+
+

‘चुरे बचे पानी, पानी भए हामी !’

चुरे दोहनले पूर्वी तराईमा खानेपानीको समस्या विकराल बनाएको छ । यही समस्या काठमाडौंलाई सुनाउन २५ दिन पैदल हिँडेर आइपुगेका छन्, मधेशबासी ।

विकास रोकामगर विकास रोकामगर
२०८१ जेठ १० गते १९:३१

१० जेठ, काठमाडौं । जनकपुरका रामअवतार मुखियालाई बुढ्यौलीले छुनै लागेको छ । बेलाबेलामा ढाड दुखाइले सताउँछ । मन त छ, वैशाख जेठको प्रचण्ड गर्मीमा गाउँमै कुनै रुखको छहारीमुनि चिसो पानी पिउँदै आराम गरेर बसूँ !

तर यतिबेला ५० वर्षीय मुखिया पानीको खोजीमा २५ दिनको पैदल यात्रापछि काठमाडौं आइपुगेका छन् । चुरे पहाड दोहनले गर्दा तराईमा विभिन्न समस्या देखिन थालेपछि उनी सरकारलाई सुनाउन काठमाडौंसम्म पैदल हिँडेका हुन् ।

‘मजदुरी गरेर खाने हो, हाम्रो आफ्नो घरखेत छैन । अर्काकै चापाकलबाट पानी ल्याएर खान्थ्यौं’, बिहीबार बिहानै काठमाडौं कलंकीबाट माइतीघरतर्फ लम्किरहेका मुखियाले अनलाइनखबरसँग भने, ‘त्यही चापाकल सुकेपछि पानी माग्न काठमाडौं आएका हौं ।’

३ वर्षयता हिउँद लाग्न नपाउँदै पानीको समस्या देखिन सुरु हुने रामअवतार सुनाउँछन् । ‘यस्तो समस्या त कहिले भएको थिएन । पानी खान पनि ट्यांकरबाट किन्नुपर्ने भयो’, उनी भन्छन् ।

वैशाख १६ गतेबाट मधेश प्रदेशका जनकपुर, लाहान, धनुषा, रौतहट, सिरहालगायत चुरे प्रभावित ठाउँबाट पीडितहरू एकजुट भएर काठमाडौंका लागि प्रस्थान गरेका थिए । चितवन हुँदै काठमाडौं आएका उनीहरु २३ जना छन् ।

पैदल यात्रामा सहभागीहरूले प्लास्टिक र टिनको भाँडोमा ‘पानीका लागि रुख बचाऊँ, पानी दे सरकार, चुरे र वनको संरक्षण गर’लगायतका नारा उल्लेख गरेका छन् । उनीहरुले लगाएको चप्पल खिइसकेको छ, निरन्तरको हिँडाइले सबैका खुट्टा सुन्निएका छन् ।

धनुषाबाट हिँडेको २३ औं दिनमा खुट्टा दुखाइसँगै शारीरिक समस्या देखिन थालेपछि उनीहरूले बुधबार काठमाडौंको चन्द्रागिरिमै आराम गरेका थिए । ‘एकदिन आराम गरेर फेरि माइतीघरमा जम्मा हुन लागेका हौं’, चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनिल यादवले भने ।

धनुषाकी फूलकुमारी मुखियाको परिवारको नाममा घरखेत छैन । अधियाँ, मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । तर पछिल्लो समय खानेपानी किन्नु पर्दा अन्नपात जुटाउनै समस्या देखिन थालेको उनी सुनाउँछिन् ।

पानीको स्रोत सुक्दै जाँदा ट्यांकरको पानी किनेर खानु परेको फूलकुमारीको गुनासो छ । उनले भनिन्, ‘सबै सुकिसक्यो । सरकार पानी दिँदैन । खेती गर्न आफ्नो जमीन छैन । हामी सबै पानी माग्न आएका हौं ।’

उत्पादनका हिसाबले तराईलाई अन्नभण्डार भन्ने तर चुरे दोहनले गर्दा पछिल्लो समय उत्पादन नै घट्न थालेकोमा राज्य गम्भीर नभएको ३० वर्षीय इन्द्रजित साफीले दाबी गर्छन् । ‘पहिले हाम्रो ठाउँमा मुहानैमुहान थियो । हाम्रो घर वरिपरिको खोलाबाट ग्राभेल निकाल्न थालेपछि सबै मुहान सुक्यो’, उनले भने, ‘५ मिटर खन्नुपर्नेमा ४०/५० फिटसम्म गहिरो खनेका छन् । उनीहरुलाई कुनै कारबाही छैन ।’

