
११ जेठ, काठमाडौं । प्रतिनिधि सभामा शुक्रबार सभामुख र नेपाली कांग्रेसका सांसदहरूबीच सवालजवाफ भएको छ । कांग्रेस सांसदहरूले सभामुखले विपक्षीलाई बोल्न नदिएको गुनासो गरेका छन् भने सभामुखले बोल्ने वातावरण बनाउन सत्तापक्षसँगै प्रतिपक्ष पनि जिम्मेवार हुनुपर्ने जवाफ दिएका छन् ।
संसद्को शुक्रबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरेर पास गर्ने कार्यसूची थियो । तर सहकारीको रकम अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) बनाउन गठित कार्यदलमा सकारात्मक छलफलपछि संसद् नियमित कार्यसूचीमा प्रवेश नगर्ने निश्चित जस्तै भयो ।
संसद् बैठक सूचना टाँसेर स्थगित गर्ने विकल्पमा पनि छलफल नभएको होइन । तर अधिकांश सांसद पुगिसकेको र सूचना टाँसेर स्थगित गर्दा राम्रो सन्देश नजाने भन्दै बैठक बस्ने तय भयो । ११ बजे बोलाएको बैठक केही ढिला सुरु भयो ।
बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरू उठे । तर सभामुख देवराज घिमिरेले शून्य, विशेष र आकस्मिक समय नरहेको जानकारी गराए । अनि प्रतिपक्षले उठाएको सहकारीसँग सम्बन्धित विषयमा कार्यदलमा छलफल जारी रहको भन्दै संसद्लाई नियमित काम कारबाहीमा लैजान आग्रह गरे । कांग्रेस सांसदहरूले मानेनन् ।
बरु बोल्न समय मागे । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बोल्ने तयारी गरेर आएका थिए । नेताहरूका अनुसार कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेस सचेतक सुशीला थिङले महामन्त्री शर्माले बोल्ने जानकारी पनि गराएकी थिइन् ।
तर सभामुखले समय दिन नसक्ने बताए । अघिल्ला बैठकहरूमा आफूले कांग्रेस सांसदहरूलाई बोल्न दिँदा समस्या बढेको भन्दै उनले समय लिन नसक्ने बताएका थिए । सचेतक थिङले भने बोल्न पाउनुपर्ने माग गरेकी थिइन् ।
संसद्मा पनि कांग्रेस सांसदहरू बोल्न दिनुपर्ने माग गरे । महामन्त्री शर्माले भने, ‘प्रतिपक्ष उभिरहेका बेलामा बोल्न समय उपलब्ध गराउनु सभामुखको कर्तव्य हो भन्ने हामी ठान्दछौं ।’

सभामुखले भने परिस्थितिलाई सहज बनाउन कोसिस भइरहेको भन्दै समय दिन मानेनन् । कांग्रेस प्रमुख सचेतक रमेश लेखकले छलफल गर्दा पनि संसद्मा बोल्न पाउनुपर्ने माग गरे ।
महामन्त्री शर्माले थपे, ‘प्रतिपक्षले बोल्नु भनेको परिस्थितिलाई असहज बनाउने होइन ।’
कांग्रेस सांसदहरूले पनि बोल्न पाउनुपर्यो भनेर माग गरे । समय माग गर्दै हात उठाइरहेका महामन्त्री शर्माले फेरि भने, ‘प्रतिपक्षले जनताको कुरा राख्न चाहँदा बोल्न नदिएर कस्तो नजिर बनाउन चाहँदै हुनुहुन्छ सभामुख महोदय ?’
सभामुख घिमिरे टसकामस भएनन् । विषयवस्तु अगाडि लैजान सहयोग गर्न आग्रह गरे ।
‘प्रतिपक्षलाई सदनमा बोल्न नदिने यो लोकतान्त्रिक होइन सभामुख महोदय’ कांग्रेस प्रमुख सचेतक लेखकले भने, ‘प्रतिपक्ष सदनमा बोल्न पाएन भने कहाँ बोल्ने ?’
