+
+
सहकारी संकट–३८ :

जनताको बचत बम्जनले ठाने बपौती : गोरखा सहकारीको साढे ४ अर्ब हिनामिना

गोर्खा सहकारीमा वर्तमान र पूर्वपदाधिकारी, कर्मचारी र उनीहरूका आफन्तले ७० प्रतिशतभन्दा धेरै रकम अपचलन गरेको देखिन्छ । जसमा गोर्खाज फाइनान्सका सञ्चालकदेखि एमाले नेता शेरधन राईको स्वकीय सचिव समेतको संलग्नता छ ।

विजय पराजुली विजय पराजुली
२०८१ जेठ ९ गते २०:१५

९ जेठ, काठमाडौं । तत्कालीन गोरखा डेभलमेन्ट बैंक घोटाला प्रकरण र त्यसमा जोडिएका प्रमुख पात्र हुन् डम्बरबहादुर (डीबी) बम्जन ।

उनै बम्जन परिवारले रकम अपचलन गर्दा ललितपुर सातदोबाटोस्थित गोरखा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ संकटग्रस्त अवस्थामा पुगेको छ ।

बचतकर्ताबाट उठाएको करिब साढे ४ अर्बमा डीबी बम्जनको परिवार र अन्य केही व्यक्तिले हालीमुहाली गर्दा हजारौं बचतकर्ता समस्यामा परेका छन् ।

केही व्यक्ति र परिवारले सहकारीबाट लिएको ऋण एक दशकसम्म पनि भुक्तानी नगर्दा मिहिनेत गरेर बचत गरेका ७ हजारभन्दा बढी बचतकर्ता समस्यामा छन् ।

डीबी बम्जन र सहकारीको सेयर सदस्य समेत नरहेका उनका दाइ तेजबहादुर बम्जनले लिएको रकम वर्षौंदेखि नतिर्दा सहकारी समस्यामा देखिएको छ । ४ अर्ब २८ करोड बचत दायित्व र ४ अर्ब ५६ करोड ऋण लगानी रहेको सहकारी संस्थामा सहकारीकै बहालवाला र पूर्वपदाधिकारीले अपचलन गर्दा ७ हजारभन्दा बढी बचतकर्ता समस्यामा परेका हुन् ।

सहकारीका सीमित पदाधिकारी, पूर्वपदाधिकारी र कर्मचारीले बचतकर्ताबाट उठाएको करिब ७५ प्रतिशत ऋण नतिर्दा डेढ वर्षदेखि सहकारी संकटग्रस्त अवस्थामा छ । सहकारीका बचतकर्ताहरू बचत फिर्ता नपाएको भन्दै सहकारी विभागदेखि विभिन्न निकाय धाइरहेका छन् ।

सिभिल सहकारी ठगीमा पूर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङ संस्थापक अध्यक्ष रहेको गोरखा सहकारीमा उनीपछिका अध्यक्ष थिए इच्छाराजकै नातेदार गोरखा डेभलपमेन्ट बैंक घोटालामा संलग्न रहेका डीबी बम्जन ।

उनै बम्जन र उनीसँगै संस्थाको कार्यकारी भूमिकामा रहेका करिब डेढ दर्जन व्यक्तिले हालीमुहाली गर्दा बचत र सेयरसहित सर्वसाधारणको साढे ४ अर्ब अपचलन भएको तथ्यांक अनलाइनखबरले फेला पारेको छ ।

डीबी र उनका दाइ तेजबहादुरले लिएको १ अर्ब ३२ करोड ५३ लाख रुपैयाँभन्दा बढी ऋण नतिरेको स्रोतको दाबी छ । बम्जन सहकारीका संस्थापक हुन् भने इच्छाराजपछि लामो समयसम्म बम्जनकै नेतृत्वमा सहकारी सञ्चालन भएको  थियो ।

सहकारीमा सेयर सदस्य समेत नरहेका तेजबहादुरले २०६७ सालमा विभिन्न्न शीर्षकमा लिएको ऋणको साँवा तथा ब्याज र जरिवाना समेत २०८० चैत मसान्तमा आउँदा ७६ करोड ९७ लाख ७९ हजार पुगेको  स्रोतको दाबी छ ।

