+
+

‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा 

रासस रासस
२०८१ जेठ ९ गते ९:३२
फाइल फोटो ।

९ जेठ, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित अति दुर्गम महाभारत गाउँपालिकामा सञ्चालित ‘उज्यालो महाभारत’ अभियान अन्तिम चरणमा पुगेको छ । केन्द्रीय विद्युतीकरण प्रसारण लाइन विस्तारको कामलाई तीव्रता दिइएको उक्त गाउँपालिकाका सबै वडाका घरमा जेठ महिनाभित्रै बत्ती बाल्ने योजना छ ।

गाउँपालिका कार्यालयले कुनै बस्तीका घरमा केन्द्रीय बिजुलीको तार तान्न, हाउस वाइरिङ गर्न, मिटर बक्स जोड्न बाँकी रहेको वा छुटमा तत्कालै आफ्नो वडा कार्यालयमा सम्पर्क राख्न सार्वजनिक अपिल गरेको छ ।

गाउँपालिकालाई नै पूर्ण विद्युतीकरण गर्ने अन्तिम तयारीमा पुगेकाले उज्यालो अभियानलाई यही जेठमा सक्ने योजनामा रहेको अध्यक्ष कान्छालाल जिम्बाले बताए । उनका अनुसार अभियानका क्रममा वडा नं १, ३, ४, ५, ६ र ७ मा केन्द्रीय प्रसारणको बिजुली बत्ती बलिसकेको छ । गाउँपालिकामा ८ वटा वडा छन् ।

वडा नं २ र ८ मा केन्द्रीय प्रसारण लाइनको विस्तारकार्य भइरहेको छ । ‘यी दुई वडामा जेठभित्र केन्द्रीय प्रसारणको लाइनमार्फत बिजुली बत्ती बाल्छौँ, हाल हामी पूर्ण विद्युतीकरणको गाउँपालिकातर्फ उन्मुख भइसकेका छौँ’, जिम्बाले भने ।

स्थानीय जनप्रतिनिधिले ४ वर्षअघि महाभारत गाउँपालिकामा बिजुलीको मागपत्र पेस गरेपछि सरकारले एक अर्ब ५६ करोड रकम विनियोजन गरी विद्युतीकरणको काम थालेको थियो ।

यसैबीच ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विद्युत् प्राधिकरणले महाभारत गाउँपालिका मात्र नभई काभ्रेपलाञ्चोकलाई नै पूर्ण विद्युतीकरण गर्न बाँकी रहेका स्थानीय तहमा तीव्रगतिमा विस्तार कार्यमा लाग्न मातहतका कार्यालयलाई निर्देशन दिएका छन् ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केन्द्रीय प्रसारण लाइन विस्तारअन्तर्गत विद्युतीकरण भइरहेका खानीखोला गाउँपालिकाको केही स्थान, रोशी गाउँपालिकाको केही स्थान र बेथानचोक गाउँपालिकाको केही स्थानमा अपुग पोल, तार तान्नेलगायत काम एक साताभित्रै ठेक्का प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?