
काठमाडौं । प्रदीप खड्का स्टारर सोसल-ड्रामा ‘पुजार सार्की’ले घरेलु बक्स अफिसमा उत्साहजनक ओपनिङ गरेको छ । बिहीबार रिलिज भएको फिल्ममा खड्काले मैते नामक पात्रको भूमिका निर्वाह गरेका छन् ।
सबै जनराका फिल्मको पात्रमा आफूलाई एक्सप्लोर गर्दै आएका प्रदीपले अनलाइनखबरसँग ‘पुजार सार्की’को ओपनिङबारे प्रतिक्रिया दिएका छन् । मैतबहादुरले ‘प्रेमगीत’ श्रृंखलाको ‘प्रेम’को छवि मेटाउने आशा प्रदीपको छ ।
‘कुनैबेला मलाई प्रेम भनेर बोलाउँदा खुसी लाग्थ्यो,’ उनले भने, ‘मलाई प्रेमको छवि मेटाउन कठिन पनि भएको थियो । कलाकारको रुपमा यो चुनौती पनि हो । यो फिल्मबाट म प्रेमबाट मुक्त भएर मैते बनेको छु ।’
एउटै भूमिका निर्वाह गर्दा ‘मोनोटोनस’ हुनसक्छ भनेर आफूले भिन्न चरित्रको जीवन बाँचिरहेको प्रदीपको भनाइ थियो । उनले ‘पुजार सार्की’पछि अब तीन शैलीका फिल्ममा केन्द्रित हुने बताए ।
लिगेसी, ट्रेन्ड्रिङ र ट्रेन्ड सेटिङ शैलीका फिल्ममा केन्द्रित हुने उनको योजना छ । उनले गर्न लागेका ‘लिलिबिली २’ र ‘एक्टर’जस्ता फिल्म लिगेसी शैलीका फिल्म भएको, ‘पुजार सार्की’ ट्रेन्डिङ फिल्म भएको र ‘ऐरी’ र ‘पिताम्बर’जस्ता एक्सन फिल्म अबका ट्रेन्डसेटर फिल्म हुने उनको विश्लेषण छ ।
‘अबको ट्रेन्ड सेटिङ एक्सन हो नि,’ प्रदीप भन्छन् । उनले ‘पुजार सार्की’ अहिले दर्शकले खोजिरहेको मध्यमार्गी फिल्म रहेको बताए । ‘पुजार सार्की कमर्सियल र कन्टेन्टबीच सन्तुलन मिलाउने फिल्म हो,’ उनले भने, ‘सबैखाले दर्शकलाई छुने यो मध्यमार्गी फिल्म हो । हामी जानुपर्ने पनि कन्टेन्टसहितको इन्टरटेनमेन्टतिर हो ।’
प्रदीप यतिबेला ‘एक्टर’को छायांकनमा व्यस्त छन् । उनले हालै एक्सन फिल्म ‘पीताम्बर’को छायांकन सके । ‘ऐरी’ प्रि-प्रोडक्सन चरणमा छ । उनले अब चरित्र केन्द्रित फिल्म गर्नुपरे बायोपिकमा काम गर्न रुचि लागेको बताए ।
प्रतिक्रिया 4