सहकारीका तत्कालीन अध्यक्ष डीबीले नै उनका सहोदर दाजु तेजबहादुरको नाममा कर्जा दिएर दुरुपयोग भएको हो । यस्तै डीबी आफैंले लिएको ऋणको सावाँ तथा ब्याज जरिवाना समेत ५५ करोड ५५ लाख ३७ हजार पुगेको छ ।

डीबीकी श्रीमती कुमारी तामाङले लिएको ३ करोड ६ लाख ५३ हजार ऋण भुक्तानी नभएको पाइएको छ । संस्थाबाट विभिन्न कित्ताका जग्गा धितो राखी लिएको कर्जा नतिरेपछि जग्गा लिलाम बिक्री गर्दा ऋणको सावाँ–ब्याज भुक्तानी गर्न २ करोड ५६ लाख ३९ हजार ७ सय ५० रूपैयाँ असुल हुन नसकेको सहकारी स्रोतले जनाएको छ । सोही रकमलाई पुन ऋणमा देखाइएको र उक्त ऋणको साँवा–ब्याज समेत ३ करोड ६ लाख ५३ हजार पुगेको हो ।

१४ वर्षदेखि सहकारीबाट लिएको ऋण नतिरेको बम्जन परिवारले उक्त ऋणका लागि गोर्खाज फाइनान्स (तत्कालीन गोरखा डेभलपमेन्ट बैंक) को सेयर धितो राखेको पाइएको छ ।

सहकारी संकटग्रस्त अवस्थामा पुगेर अनुसन्धान सुरु भएपछि भने सहकारीले धितो राखेको सेयर लिलामीमा निकालेको छ । बम्जन परिवारले सहकारी संस्थाबाट करिब डेढ अर्ब अपचलन गरेको भए पनि धितो बिक्रीबाट भने केही करोडभन्दा असुल हुने अवस्था देखिँदैन ।

सहकारीले ४ वैशाख २०८० मा सूचना प्रकाशित गर्दै गोर्खाज फाइनान्समा रहेको तेजबहादुर र डीबीको नाममा रहेको सेयर लिलामीमा निकालेको छ । संस्थाले तेजबहादुरको  नाममा रहेको  २ लाख १४ हजार २ सय ५ कित्ता सेयर र डीबीको नाममा रहेको २ लाख ८३ हजार २ सय ६२ कित्ता सेयर लिलामीमा निकालेको हो ।

अध्यक्ष र कर्मचारी नै अपचलनमा संलग्न 

सहकारी अध्यक्ष इमानसिं राईले संस्थाबाट लिएको ऋण तिरेका छैनन् । नीतिगत रूपमा प्राथमिक पुँजीको १० प्रतिशतभन्दा बढी ऋण लिन नपाइने भए पनि केही व्यक्तिले मात्रै सहकारीको ७० प्रतिशतभन्दा बढी रकम अपचलन गरेका छन् ।

जसमा संस्थाका अध्यक्ष राईले २०७० सालदेखि पटक–पटक मसलकुमार राई, दीपेन्द्र घले र धनराज राईका नाममा लिएको कर्जाको सावाँ, ब्याज र हर्जाना समेत ६ करोड ९ लाख ८५ हजार पुगेको छ ।

संस्थाका बाहालवाला सञ्चालक समिति सदस्य भूषण राईले पनि साढे ५ करोडभन्दा बढी अपचलन गरेको खुलेको छ । उनले २०७७ मा राजेन्द्रकुमार राईका नाममा लिएको जम्मा सावाँ ऋण रकम ३ करोड १० लाखको ब्याज तथा जरिवाना समेत ५ करोड ५२ लाख ३६ हजार पुगेको छ ।

संस्थाका अर्का सञ्चालक मनप्रसाद सुनुवारले ५ करोड ८१ लाख ८४ हजार अपचलन गरेका छन् । उनले २०७३ देखि २०७७ सालसम्म घरपरिवारका सदस्यहरू विवेक सुनुवार, प्रेममाया सुनुवार, वीरेन्द्रबहादुर आङबुहाङ, विष्णुमाया राईका नाममा लिएको जम्मा सावाँ २ करोड ७२ लाख १५ हजारको ब्याज र हर्जाना समेत ५ करोड ८१ लाख ८४ हजार पुगेको छ ।

