
१३ जेठ, काठमाडौं । विराटनगरमा रहेको सूर्योदय मिल्क एन्ड वेभरेज इन्डस्ट्रिज प्रालिले घिउ जापान निर्यात गर्न सुरु गरेको छ ।
कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयको सहकार्यमा सूर्योदय मिल्क एण्ड वेभरेज इन्डस्ट्रिजले घिउ जापान निर्यात गर्न सुरु गरेको हो ।
सूर्योदय मिल्क एन्ड वेभरेज इन्डस्ट्रिज जापान घिउ निर्यात गर्ने कोशी प्रदेशबाट निजी क्षेत्रको पहिलो उद्योग बनेको मन्त्रालयका सचिव लेखनाथ दाहालले बताए ।
उद्योगले जापानको एक निजी कम्पनीसँग एक वर्षमा ५० हजार केजी घिउ बिक्री गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको जानकारी उद्योगका सञ्चालक एवम् नेपाल डेरी एसोसिएसनका केन्द्रीय सदस्य मनोजकुमार यादवले जानकारी गराए ।
सम्झौता पत्र अनुसार उद्योगले पहिलो चरणमा ५ हजार केजी घिउ सहित चिउरा, चियापत्ती, मह जापान पठाउनेछ ।
उद्योगले घिउ जापान निर्यात गर्दा कोशी प्रदेश सरकारले प्रत्येक केजी घिउमा १ सय २० रुपैयाँ अनुदान उपलब्ध गराउने छ ।
नेपाली बजारमा परम घिउ प्रति केजी मूल्य १ हजार १ सय रुपैयाँ रहेको छ ।
प्रतिक्रिया 4