+

‘घामबाट बच्न मात्र होइन, चाउरीपन रोक्न पनि सनस्क्रिन आवश्यक’ (भिडियो)

२०८१ जेठ  १४ गते ७:०० २०८१ जेठ १४ गते ७:००
‘घामबाट बच्न मात्र होइन, चाउरीपन रोक्न पनि सनस्क्रिन आवश्यक’ (भिडियो)

काठमाडौं । घामबाट बच्न सनस्क्रिन लगाउन चिकित्सकहरुले सुझाउने गर्छन् । सूर्यको हानिकारक विकिरणबाट छालालाई जोगाउन यसले महत्वपूर्ण भूमिका खेल्छ । घामबाट बच्न दैनिकरुपमा नै सनस्क्रिन लगाउन चिकित्सकहरु सुझाउँछन् ।

सनस्क्रिनका विविध पक्षमा रहेर छाला, यौन तथा सौन्दय रोग विशेषज्ञ डा. मोहन भुसालसँग अनलाइनखबरकर्मी मनिषा थापाले गरेको कुराकानीको सम्पादित अंश :

सनस्क्रिन क्रिम किन लगाउन जरुरी छ ?

सनस्क्रिन सूर्यको विकिरणबाट बचाउने सुरक्षा कवच जस्तै हो । जसरी अनुहारमा भएको फोहोर सफा गर्न बिहान र बेलुका पानीको आवश्यक पर्छ । त्यसरी नै हरेक दिन अनुहारको छाला घामबाट जोगाउन मुख धोएर मोइस्चराइजर गरेपछि सनस्क्रिन लगाउनैपर्छ । यसले क्षणिक मात्र नभई दीर्घकालीनरुपमा छालालाई सुरक्षा दिन्छ ।

सनस्क्रिनले छालामा कसरी काम गर्छ ?

सामान्यतया सनस्क्रिन दुई किसिमको हुन्छ- भौतिक र रासायनिक । यी दुवैको काम भनेको सूर्यको हानिकारक किरण यूभी, यूभीए र यूभीबीलाई छालामा जान रोक्नु हो ।

भौतिकमा जिंक अक्साइड र टिटानियम डाइअक्साइड जस्ता तत्व हुन्छ । जसले घामबाट आएका विकिरणलाई प्रतिविम्बित गरी छालाको सतहबाट छिर्न दिंदैन । यसले छालामा दाग धब्बालाई कम पनि गर्छ ।

त्यस्तै रासायनिकले घामबाट आउने विकिरणलाई छालाको सतहमाथि नै सोस्ने गर्छ । जसले गर्दा विकिरण छालाभित्र छिर्न पाउँदैन । केमिकल सनस्क्रिनमा अक्सिबेनजोन, अभोबेनजोन, अक्टिसिलेट र होमोसालेट, अक्सिटोसिजेट जस्ता तत्व हुन्छन् । यी तत्वहरुको काम भनेको हानिकारण विकिरण सोस्नु हो । र, यो लगाउँदा च्यापच्याप लाग्ने पनि हुँदैन ।

सनस्क्रिन अनिवार्य लगाउनैपर्छ भन्ने हुन्छ ?

सनस्क्रिन नलगाएर ज्यान नै जान्छ भन्ने त होइन । तर अनुहारको छालाबारे संवेदनशील हुनुहुन्छ भने सम्भव भएसम्म अनिवार्य लगाउनुपर्छ ।

सूर्यबाट यूभीए, यूभीबी र यूभीसी लगायत विभिन्न हानिकारक किरण आउने गर्छ । जसमध्ये पराबैजनी किरण जसमा यूभीए र यूभीबीले छालालाई नकारात्मक असर गर्छ । यी पराबैजनी किरणबाट बच्न घामको सम्पर्कमा आउने अनुहार, घाँटी, हातखुट्टामा सनस्क्रिन लगाउनुपर्ने हुन्छ ।

छालालाई सूर्यको पराबैजनी किरणबाट जोगाउन, बुढयौलीका लक्षण कम गर्न, दाग धब्बाहरु रोक्न दैनिक लगाउनुपर्छ । सनस्क्रिनले छालाका क्यान्सर हुने सम्भावनालाई पनि कम गर्ने अध्ययनहरुले देखाएको समेत छन् ।

सनस्क्रिन लगाउने र नलगाउनेबीच केकस्ता भिन्नता देखिन्छन ?

सनस्क्रिन लगाउने र नलगाउनेबीच धेरै अन्तर देखिन्छ । जसले लगाउँदैनन्, उनीहरुको अनुहारमा गहिरो चाउरीपना, दाग, धब्बा र उमेरभन्दा छिटो बूढो देखिन्छ ।

सनस्क्रिन लगाउनेहरुको अनुहारमा चमक हुने, छाला कसिलो हुने र छाला उमेरभन्दा दश वर्ष कम देखिन्छ ।

पहिलेको कुरा गर्ने हो भने यस्ता उत्पादनहरुको आविष्कार भएका थिएनन् । त्यतिबेलाका मानिसहरुले यस्ता उत्पादन नलगाए पनि चमक देखिन्थ्यो । यसलाई कसरी व्याख्या गर्नुहुन्छ ?

