+
+

नेपाल-बेलायतबीच सहकार्य वृद्धि हुनसक्छ : बेलायती प्रधानमन्त्री सुनक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १८:५१

८ जेठ, काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले नेपाल र बेलायतबीचको सम्बन्ध व्यापार, लगानी र जलवायु परिवर्तन सम्बन्धी सहकार्यमा परिणत  हुने बताएका छन् ।

नेपाल र बेलायतबीचको मैत्री सन्धिमा हस्ताक्षरको एक शताब्दी पुगेको अवसरमा बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटमा सोमबार आयोजित विशेष समारोहमा नेपाली समुदायलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले बेलायतमा रहेका नेपालीहरूको उपलब्धिको प्रशंसा गरे ।

सम्बोधनको क्रममा सुनकले द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउन बेलायती गोर्खाको योगदानको प्रशंसा गर्दै नेपाल र बेलायतबीचको ऐतिहासिक सम्बन्धका विविध आयामबारे बोलेका थिए । उनले बेलायती राजा चार्ल्सले गरेको नेपाल भ्रमणको स्मरण गराएका थिए ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालको विकासमा बेलायतले गरेको सहयोगको स्मरण गरे । उनले सन् १९२३ को मैत्री सन्धिले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उपस्थितिलाई बलियो बनाउनुका साथै अन्तर्राष्ट्रिय सम्बन्धलाई प्रवर्द्धन गरेको बताए ।

समारोहमा उपस्थित बेलायती विदेश राज्यमन्त्री एनी-मारी ट्रेभल्यानले नेपालको विकास प्रयासमा सहयोग गर्ने र नेपाललाई मध्यम आय भएको देश बन्ने लक्ष्य हासिल गर्न आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने बेलायती प्रतिवद्धता दोहोर्‍याइन् ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष जीवा लामिछाने, कलाकार मनिषा कोइराला, गैर आवासीय नेपाली डा. हेमराज शर्मा, रामशरण सिम्खडा, प्राध्यापक सूर्य सुवेदी, डा. पदम सिम्खडा, पर्वतारोही हरि बुढा लगायत सहभागी थिए ।

समारोहमा बेलायती प्रधानमन्त्री सुनकलाई नेपाल क्रिकेट संघ (क्यान) ले बनाएको आईसीसी टी–२० विश्वकपको जर्सी प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?