
११ जेठ, काठमाडौं । नेपाली कांग्रेसले काठमाडौंमा आइतबार गर्ने विरोध प्रदर्शनको क्षेत्रगत तयारीका लागि उपत्यकाका १५ क्षेत्रमा १५ नेतालाई प्रतिनिधि खटाएको छ ।
काठमाडौंका १० क्षेत्रअनुसार क्रमश: उमेशजंग रायमाझी, सीता थपलिया ‘उर्मिला’, रंगमति शाही, कुन्दन काफ्ले, नैनसिंह महर, गुरु बराल, आङ्गेलु शेर्पा, अब्दुल सतार, डा डिला संग्रौला र प्रकाश स्नेहीलाई तोकिएको छ ।
ललितपुरका ३ क्षेत्रमा क्रमश: दिलमान पाख्रिन, देवेन्द्रराज कँडेल र अर्जुन जोशी प्रतिनिधि बनेका छन् । त्यस्तै, भक्तपुरका २ क्षेत्रका लागि हरिशरण नेपाली र गणेश लामा प्रतिनिधि बनेका छन् ।
पार्टीले तोकेका प्रतिनिधिले क्षेत्रगत बैठक गर्ने, प्रदर्शनको तयारी, कार्यकताई प्रशिक्षित गर्नेछन् । ‘कांग्रेस सडकमा जानु पर्नाको कारण कार्यकर्तालाई जानकारी गराएर क्षेत्रबाट बढीभन्दा साथीहरुलाई विरोध प्रदर्शन गर्ने हाम्रो कार्य हुन्छ,’ काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधि केन्द्रीय सदस्य नैनसिंह महरले भने ।
बुधबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सहकारी पीडितको रकम फिर्ता, संसदीय छानबिन समितिको माग, गृहमन्त्री रवि लामिछानेको अभिव्यक्ति लगायतका मुद्दा बनाएर सडक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
काठमाडौंको पछि कांग्रेसले प्रदेशस्तरमा पनि विरोध प्रदर्शन गर्ने भएको छ ।
प्रतिक्रिया 4