तुलनात्मकरुपमा औसतमा हेर्ने हो भने पहिलेको ६० वर्षको मानिस र अहिले सनस्क्रिन लगाएका ६० वर्षको मानिसको अनुहारको स्वरुप नै फरक छ । सनस्क्रिन नलाउने पहिलेका मानिस ५५ देखि ६० वर्षमा वृद्ध देखिन्थे । अहिले छालाको स्याहार गर्ने र सनस्क्रिन लगाउनेहरु ६० वर्षमा कम उमेरको देखिन्छ । यो अध्धयनहरुले समेत प्रमाणित गरेको सत्य हो ।

अर्को कुरा, पहिलेका मानिस तुलनात्मकरुपमा स्वस्थ हुन्थे । यसमा कुनै शंका छैन । कारण भनेको जंकफुडको उपलब्धता थिएन । शारीरिक श्रम गर्ने, हरियाली वातावरणमा बस्ने पोषिलो खानपान खान्थे । जसले भित्री बुढयौलीको लक्षण कम गर्थ्यो । तर बाहिरी लक्षणलाई  रोक्न भने सक्थेन । अत्याधिक घाममा काम गर्ने र अनुहारको सुरक्षाका लागि केही नलगाउँदा गहिरो चाउरीपना हुनुका साथै ६० वर्षमा धेरै बूढो देखिन्थ्यो ।

सनस्क्रिन अनिवार्य लगाउनुपर्छ भनिन्छ । यस्तोमा बालबालिका र वृद्धको लागि सनस्क्रिन जरुरी हुन्छ कि हुँदैन ?

सनस्क्रिन लगाउनका लागि कुनै उमेरहद छैन । ६ महिनाको बच्चादेखि वृद्धसम्मले सनस्क्रिन लगाउन सक्छन् । जति छिटो लगायो त्यति बुढयौलीको प्रक्रियामा ढिलाइ समेत गर्ने हुँदा २० वर्ष पुग्नुअगावै सनस्क्रिन लगाउनु उपयुक्त हुन्छ । तर ३० वर्षको उमेरमा भने सनस्क्रिन अनिवार्य लगाउनैपर्छ ।

किनकि ३० वर्षको उमेरको हाराहारीमा बुढयौलीको प्रक्रिया बिस्तारै सुरु हुन्छ । उमेर बढेसँगै बिस्तारै छालामा खाल्टो देखिने, हल्का चाउरीपन देखिने, हड्डीहरु खुम्चिंदै जान्छ । जसकारण छालाहरु झोलिंदै जाने र छालाको रङमा परिवर्तन आउने हुँदै जान्छ ।

यो प्रक्रियालाई सुस्त बनाउन यो उमेरमा सनस्क्रिन अनिवार्य लगाउनैपर्छ । त्यति मात्र होइन, यो उमेर नै बढी बाहिरी आवतजावत हुने हुँदा छालाको समस्याको जोखिममा पर्ने हुँदा सनस्क्रिन लगाउनैपर्छ ।

केही बलिउड, कलिउडमा जमेका सेलिब्रेटी छन्, जो सनस्क्रिन जस्ता कुनै उत्पादक प्रयोग नगरेपनि अनुहारमा चमक आएको बताउछन् । यसको कारण के हुनसक्ला ?

सनस्क्रिनको प्रयोग नगर्ने सेलिब्रेटी कमै मात्रामा हुनसक्छन् । उनीहरुको अनुहारको चमकको रहस्य भनेको कुनै विज्ञको सल्लाहमा एन्टिअक्सिडेन्ट खानेकुरा प्रशस्त खाने, शारीरिक व्यायाम गर्ने, अन्य सप्लिमेन्ट खाएर, बेलाबखतमा डिटक्स गरेर पनि हुनसक्छ ।

कोहीको भने वंशाणुगत कारणले पनि उमेर ढल्किंदा पनि बुढ्यौलीका लक्षण त्यति देखिएको हुँदैन । कसैले मेरो अनुहार केही नलगाउँदा पनि राम्रो छ भनेर लगाउँदैनन् भने उनीहरुमा तत्काल समस्या नदेखिएपनि कालान्तरमा बुढयौलीको लक्षण झन् बढी र छिटो देखाउँछ ।

सनस्क्रिनमा हुने एसपएफले के अर्थ राख्छ ?

