती अण्डाहरू उमेरअनुसार बिस्तारै सकिंदै जान्छन् । ३० देखि ३५ वर्षपछि अण्डाहरू घट्दै जान्छन् । ३५ वर्ष भन्दा पछिका महिलामा आवश्यक हार्मोन र अण्डाको कमी हुने, अण्डाको गुणस्तरमा कमी हुने हुन्छ । यस्तोमा अण्डामा आनुवंशिक परिवर्तन हुन्छ । जसले गर्दा क्रोमोजोमल समस्या जस्तो डाउन सिन्ड्रोम, अटिजम लगायतका समस्या निम्तिने जोखिम हुने डा. ओझा बताउँछन् ।

डा. अनिल ओझा

उनी भन्छन्, ‘बढ्दो उमेरमा महिलामा मधुमेह र उच्च रक्तचाप, थाइराइड जस्ता रोगको जोखिम पनि बढ्छ । यस्ता समस्याले पनि आमा र बच्चामा विभिन्न समस्या निम्तिने जोखिम हुन्छ ।’

विभिन्न अध्ययनहरूले पनि ढिलो उमेरमा बच्चा जन्माउँदा अटिजमको जोखिम हुने सम्भावना बढ्ने देखाएका छन् । न्युयोर्कको माउन्ट सिनाईमा रहेको आइकान स्कुल अफ मेडिसिनले गरेको एक अध्ययनले आमाबुबाको बढ्दो उमेरले बालबालिकामा अटिजमको जोखिम बढाउँछ भन्ने खुलासा गरेको छ ।

अनुसन्धानकर्ताहरूका अनुसार ५० वर्षभन्दा माथिका बुबाबाट जन्मिएका बालबालिकामा अटिजम हुने दर ६६ प्रतिशतले बढेको पाइएको छ भने ४० देखि ५० वर्षसम्मका बुबाबाट जन्मिएका बालबालिकामा अटिजमको दर २८ प्रतिशतले बढेको पाइएको छ ।

२० देखि ३० वर्ष उमेरका आमाबाट जन्मेका बालबालिकाको तुलनामा ४० देखि ५० वर्षसम्मका आमाबाट जन्मेका बालबालिकामा अटिजमको दर १५ प्रतिशत बढी थियो ।

अमेरिकाको जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थले गरेको यस अध्ययनका प्रमुख लेखक सियाओबिन वाङका अनुसार गर्भवती महिलाका लागि मोटोपन र मधुमेह राम्रो होइन । दुवै समस्याबाट पीडित महिलामा विकास हुने बालबालिकाको न्युरोडेवलपमेन्ट लामो समयसम्म प्रभावित हुनसक्छ ।

यस अनुसन्धानमा सन् १९९८ देखि २०१४ सम्म करिब २ हजार ७३४ आमा र उनीहरूका सन्तानको अध्ययन गरिएको थियो । अध्ययनका क्रममा करिब १०० बालबालिकामा मोटोपन र मधुमेहका कारण हुने अटिजम स्पेक्ट्रम डिसअर्डर भएको पाइएको थियो । यस अध्ययनका अर्का लेखक एम डेनियल फलिनका अनुसार अटिजमको जोखिम भ्रूणबाट सुरु हुन्छ ।

बच्चालाई अटिजम छ कि छैन भनेर गर्भमै पत्ता लगाउन सकिदैन

बच्चाले अरूसँग कुरा नगरेसम्म अरूको कुरा सुनेर प्रतिक्रिया नजनाएसम्म बच्चामा अटिजम भए नभएको पत्ता लगाउन सकिंदैन । यस्तोमा बच्चा पेटमै हुँदा यो समस्या पत्ता लग्दैन । कुनै पनि जाँचबाट अटिजमलाई पत्ता लगाउन सकिंदैन । बच्चा जन्मिएपछि उसको बानी व्यवहार र लक्षणहरू याद गरेर मात्र यो समस्या पत्ता लाग्ने डेभलपमेन्ट पेडियाट्रिसियन डा. ओझा बताउँछन् ।

बच्चामा अटिजमको अन्य कारण

डाउन सिन्ड्रोम भएका बालबालिकामा पनि अटिजम हुने सम्भावना हुन्छ । गर्भावस्थामा आमालाई उच्च रक्तचाप, थाइराइडको समस्या छ भने बच्चालाई अटिजमको जोखिम हुन सक्ने डा. ओझा बताउँछन् । ‘गर्भावस्थामा आमाले चुरोट, रक्सी खान्छिन् भने उनीबाट जन्मिने बच्चालाई पनि अटिजम हुने सम्भावना हुन्छ,’ उनी भन्छन् ।

समयभन्दा अघि नै बच्चा जन्मियो वा बच्चा जन्मिने बित्तिकै आईसीयू वा भेन्टिलेटरमा लामो समय राख्नुपर्‍यो भने उनीहरूमा यो समस्या देखिन सक्छ । गर्भावस्थाको समयमा आमाले खाएका केही औषधिहरूको साइड-इफेक्टका कारण पनि बच्चामा अटिजम हुनसक्ने डा. ओझा बताउँछन् ।

उपचार सम्भव छ कि छैन ?

अटिजम अपाङ्गता होइन, मस्तिष्कको विशेष अवस्था हो । अटिजम कुनै रोग नभएकाले औषधिबाट निको हुन्छ भन्ने हुँदैन । यसको मुख्य उपचार भनेको थेरापी, त्यसमा पनि व्यवहार थेरापी उत्तम हुने डा. ओझा बताउँछन् ।

‘अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, संगीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ । यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुन्छ । सही उपचार दिइयो भने लक्षण नियन्त्रण गर्न सकिन्छ र धेरै हदसम्म यस्ता व्यक्तिले सामान्य जीवन बिताउन सक्छन्,’ डा. झा भन्छन् ।

अटिजमको समस्या जीवनभर रहन्छ, त्यसैले यो समस्या निम्तिने कारकहरूलाई ध्यान दिएर बच्चालाई यो समस्या हुनबाट बचाउनुपर्छ । अटिजमबाट बच्न बच्चाको योजना बनाउनुअघि चिकित्सकसँग आवश्यक परीक्षण र पारिवारिक इतिहासबारे छलफल गर्न डा. ओझा सुझाउँछन् ।

ढिलो उमेरमा बच्चा जन्माउने योजना बनाउँदा बच्चालाई अटिजमको जोखिम बढ्छ । त्यसैले सही उमेरमा बच्चा जन्माउने योजना बनाउनुपर्छ । साथै गर्भावस्थामा चुरोट, रक्सी नखाने, पोषक तत्त्व भएका खानेकुरा खाने, तब मात्र बच्चाको दिमागको विकास राम्ररी हुन्छ र अटिजमको जोखिम कम हुने डा. ओझा बताउँछन् ।

अटिजम मानसिक रोग सन्तान जन्माउनु
लेखक
सुमित्रा लुईटेल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?

क्यान्सरका बिरामीलाई होम केयर सेवा कसरी दिने ?