+
+

कोशीमा निवर्तमान मुख्यमन्त्री केदार कार्कीले फिर्ता गरेनन् सरकारी निवास र गाडीको चाबी

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १४ गते २०:४४

१४ जेठ, विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकारी निवासको तालाचाबी फिर्ता नगरेपछि मुख्यमन्त्री हिक्मतकुमार कार्की डेरामा बसिरहेका छन् ।

निवर्तमान मुख्यमन्त्रीले विराटनगर र काठमाडौँका रहेको मुख्यमन्त्रीको सरकारी निवासको तालाचाबी फिर्ता गरेका छैनन । दुई वटा निवाससँगै प्रदेश सरकारका तीन वटा सवारी साधन पनि उनीसँग छ । विशिष्ट व्यक्तिका लागि छुट्याइएको कार, अन्य दुई वटा कार र एउटा स्कुटर कार्कीले फिर्ता नगरेका हुन् ।

मुख्यमन्त्रीका सल्लाहकार रवि खनालका अनुसार मुख्यमन्त्री हिक्मतकुमार कार्की विराटनगरको पोखरीया स्कुल छेउ रेग्मी टोलमा रहेको भाडाको घरमा बसिरहेका छन् ।

कोशी प्रदेशमा सुनसरी मोरङ सिँचाइ आयोजनाको अतिथि गृृहलाई प्रदेशको मुख्यमन्त्रीको निवास बनाइएको छ । तत्कालिन मुख्यमन्त्री राजेन्द्र राईले आयोजनाको अतिथि गृहलाई निवास बनाएका थिए । त्यसपछिका मुख्यमन्त्री सोही निवासमा बस्छन् ।

२७ असोजमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्की पनि सोही निवासमा बसे । २६ चैतमा एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि अल्मतममा परेका उनले राजीनामा नदिएको र विश्वासको मत पनि नलिएको भन्दै २६ वैशाख २०८१ मा पदमुक्त गर्दै प्रदेश प्रमुख परशुराम खापुङले अर्को सरकार गठन आह्वान गरे । जसमा एमाले र माओवादी केन्द्रको समर्थनमा एमालेका हिक्मतकुमार कार्कीले दाबी पेश गरेपछि मुख्यमन्त्री नियुक्त भए ।

हिक्मत कार्कीको नियुक्तिविरुद्ध निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा रिट दिएका छन् र यो मुद्दामा १६ जेठमा पेशी तोकिएको छ ।

आइतबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्रीले सरकारी निवास र सवारी साधन फिर्ता नदिएको बताएका थिए । ‘निवर्तमान मुख्यमन्त्रीले आफू मुख्यमन्त्री हुँदा प्रयोग गरेको निवास चाबी लगाएर जानुभयो । काठमाडौँमा रहेको मुख्यमन्त्रीको निवासमा पनि चाबी लगाएर हिँड्नुभएको छ’, उनले भने,‘ सवारी साधनसमेत राख्नुभएको छ ।’

निवर्तमान मुख्यमन्त्री केदार कार्की भने आफूलाई पदमुक्त गरेको पत्र नआएका कारण निवास र सवारी फिर्ता नगरेको बताउँछन् । सर्वाेच्चमा सरकार गठनसम्बन्धी मुद्दा चलिरहेका कारण पनि उनले तालाचाबी नबुझाउका हुन् ।

निवास र सवारी आफूले प्रयोग नगरेको बताउँदै उनले भने,‘संविधानको धारा उल्लेख गरेर प्रदेश प्रमुखले मुख्यमन्त्रीबाट हटाएको चिट्ठी दिएको एक सेकेण्डमा मुख्यमन्त्री निवास खाली हुन्छ, गाडी पनि बुझाइदिन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?