एक बिघा जमिनमा पुर्खौंदेखि खेतीपाती गर्दै आएको इन्द्रजित पछिल्लो समय उत्पादन नै हुन छाडेको बताउँछन् । ‘पहिलेपहिले त्यही जमिनबाट ३/४ वर्ष पुग्ने उब्जाउ हुन्थ्यो । बढी भएको बेचेर घरखर्च चल्थ्यो । अहिले त ४/५ महिना पनि हुँदैन’, उनी भन्छन्, ‘पानी नै नभएपछि कसरी उत्पादन होस् ?’

तेस्रो पटक पैदल यात्रा१२०० किमी हिँडाइ

चुरे तथा वनजंगल संरक्षण अभियानका नाममा यसअघि उनीहरूले दुई पटक पैदल यात्रा गरेका थिए । यसअवधिमा उनीहरुले करिब १ हजार २ सय किमी र ४७ दिन पैदलयात्रा गरिसकेका छन् ।

अभियानका संयोजक यादवका अनुसार यसअघि पहिलो पटक २०८० असारमा वीरगञ्जदेखि काठमाडौं ११ दिनमा,  दोस्रो पटक २०८० माघमा सप्तरीदेखि वीरगञ्जसम्म ११ दिन पैदल यात्रा गरेका थिए । ‘त्यतिबेला भएका सहमति पूरा नभएपछि फेरि पनि हिँड्न बाध्य भयौं । यसपटक हिँडाइ अलि धेरै भयो’, संयोजक यादवले भने ।

चुरे तथा वनजंगल विनासका कारण जमिनमुनिको पानीको सतह घट्दै जाँदा पानीको स्रोत सुक्दै गएको इन्जिनियरसमेत रहेका यादव सुनाउँछन् । ‘हाम्रो पहिलो माग नै चुरे र त्यहाँको वन जोगाउनुपर्‍यो भन्ने हो । अहिले दोहन र अतिक्रमणले गर्दा सबै पानीको स्रोत सुक्यो’, उनले अनलाइनखबरसँग भने ।

गैरकानुनी रुपमा चुरे दोहन, उत्खनन्, वन विनास हुँदा बर्सेनि आफूहरुको दु:ख बढ्दै गएको यादवको भनाइ छ । अवैध उत्खनन्‌ले चुरे क्षेत्रका खोलानाला, कुवा, इनार, चापाकल सुकेको र खेतीपातीमा सिंचाइ गर्न पनि नसकिएको उनले सुनाए ।

‘मधेशलाई अन्नको भण्डार भन्ने,  तर त्यहीं ठाउँ अहिले पानी अभावले भयावह भइसक्यो । पोहोरदेखि त पानी ट्यांकरमा किनेर खानुपर्ने स्थिति आइसक्यो’, यादवले भने, ‘अहिले अलि छिटै पानी परेर समस्या हट्यो । तर यो आजको लागि मात्रै सोचेर भएन ।’

मजदुरी गर्दै जीविकोपार्जन गर्दै आएका जनकपुरका ४७ वर्षीय दीपलाल मुखियाले पनि खानेपानी किनेर खान नसक्ने सुनाए । ‘पहिलेपहिले यस्तो अभाव भएको थाहा थिएन । अहिले पानी नै किनेर खानु परेको छ । घरखेत नै नभएको हामीले कसरी ट्यांकरको पानी खाने ?’ उनको प्रश्न छ ।

टोली चुरेक्षेत्र, खानेपानी मुहान संरक्षण, भूमिहीन सुकुमवासीको उचित व्यवस्थापनसहित १२ बुँदे माग बोकेर मधेशदेखि काठमाडौं आइपुगेको हो ।

एउटै माग बोकेर पटकपटक काठमाडौं आउनुपर्दा आजित भएको उनीहरु बताउँछन् । यसपटक आफ्नो माग पूरा भएमात्रै गाउँ फर्किने उनीहरुको भनाइ छ । ‘अहिले हामीसँग ३ तहको सरकार छ । स्थानीय, प्रदेश सबैलाई गुहार्‍यौं । यति सानो कुरा लिएर काठमाडौंसम्म आउनु परिरहेको छ’, इन्द्रजित साफीले आक्रोस पोखे ।

तस्वीर/भिडियो : आर्यन धिमाल/अनलाइनखबर

लेखकको बारेमा
विकास रोकामगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?