मनप्रसाद सुनुवार र भूषण राई २०५८ देखि संस्थाको सञ्चालक समितिमा रहेको देखिन्छ । त्यस्तै गोर्खाज फाइनान्सका सञ्चालक समिति सदस्य रहेका सहकारीका पूर्व लेखा सुपरीवेक्षण समिति सदस्य कर्णबहादुर राइले २५ करोडभन्दा बढी कर्जा तिरेका छैनन् । उनले २०६८ सालदेखि २०७७ सालसम्म विभिन्न मितिमा लिएको कर्जाको सावाँ, ब्याज हर्जाना समेत २५ करोड १४ लाख ९५ हजार पुगेको छ ।

उनले मणिन्द्र राई र अशोक अधिकारीका नाममा ऋण लिएर अपचलन गरेको खुलेको छ । संस्थाका पूर्व लेखा सुपरीवेक्षण समिति संयोजक समेत रहेका राई गोर्खाज फाइनान्समा संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक छन् ।

एमाले नेता पारुहाङले अपचलन गरे १९ करोड

सहकारीको रकम अपचलन गर्नेमा नेकपा एमालेका नेतासमेत देखिएका छन् । एमाले नेता शेरधन राई सञ्चारमन्त्री र कोशी प्रदेशको मुख्यमन्त्री हुँदा स्वकीय सचिव रहेका पारुहाङले विभिन्न मितिमा लिएको ऋणको ब्याज तथा जरिवाना समेत करिब १९ करोड पुगेको छ ।

उनले २०७२ देखि २०७७ सालसम्म लिएको ९ करोड १३ लाख ७० हजार रुपैयाँको ब्याज र जरिवाना समेत बक्यौता १८ करोड ८२ लाख ३० हजार पुगेको छ ।

उनले दीपक श्रेष्ठ, मनकाजी राई, सन्तुना वान्तवा, ध्रुवबहादुर कार्की, शुभम शर्मा, किसन राई, किरणकुमार राई र शारदा घलेका नाममा समेत ऋण लिएर चलाएको खुलेको छ । उनले सहकारीको ऋण तथा ब्याज भुक्तानी भने नगरेको सहकारी स्रोतले जनाएको छ ।

पारुहाङले २०६८ सालतिर लिएको साढे ३ करोड ऋण तिर्न नसकेको र पछिल्लो समय संस्थामा समस्या आएपछि उक्त ऋण घटाएर करिब ६० लाख बाँकी रहेको दाबी गरेका छन् । पारुहाङ नेकपा एमाले कोशी सम्पर्क मञ्च कमिटीका सदस्य हुन् ।

कसले कति गरे अपचलन ?

सहकारीका पूर्व कोषाध्यक्ष भवानीप्रसाद राईले साढे ११ करोडभन्दा बढी रकम अपचलन गरेको खुलेको छ । उनले २०६७ देखि २०७७ सालसम्म ४ करोड ५५ लाख ८५ हजार ऋण लिएकोमा उक्त ऋणको सावाँ तथा ब्याज भुक्तानी नगर्दा हाल ११ करोड ५१ लाख ३१ हजार पुगेको छ ।

उनले आफन्त र परिवारका सदस्यहरू लक्ष्मीकुमारी राई, अमूल्य राई, रश्मी राई, समिता राई, शान्ता राई र रचना राईका नाममा ऋण लिएर अपचलन गरेका हुन् ।

संस्थाकै कर्मचारी पहलमान घिसिङले पनि साढे १४ करोडभन्दा बढी रकम विभिन्न व्यक्तिका नाममा ऋण लिएर अपचलन गरेको खुलेको छ । उनले २०७१ देखि २०७७ सालसम्म विभिन्न व्यक्तिको ऋण रकम ८ करोड ४० लाख २२ हजारको ब्याज र हर्जाना समेत १४ करोड ६४ लाख ३० हजार पुगेको छ ।

उनले आफन्त र परिवारका सदस्यहरू रामसागर ग्यापक, पहलमान घिसिङ, कल्पना तामाङ, गणेश घिसिङ, निमा मोक्तान, शिवप्रसाद खनाल, छाया उप्रेतीका नाममा विभिन्न शीर्षकमा ऋण निकासा गरेर अपचलन गरेका हुन् ।

संस्थाकै पूर्वसञ्चालक प्रेमबहादुर बेघाले साढे २७ करोडभन्दा धेरै रकम अपचलन गरेका छन् । उनले २०६७ देखि २०७४ सालसम्म विभिन्न मितिमा लिएको ऋणको सावाँ, ब्याज र हर्जाना समेत २७ करोड ६७ लाख ८२ हजार पुगेको सहकारी स्रोतले जनाएको छ ।

