+
+

विश्व बैंक सहयोगमा लैङ्‍गिक हिंसाविरुद्ध अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ८ गते १५:१०

८ जेठ, काठमाडौं । विश्व बैंकको सहयोगमा लैङ्‍गिक हिंसाविरुद्धको प्रतिकार्य कार्यक्रम शुभारम्भ गरिएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जेर्भोसले संयुक्त रूपमा आयोजना शुभारम्भ गरेका हुन् । यस आयोजनाको लागत ४६ लाख अमेरिकी डलर रहेको छ ।

यो आयोजनाको अवधि तीन वर्षको हो । आयोजनाले कोशी र लुम्बिनी प्रदेशका ६ नगरपालिकामा कानुनी सहायता, मनोसामाजिक परामर्श र चिकित्सा सहायता जस्ता लैङ्‍गिक हिंसाविरुद्धको बहुक्षेत्रीय प्रतिकार्य सेवामा खर्च गर्ने लक्ष्य राखिएको छ ।

यसले लैङ्‍गिक हिंसा पीडित करिब ४९ हजार महिला तथा बालिकालाई गुणस्तरीय सेवामा राम्रो पहुँच मार्फत लाभान्वित गराउने लक्ष्य लिएको छ ।

‘लैङ्‍गिक हिंसाको सम्बोधनलाई नेपाल सरकारले प्राथमिकतामा राखेको छ । नगर, प्रदेश र संघीय तहमा लैङ्‍गिक हिंसाविरुद्धका प्रतिकार्य संयन्त्रहरूलाई आबद्ध गर्ने कार्यमूलक समन्वय प्रणाली स्थापनाका लागि यस आयोजनाले सहयोग गर्नेछ,’ मन्त्री चौधरीले भनिन् ।

यस आयोजनाका लागि लागि स्टेट एन्ड पिसबिल्डिङ ट्रस्ट फन्ड (राज्य तथा शान्ति निर्माण कोष) ले ४६ लाख अमेरिकी डलर बराबरको अनुदान उपलब्ध गराएको छ ।

यस आयोजनाको कार्यान्वयन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा गरिनेछ ।

यस आयोजनाले संस्थागत संरचना र क्षमता सुदृढ गर्नुका साथै सेवाको पहुँच र गुणस्तर सुधारमा ध्यान केन्द्रित गरी लैङ्‍गिक हिंसाविरुद्धका नवीनतम उपयाहरु सम्बन्धी नमूना कार्यक्रम सञ्चालन गर्नेछ ।

यसैगरी लैङ्‍गिक हिंसाविरुद्धको सुदृढ प्रतिकार्यका लागि पहिलो प्रतिकार्यकर्ता (फस्ट रेस्पोन्डर) र स्थानीय सरोकारवालाको व्यवहार परिवर्तनलाई बढावा दिनेछ ।

‘यस आयोजनाले विशेषगरी अति दुर्गम र पुग्न कठिन क्षेत्रमा लैङ्गिक हिंसाविरुद्धका सेवाहरूमा तत्काल पहुँच प्राप्त गर्न, हिंसाको उजुरी गर्न र यसका लागि सहयोग माग्न महिला तथा बालिकालाई सशक्तीकरण गर्नेछ । नेपालको हरित, उत्थानशील र समावेशी विकासमा टेवा पुर्याउन यो ज्यादै महत्वपूर्ण छ”, विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जेर्भोसले भने ।

नेपाल सरकार र विश्व बैंकबीच यस आयोजनाका लागि १२ वैशाख २०८१ मा वित्तिय सम्झौतामा हस्ताक्षर भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?