
१० जेठ, काठमाडौं । आवासीय चिकित्सकलाई तोकिए अनुसारको निर्वाह भत्ता नदिने मेडिकल कलेजले अध्यापनका लागि सिट नपाउने भएका छन् ।
डीएम तथा एमसीएच गर्दै गरेका चिकित्सकलाई नवौं तहको तलब स्केल बराबरको निर्वाह भत्ता दिनुपर्ने प्रावधान छ ।
तर अधिंकाश निजी मेडिकल कलेजले कम स्केलमा काम लगाइरहेको गुनासो आएपछि चिकित्सा शिक्षा आयोगले भत्ता सुनिश्चित नगर्ने कलेजलाई सिट पनि नदिने जनाएको हो ।
आयोगले गत चैत २७ मा डीएम तथा एमसीएच तहको ‘सेल्फ अप्राइजल’ फारम भर्दा तोकिए अनुसारको निर्वाह भत्ता सुनिश्चित गरेर मात्र सिट मागदाबी गर्न निर्देशन दिएको थियो । तर अधिंकाश निजी कलेजले निर्वाह भत्ता सुनिश्चित गरेको विवरण पठाएनन् ।
त्यसपछि आयोगले जेठ ७ मा फेरि त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान महाराजगञ्ज, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस र डीएम तथा एमसीएचको सिट मागदाबी गरेका मेडिकल कलेजहरूलाई पत्र पठाउँदै तीन दिनभित्र निर्वाह भत्ताको सुनिश्चितता गरिएको प्रतिवद्धता पत्र नपठाएमा सिट नदिने चेतावनी दिएको थियो ।
आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले नियमावलीमा भएको व्यवस्थालाई टेकेर सिट निर्धारण गरिने बताए । ‘निर्वाह भत्ता सुनिश्चितताको प्रतिवद्धता पत्र नआएका मेडिकल कलेजहरूलाई डीएम तथा एमसीएचको सिट निर्धारण हुँदैन,’ डा. झाले भने ।
प्रतिक्रिया 4