+
+

१२ दिनदेखि माइतीघरमा एक्लै उभिएका चपाईंको आन्दोलन स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १३ गते १९:३४

१३ जेठ, काठमाडौं । प्रारम्भिक शिक्षा तथा बाल विकास सुधारका माग राखेर १२ दिनदेखि माइतीघरमा उभिएर प्रदर्शन गरिरहेका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चपाईंले आन्दोलन स्थगित गरेका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग सहमति भएपछि चपाईंले आइतबार प्रदर्शन स्थगित गरेका हुन् ।

आफूले राखेका ५ वटै माग आगामी आर्थिक वर्षदेखि विषय विज्ञहरुसँग छलफल गरेर पूरा गर्न मन्त्री श्रेष्ठले सहमति जनाएपछि प्रदर्शन स्थगित गरेको चपाईंले बताए ।

उनका अनुसार सरकारसँग ईसीडीको तह तोक्ने, बालविकास तहलाई पनि विद्यालय तहमा समावेश गर्ने, आगामी बजेटमा शिक्षकहरुको तलब बढाउने, ईसीडी कुन तहको सरकारले हेर्ने निक्र्योल गर्ने र विद्यार्थीहरुको खाजा रकम पनि बढाउने सहमति छ ।

‘मैले कम्तीमा खाजा खर्च ५० रुपैयाँ पुर्‍याउनुपर्ने माग राखेको थिएँ । तर, तत्कालका लागि कर्णाली प्रदेशमा २५ रुपैयाँ पुर्‍याएर सुरु गर्ने र बाँकी प्रदेशमा किचनको क्षमता बढाउने सहमति भएको छ’, चपाईंले भने ।

हालसम्म १ देखि ८ सम्मलाईमात्रै प्राथमिक शिक्षा मानिँदै आएकामा अबदेखि प्रारम्भिक शिक्षा तथा बाल विकासलाई पनि प्राथमिक शिक्षामा समेट्ने मागमा पनि शिक्षामन्त्री श्रेष्ठ सकारात्मक भएको चपाईंको भनाइ छ ।

यसै वर्षदेखि मन्टेश्वरी, केयर गिभर, बालमनोवैज्ञानिक सुधार कार्यक्रमका लागि पनि बजेट व्यवस्थापन गर्ने शिक्षामन्त्रीले प्रतिवद्धता जनाएको चपाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?