यस्तै गणेशप्रसाद दाहालले पनि विभिन्न व्यक्तिका नाममा लिएको ऋण ११ करोड ८६ लाख ६३ हजार पुगेको छ । उनले २०६९ देखि २०७७ सालसम्म विभिन्न मितिमा जगन्नाथ खड्का, अमृत वाईवा, उपेन्द्रकुमार राई समेतका नाममा लिएको ऋणको साँवा, ब्याज र हर्जाना समेत उक्त रकम पुगेको हो ।

यस्तै संस्थाका अर्का ऋणी राजु खड्काले लिएको ऋण ७ करोड ७५ लाख ७० हजार भुक्तानी नगरेका हुन् । उनले २०७७ सालमा लिएको ४ करोड ३६ लाख ऋणको ब्याज र हर्जाना समेत करिब ८ करोड पुगेको हो  ।

यस्तै पूर्वसञ्चालकहरू कर्णबहादुर राई र भवानीसिं राईले विभिन्न व्यक्तिका नाममा ७ करोडभन्दा बढी ऋण लिएर अपचलन गरेको खुलेको छ ।

उनीहरूले २०७० देखि २०७७ सालसम्म देवीप्रसाद राई, शिवप्रसाद खनाल, सविन्द्र राई, शिवप्रसाद खनाल र चन्द्रबहादुर शाक्यका नाममा २ करोड ८४ लाख ३८ हजार ऋण लिएकोमा उक्त ऋणको सावाँ, ब्याज र हर्जाना समेत गरी ६ करोड ७५ लाख ४१ हजार पुगेको स्रोतको दाबी छ ।

‘यी कुनै पनि ऋण नियमित छैनन् । संस्थाले नउठेको ऋणको ब्याजलाई पूँजीकरण गर्दै लगेको देखिन्छ,’ स्रोतले भन्यो, ‘संस्थाको रकम अपचलन गर्ने र संस्थामा नै विभिन्न भूमिकामा रहनेहरूले नै  रकम अपचलन गरेका छन् ।’

संस्थाका वर्तमान र पूर्व पदाधिकारी तथा तिनका आफन्तहरूले ७० प्रतिशतभन्दा धेरै ऋण तिरेका छैनन् । अन्य साधारण सेयर सदस्यले लिएको ऋणको हिस्सा सानो छ । उक्त ऋण उठाउन सकिए पनि  वर्तमान र पूर्वपदाधिकारीले ऋण भुक्तानी नगर्दासम्म बचतकर्ताको रकम फिर्ता गर्न सक्ने अवस्था छैन ।

गाेरखा सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ ब्रिटिस गोर्खा ग्रुपद्वारा प्रवर्द्धित संस्था रहेको भन्दै सुरुमा प्रचारप्रसार हुँदै आएको थियो । सोही ग्रुपले सञ्चालमा ल्याएको सिभिल सहकारी यसअघि नै समस्याग्रस्त भइसकेको छ ।

ब्रिटिस गोरखा ग्रुपबाट प्रवर्द्धन गरेको भन्दै देशका विभिन्न स्थानमा सहकारी संस्था स्थापना भएर सर्वसाधारणबाट बचत संकलन गरी यसैगरी अपचलन हुँदै आएको थियो । गितेन्द्रबाबु (जीबी) राई संलग्न रहेका कतिपय सहकारी समेत सोही समूहले स्थापना गरेको हो ।

ललितपुर प्रहरीले अनुसन्धान गरिरहेको कल्याण उपकार बचत तथा ऋण सहकारी संस्था पनि डीबी बम्जन परिवारकै ज्ञानबहादुर बम्जन संस्थापक अध्यक्षका रूपमा स्थापना भएको संस्था हो भने उनै  संस्थापक अध्यक्ष भएर स्थापना भएको पोखराको सूर्यदर्शन सहकारी संस्थामा पछि उनले जीबीलाई अध्यक्ष बनाएका थिए । इमेज सहकारी ठगी प्रकरणमा फरार रहेका देवकुमार नेपाली पनि सूर्यदर्शन सहकारीका संस्थापकमध्ये एक हुन् ।

गोरखा सेभिङमा किन आयो समस्या ?

