
१३ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष (आव) २०८१/८२ को नीति तथा कार्यक्रम माथि छलफलमा भाग लिँदै नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रतिपक्षका दलहरूलाई वेल घेरेर नारा लगाउनको सट्टा ताली बजाउनुपर्ने नीति कार्यक्रम रहेको बताएका छन् ।
नीति कार्यक्रमले दिगो विकास लक्ष्य पछ्याएको भन्दै निराशा चिरेर आशा जगाउने गरी नीति कार्यक्रम आएको बताए ।
उनले करदाताको व्यावसायिक लागत घटाउने गरी कर प्रणाली नीति कार्यक्रममा उल्लेख भएको बताए ।
‘आन्तरिक ऋण पूँजी निर्माण गर्न लिने र उत्पादन वृद्धिका लागि लिने दृष्टिकोण सारेको छ । पूँजीबजार, बैंक, वित्तीय संस्थाको समस्या समाधान गर्न नीति कार्यक्रमले समेटेको छ,’ पौडेलले भने, ‘सहकारीको स्थायी रूपमा समस्या समाधान गर्ने नियामक निकाय बनाएर काम गर्ने पनि नीति कार्यक्रममा छ ।’
आगामी आवभित्र नेपालको ‘कन्ट्री रेटिङ’ सकाउने योजना लिएको उपाध्यक्ष पौडेलले बताए । ‘गरिबहरूलाई निःशुल्क बीमा गर्ने संकल्प गरिएको छ । आन्तरिक उत्पादन बढाएर आयात घटाउने अठोट छ,’ पौडेलले प्रतिपक्ष दलको विरोधबीच भने, ‘५ लाख भूमिहीन, स्वबासीलाई स्थायी रूपमा समाधान गर्ने गरी अगाडि बढाएको छ । जलवायु परिवर्तनको विषयलाई अन्तर्राष्ट्रियकरण गर्ने र त्यसको नेतृत्व नेपालले गर्ने उल्लेख छ ।’
सरकारले ल्याएको नीति कार्यक्रममा २०८३ भित्र काठमाडौं–निजगढ द्रुतमार्ग सम्पन्न गर्ने संकल्प गरेको उनले बताए । नेपालको आफ्नै भूउपग्रह हुनेसमेत उनले उल्लेख गरे ।
प्रतिक्रिया 4