+
+

सांसदले नै पाइनन् न्याय

आफू सांसद र आफ्नै पार्टी सरकारमा हुँदासमेत बिन्दवासिनी कंसाकारले पीडक वा सरकारबाट पाउनुपर्ने क्षतिपूर्ति पाउन सकेकी छैनन् ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८१ जेठ १४ गते १९:२७

१४ जेठ, काठमाडौं । प्रतिनिधि सभा सदस्य बिन्दवासिनी कंसाकार एसिड आक्रमण पीडित हुन् । ‘माननीय’ भएपछि पनि आफूलाई राज्यले नसुनेको उनको दुःखेसो छ ।

मकवानपुर जिल्ला अदालतले २०७६ सालमा कंसाकारलाई एक करोड १४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउन आदेश दिएको थियो । कंसाकारका अनुसार उनी २०७० साल वैशाख ९ गते मकवानपुरको हेटौंडास्थित आफ्नै पसलमा बसिरहेका बेला एसिड आक्रमणमा परिन् । लगत्तै उनका बुबाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

६ वर्षपछि २०७६ साल कात्तिक १४ गते कंसाकारमाथि एसिड छ्याप्ने भारतीय नागरिक दिलीपराज केशरी पक्राउ परे । त्यसको तीन महिनापछि जिल्ला अदालतले कंसारकारलाई क्षतिपूर्तिसहितको फैसला गरेको थियो ।

मकवानपुर जिल्ला अदालतका तत्कालीन न्यायाधीश कमलराज विष्टले कंसाकारलाई एक करोड १४ लाख ८५ हजार रुपैयाँ क्षतिपूर्ति दिलाउने फैसला गरे । यो रकम सके पीडक दिलीपराज केशरीबाट भराउनू, उसले तिर्न नसके नेपाल सरकारबाट उपलब्ध गराउनू भनेर जिल्ला अदालतले आदेश गरेको थियो ।

उक्त फैसलामा भनिएको छ, ‘…निज प्रतिवादी विदेशी नागरिक हुँदा एवम् निजको बयान एवम् प्रमाणबाट निजले सहजै त्यतिका रकम क्षतिपूर्ति तिर्न सक्ने अवस्था नदेखिंदा, निज प्रतिवादीबाट उक्त रकम भराउन नसकिएमा निज पीडितलाई परेको पीडा र उपचारमा भएको खर्चका सम्बन्धमा मनासिव माफिकको क्षतिपूर्ति रकम नेपाल सरकारबाट स्थापना भएको अपराध पीडित क्षतिपूर्ति राहत कोषबाट भराइदिनू ।’

तर यो क्षतिपूर्ति रकम कंसाकारले अझै प्राप्त गर्न सकेकी छैनन् । कंसाकार एसिड आक्रमणमा पर्दा कक्षा १२ मा अध्ययनरत थिइन् ।

‘अदालतले आदेश गरेको क्षतिपूर्ति रकम ६ वर्षसम्म मैले उपचार गर्दा लागेको बिलका आधारमा हो । त्यसयता पनि नियमित उपचारमा छु’ कंसारकार भन्छिन्, ‘माननीय भएपछि छिटो होला भन्ने आश थियो तर मेरो दुःख राज्यले सुनिरहेको छैन ।’

कंसाकार प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समिति सदस्य छिन् । उक्त समितिले सोमबार सांसद कंसाकारले क्षतिपूर्ति पाउन नसकेको विषयमाथि औपचारिक रूपमा छलफल चलाएको छ । उक्त छलफलमा भाग लिँदै कंसाकारले राज्यसँगै गुनासो गरिन् ।

कंसाकारले प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा छ । रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री छन् । र पनि उनले न्याय पाउन सकिरहेकी छैनन् ।

एक वर्षको अवधिमा आफू संसद्का गतिविधिमा संलग्न हुँदै आएको उल्लेख गर्दै उनी थप्छिन्, ‘राज्यले एउटा माननीयलाई न्याय दिन सक्दैन् भने अरू कसैलाई दिन सक्दैन ।’

कंसाकार २५ वैशाख २०८० मा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट सांसद भएकी हुन् । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले डा. ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेर कंसाकारलाई सांसद बनाएको हो ।

‘माननीय हुनु अगाडि पनि राज्यसँग अदालतको फैसला अनुसार क्षतिपूर्तिका लागि लडिरहेको थिएँ । राज्यसँग मेरो लडाइँ अहिले पनि चलिरहेको छ’ सोमबार महिला समितिको बैठकमा बोल्दै उनले भनिन् । संसदमा आम नागरिकका विषय उठिरहँदा आफूलाई आफ्नै विषय याद आउने र नागरिकले कहिले न्याय पाउलान भन्ने लाग्ने उनी सुनाउँछिन् ।

उनी प्रश्न गर्छिन्, ‘संसद्कै एउटा सदस्य म न्याय खोजिरहेको छु । तर पाइरहेको छैन । यस्तो अवस्थामा संसदमा उठेका आम नागरिकका विषय सम्बोधन हुन्छ, भनेर कसरी विश्वास गर्ने ?’

एसिडका कारण अनुहार मात्रै होइन आफ्नो जिन्दगी नै बिग्रेको बताउने कंसाकार सकारात्मक सोच राख्न सक्ने भएकै कारण जिउन र अगाडि बढ्न सकिरहेको बताउँछिन् । सकारात्मक सोच राख्न सकेकै कारणले चाँडो ‘रिकभर’ हुन सकेको भन्ने पनि उनलाई लाग्छ ।

‘पसलमा बसिरहेका बेला अनुहारमा तेजाब खन्याएर भाग्यो । त्यो अत्यास लाग्ने पल, त्यो पीडा धेरै सम्झिन चाहन्नँ’ उनी थप्छिन्, ‘यस्तो अरूले भोग्न नपर्ने वा त्यस्तो आँट अरूले गर्न नसक्ने गरी राज्य प्रस्तुत हुनुपर्छ । मेरो चाहना यही हो ।’

‘उपचारको लागि करोडौं रुपैयाँ खर्च भइसक्यो । सरकारबाट अदालतको फैसला अनुसारको क्षतिपूर्ति प्राप्त हुन सकेको छैन’ उनी थप्छिन्, ‘एसिड पीडितको न्यायको लागि सरकारबाट बोलिएका बाचा पूरा भए हामी जस्ताहरूको आत्मविश्वास थप बढ्न सक्छ । जीवन जिउन थप ऊर्जा मिल्छ । यस विषयमा सुन्नुपर्नेले सुनोस् ।’

संसदीय समितिको बैठकमा उनले न्यायको पर्खाइमा ६ वर्ष बिताउन साह्रै गाह्रो भएको सम्झिइन् । आफूलाई एसिड छ्याप्ने दिलीपराज प्रक्राउ परेपछि भित्री मनको पीडा निकै हलुङ्गो भएको पनि सुनाइन् ।

उनले भनिन्, ‘तर अदालतको फैसला, बनेका कानुन समेत कार्यान्वयन हुन नसक्दा दिक्क भइँदो रहेछ ।’ आशा नमारिसकेको र न्यायका लागि लडिरहने उनको प्रतिवद्धता छ ।

लेखकको बारेमा
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?