+
+

सर्वेक्षणबाट छानिएका १०० जना दर्शकमाझ ‘पुजार सार्की’को प्रिमियर

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ ९ गते १३:३८

काठमाडौं । फिल्मकर्मी र मिडियालाई बोलाएर प्रिमियर गर्ने चलन नयाँ रहेन । ‘पुजार सार्की’ले भने एक सर्वेक्षणबाट छनोट भएका १०० जना दर्शकसामु फिल्मको प्रिमियर गरेको छ ।

मंगलबार बेलुका सीडीसी हलमा गरिएको विशेष शोमा त्यसरी छनोट गरिएका दर्शकसँग ‘कास्ट एन्ड क्रू’ले फिल्म हेरे । यो फिल्म हेर्नको लागि व्यग्र प्रतीक्षामा रहेका दर्शकलाई छनोट गरेर फिल्म देखाइएको निर्देशक दिनेश राउतले बताए ।

तर निर्माताले भने यो प्रिमियर शोलाई विशेष शो बताइरहेका छन् । ‘नेपाली फिल्मको इतिहासमा पहिलोपटक रिलिजअगावै दर्शकलाई फिल्म देखाएका छौं,’ राउतले भने, ‘सयभन्दा बढी दर्शकमाझ गरिएको सर्भेबाट यो फिल्म देखाएका हौं ।’

दर्शकसँगै फिल्मका कलाकारले पनि हेरेका थिए । नेपाली फिल्मलाई माया गर्ने, यो फिल्म हेर्न व्यग्र प्रतीक्षारत र यो फिल्मको पहिलो शो हेर्न रुचि भएका दर्शकको सूचकको आधारमा सर्भे गरिएको जनाइएको छ ।

यसरी फिल्म प्रिमियर गर्दा वास्तविक दर्शकको धारणा बुझ्न सजिलो हुने र आफूहरुलाई उनीहरुको राय बुझ्न मद्दत मिल्ने आशा रहेको निर्देशक राउतले बताए । यो स्क्रिनिङबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको जनाइएको छ ।

विशेषगरी अभिनय क्राफ्टको प्रशंसा भएको उनले जनाए । जातीय विभेदविरुद्ध संघर्ष गर्ने पात्रको कथावस्तुमा बनेको फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाह, परीक्षा लिम्बू र अञ्जना बराइलीको मुख्य भूमिका छ ।  पटकथा विकास सुवेदीले लेखेका हुन् ।

किंगडम नेटवर्कको ब्यानरमा निर्माण भएको यो फिल्म बुद्ध जयन्तीको दिन पारेर बिहीबार नेपालसहित विदेशमा रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?