त्यसपछि भने सभामुख रिसाए । सभामुखले बोल्न दिएन भन्ने प्रचार नगर्न सचेत गराए । ‘बोल्न पाउनुपर्छ भन्ने माग गरेर सभामुखले बोल्न दिएन भन्ने प्रचार गर्ने कुरा होइन’ उनले भने, ‘बोल्ने वातावरण कसरी बनाउने र कसरी अगाडि लैजाने भन्ने कुरामा सत्ता पक्ष त्यतिकै जवाफदेही छ, त्यतिकै जिम्मेवार छ ।’
सभामुखको समर्थनमा सत्ता पक्षका सांसदहरूले ढ्यापढ्याग गरे ।
कांग्रेस प्रमुख सचेतक लेखकले भने जवाफ फर्काए, ‘प्रतिपक्षले बोल्न पाएन भने बोल्न दिएन भन्ने पर्ला नि सभामुख महोदय ।’
सभामुख घिमिरेले भने यसअघि पटक पटक बोल्न दिएको बताए । ‘तलबाट बोल्न नपुग्दा माथि आएर बोल्नुस् भनेको हो’ विधिसंगत ढंगले बोल्ने व्यवस्था गर्दै आएको भन्दै भने, ‘त्यसका लागि वातावरण सबै माननीयजीहरूले बनाउनुपर्छ ।’
कांग्रेस सांसदहरूले बोल्न पाउनुपर्छ भनिरहेपछि सभामुखले सभा चलाउन सहयोग नगरेको भन्दै बैठक स्थगित गरे । अर्को बैठक १३ गते ११ बजेका लागि तोकेका छन् ।
बैठकपछि कांग्रेस सांसदहरूले सभामुखले प्रतिपक्षलाई बोल्न समेत नदिएको बताएका छन् ।
सत्तारुढ दलहरूले संसद् एकलौटी ढंगबाट चलाउन खोजेको र सभामुख सत्ताको इशारामा चलेको भन्दै कांग्रेस सांसद प्रदीप पौडेलले भने, ‘संसद प्रतिपक्षको हुन्छ भन्ने संसदीय मान्यतालाई नेपालको संसद्ले उल्लंघन गरेको छ ।’
कांग्रेस महामन्त्री शर्माले ‘कांग्रेसले धेरै बकवास गर्यो, कांग्रेसलाई अब बोल्न दिइने छैन’ भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले सार्वजनिक रूपमै भनेको स्मरण गरे ।
ओलीले २ जेठमा कांग्रेसलाई बोल्न नदिने बताएका थिए । त्यसयता संसद्को ६ वटा बैठक बसेको छ । ५ वटा बैठकमा सभामुखले कांग्रेस सांसदहरूलाई बोल्न दिएनन् । ६ गते गृहमन्त्री लामिछानेले जवाफ दिए, ७ गते प्रधानमन्त्रीले विश्वासको मत लिए । ८ गतेको बैठकमा भने सभामुखले कांग्रेस सांसद बद्री पाण्डेलाई ५ मिनेट समय दिए । शुक्रबार फेरि दिएनन् ।
शुक्रबारको बैठकमा सभामुखबाट प्रतिपक्षले संसद्मा बोल्दा संवादलाई सहज बनाउँदैन भन्ने आभास व्यक्त हुनु राम्रो नभएको कांग्रेस महामन्त्री शर्माले बताए । सहकारी ठगीमा जोडिएकाले स्वार्थको द्वन्द्व हुन्छ भनेर गृहमन्त्री लामिछानेलाई बोल्न नदिएको स्वीकार गर्दै उनले भने, ‘प्रतिपक्षले संसद् चलाउन सहयोग गरेको छ । गृहमन्त्री बोल्न सहमति गर्यो, सम्माननीय राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गर्न पनि सहमति गर्यो ।’
सत्तारुढ माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले भने कांग्रेसले आफ्ना सांसदले बोलिसकेपछि संसद् अवरुद्ध गर्ने गरेका कारण सभामुखले समय नदिएको प्रतिक्रिया दिएका छन् । केही दिन अगाडि मात्र कांग्रेस सांसद बद्री पाण्डे बोलेको भन्दै उनले भने, ‘हामी पनि सांसद हौं, हामीले बोल्न नपाएको महिनौं भयो ।’
प्रतिक्रिया 4