सनस्क्रिनमा हुने एसपीएफको पूरा अर्थ हो, सन प्रोटेक्सन फ्याक्टर । सनस्क्रिनले दिने विकिरण विरुद्धको सुरक्षा मापन गर्ने एकाइ जस्तै हो, एसपीएफ । जसले यूभीबीको किरणबाट बचाउँछ । यूभी विकिरणमा छाला डढाउने, छालामा क्यान्सर गराउने, अनुहार बिगार्ने तत्व हुन्छ । यस्तोमा  एसपीएफको काम भनेको छालालाई यी तत्वबाट जोगाउनु हो । एसपीएफ १५, ३० र ५० गरी तीन किसिमको हुन्छ ।

एसपीएफ १५ ले ९३ प्रतिशत, एसपीएफ ३० ले ९७ प्रतिशत र एसपीएफ ९८ प्रतिशत यूबीबी किरणलाई रोक्छ । यीमध्ये तीन एसपीएफ नै लगाउँदा त्यति भिन्नता छैन । बढी घाममा बस्नुपर्ने भएमा ९७ प्रतिशत सुरक्षाका लागि एसपीएफ ५० उपयुक्त हुन्छ ।

कतिपय ठाँउमा एसपीएफ ५० भन्दा माथि भनेर मनलाग्दी नम्बर राखेर भ्रामक प्रचार गरी सनस्क्रिन बिक्री गरिएको हुन्छ ।

अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए)अनुसार एसपीएफ ५० भन्दा माथिको सनस्क्रिनलाई एसपीएफ ५० प्लस भनेर लेख्ने र बेच्ने मान्यता छ । ताकि धेरैमा एसपीएफबारे भ्रम नफैलियोस् ।

तापक्रम कम भएको र बढी भएको ठाँउमा एउटै एसपएफ भएको क्रिम लगाउन सक्छन् ?

सकिन्छ, घाम अत्याधिक लागेको ठाँउमा मात्र होइन, घाम नै नलागेको ठाँउ, जाडो र गर्मी मौसममा पनि विकिरण भइरहन्छ ।

त्यसैले चर्को घाममा एसपीएफ ३० र ५० लगाउन सकिन्छ । सनस्क्रिन भने छालाको प्रकार र छालाको अवस्थाअनुसार परीक्षण गराएर लगाउनु उचित हुन्छ । आफ्नो छाला कुन प्रकारको हो भन्ने कुरा थाहा पाउन छालारोग विशेषज्ञको सल्लाह लिनुपर्छ ।

उदाहरणका लागि तराईमा बस्ने व्यक्तिको छाला चिल्लो र डण्डीफोर भएमा च्यापच्याप नहुने जेल वा लोसन भएको सनस्क्रिन लगाउन सकिन्छ । जाडोमा बस्ने व्यक्ति जसको छाला सुक्खा छ भने बाक्लो क्रिम भएको लगाउन सकिन्छ । त्यस्तै संवेदनशील छाला भएमा फिजिकल सनस्क्रिन लगाउन सकिन्छ ।

सनस्क्रिन लगाउने तरिका के छ ?

सनस्क्रिन लगाउने तरिका पनि जान्नुपर्छ । कति मात्रामा लगाउने र कुन समयमा लगाउने भन्ने जानकारी हु्नु आवश्यक छ ।

सनस्क्रिन बिहान नौ बजे र मध्यान्ह १२ बजे गरी दुईपटक लगाउनुपर्छ । किनभने घामको असर बिहान १० देखि साँझ ५ बजेसम्म बढी हुन्छ । जसको चाया, पोतो र अन्य छालाको समस्या भए बिहान ८, ११ र दिउँसो २ बजे लगाउनु आवश्यक हु्न्छ । पौडी खेल्न र ट्रेकिङ जाँदा दुई घण्टाको फरकमा लगाइरहनुपर्छ ।

एक पटकमा एक चिया चम्चा वा दुई रुपैयाँको सिक्का जति मात्रा लिएर सनस्क्रिन लिएर अनुहारको सबै भागमा थोरै थोरै राखेर लगाउनुपर्छ ।

विशेषगरी महिलाले सनस्क्रिनपछि फाउन्डेसन लगाएका हुन्छन् । यस्तोमा उनीहरुको प्रश्न हुने गर्छ, दोस्रोपटक सनस्क्रिन कसरी लगाउने ?

यस्तोमा धुलोधुवाँमा जानुपरेको छैन भने अनुहार नपखाली त्यसमाथि पुनः लगाउन सक्नुहुन्छ ।

फोटो, भिडियो : शंकर गिरी/अनलाइनखबर

छाला तथा सौन्दर्य रोग छालारोग डा. मोहन भुसाल सनस्क्रिन
लेखक
डा. मोहन भुसाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

बढ्दो उमेरसँगै खानपानमा परिवर्तन गर्नु किन जरुरी छ ?

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

क्यान्सरका कारण पनि देखिन सक्छ मुटुमा समस्या

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

हड्डी खिइने समस्या ‘ओस्टियोआर्थराइटिस’बारे भ्रम र सत्य  

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

बाल क्यान्सरको लक्षणलाई बेवास्ता नगरौं (भिडियो)

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

गुणस्तरीय खाद्यवस्तु उत्पादन गर्न उद्योगले ध्यान दिनुपर्ने १४ कुरा  

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?

आत्महत्याको सोच आउनै नदिन के गर्ने ?