संस्थाका बहालवाला र पूर्वपदाधिकारीले नै ठूलो रकम अपचलन गर्ने र वर्षौंसम्म ऋणको साँवा तथा ब्याज भुक्तानी नगर्दा संस्थामा समस्या देखिएको हो ।

संस्थामा वास्तविक र डमी रूपमा खडा गरिएका ३० ठूला ऋणीले कुल ऋणको ७० प्रतिशतभन्दा बढी प्रयोग गरेको र कुनै पनि ऋण नियमित छैन । वर्षौंदेखि साावा मात्रै नभएर ब्याजसमेत भुक्तानी भएको छैन ।

चैत मसान्तमा सहकारीमा करिब साढे ७ हजार सेयर सदस्यको ४ अर्ब २७ करोड ८९ लाख ८६ हजार ५ सय २५ रुपैयाँ बचत दायित्व छ ।

सेयर पुँजी १५ करोड ३ लाख १८ हजार ३ सय र जगेडा कोषमा ९० लाख ४० हजार ९ सय २७ रूपैयाँ छ । उक्त अवधिमा संस्था ३७ करोड ४ लाख ३२ हजार ६ सय रुपैयाँ सञ्चित घाटामा रहेको देखिन्छ ।

उक्त अवधिमा संस्थाको उठ्न बाँकी रहेको कुल ऋण ४ अर्ब ५६ करोड ८५ लाख ४४ हजार ४ सय २० रुपैयाँ छ । यस्तै तिर्नुपर्ने वाह्य ऋण दायित्व १२ करोड २८ लाख १ हजार छ । सहकारी संस्थाको आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदनमा संस्थाले केही संस्थालाई समेत सेयर बिक्री गरेको उल्लेख छ ।

यस्तै संस्थाले पुँजी कोषको १५ गुणाभन्दा बढी बचत लिएको, तीन वर्षभन्दा बढी अवधिको अधिक निक्षेप लिने गरेको जस्तो कैफियत औंल्याएको छ । साथै, संस्थाले सहकारी ऐन, नियम र निर्देशिका विपरीत विभिन्न निजी कम्पनीमा ऋण लगानी गरेको छ ।

संस्थाले गोरखा हस्पिटलमा २४ करोड ८० लाख ५१ हजार ऋण लगानी गरे पनि त्यो असुल हुन नसकेको सहकारी स्रोतले जनाएको छ ।

सहकरी विभागमा बचतकर्ताको उजुरी परेपछि र संस्थाको अवलोकन समेत गरेको विभागले आवश्यक कारबाही अगाडि बढाएको छ ।

विभागले २१ वैशाखमा संस्थालाई  आवश्यक कारबाही र समस्याग्रस्त घोषणा किने नगर्ने भन्दै स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणको जवाफ आएको र त्यसको अध्ययनपछि आवश्यक निर्णय लिने विभाग स्रोतले जनाएको छ । विभागले यसअघि नै संस्थाका सबै सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको नाममा रहेको घरजग्गा रोक्का राख्न सिफारिस गरेको र रोक्का रहेको छ ।

यस्तै संस्थाले राजस्व दाखिला नगरेका कारण आन्तरिक राजस्व कार्यालय ललितपुरको पत्रपछि संस्थाको बैंक खातामा रकम जम्मा गर्न सकिने तर भुक्तानी गर्न नसकिने गरी बैंक खाता रोक्का छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री संस्थाले समस्या समाधानको प्रयास गरिरहेको र बचत दायित्व १ अर्बभन्दा धेरै घटाएर अहिलेको अवस्थामा ल्याएको बताउँछन् ।

ऋणीका नाममा रहेका विभिन्न स्थानको जग्गा बचतकर्तालाई पास गर्ने नगद व्यवस्था मार्फत बचत दायित्व घटाउँदै लगेको उनले दाबी गरे ।

आठ महिना अगाडि मात्रै संस्थाको व्यवस्थापकीय नेतृत्व लिएर संस्थाको वर्तमान र पूर्वपदाधिकारीले नै ठूलो ऋण तिर्नुपर्ने बक्यौता रहेको उनले बताए ।

डीबी बम्जन र उनको परिवारले ऋण लिँदा धितो राखेको सेयर लिलामी निकालेको र समस्या समाधानको प्रयास गरेको उनले दाबी गरे ।

सहकारी संकट
लेखकको बारेमा
विजय पराजुली

आर्थिक ब्युरोमा  कार्यरत पराजुली बैंक तथा वित्त विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?