+

कमजोर ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

२०८१ जेठ  १५ गते ६:१२ २०८१ जेठ १५ गते ६:१२
कमजोर ब्याटिङसँगै नेपाल क्यानडासँग पराजित

१५ जेठ, डालास । नेपाल आईसीसी टी-२० विश्वकप वार्मअप पहिलो खेलमा क्यानडासँग ६३ रनले पराजित भएको छ ।

१८४ रनको लक्ष्य पछ्याएको नेपाल १९.३ ओभरमा १२० रनमा अल आउट भयो । नेपालका कुशल मल्लले ३० बलमा २ चौका र २ छक्कासहित सर्वाधिक ३७ रन बनाए ।

दुवै ओपनर आसिफ शेख र कुशल भुर्तेलले सुरुवात देखिनै संघर्ष गरेका थिए । तीव्र गतिका बलर डिलोन हेलिगरको पाँचौं ओभरको पहिलो बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर श्रेयस मोभ्भाबाट क्याच आउट भए । कुशलले १६ बलमा २ चौकासहित १० रन जोडे ।

त्यसपछि अनिल साहले १६ बलमा २ चौका र १ छक्कासहित २४ रन जोड्दै आउट भए । स्पिनर साद विन जाफरको बलमा रोहित पौडेल टप एज लागेर विकेटकिपरबाट १ रनमा क्याच आउट भए । त्यसअघि जाफरले आसिफ शेखलाई २२ रनमा एलबीडब्लू धरापमा पारे । उनले २२ बलमा ३ चौका प्रहार गरे ।

सन्दीप जोरा ६, गुलशन झा डक र सोमपाल कामी ४ रनमा आउट हुँदा नेपालको हार पक्का बनेको थियो ।

डिलोन हेलिगरले २.३ ओभरमा २० रन खर्चेर ४ विकेट लिए । जेरेमी गोर्डन र साद बिन जाफरले २-२ विकेट लिए । कलिम साना र परगत सिंहले १-१ विकेट लिए ।

त्यसअघि ग्राण्ड पेरी स्टेडियम डालासमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८३ रन बनाएको थियो ।

अन्तिम ओभरमा करण केसीलाई २१ रन प्रहार गर्दै क्यानडाले मोमेन्ट्स आफ्नो पक्षमा लैजानुको साथै बलरलाई राम्रो योगफलदिएको थियो ।

निकोलस किर्टोनले ३९ बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ५२ रन बनाए । रविन्द्रपाल सिंहले अन्त्यमा १७ बलमा १ चौका र ४ छक्कासहित ४१ रनको आक्रामक अविजित इनिङ खेले । डिलोन हेलिगर ७ बलमा २ चौकासहित १३ रन नट आउट रहे ।

ओपनर आरोन जोनसन र नवनीत धलिवालले २.४ ओभरमा २२ रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । आरोन जोनसन ८ बलमा २ चौकासहित १० रनमा आसिफ शेखबाट क्याच हुन पुगेका थिए ।

दोस्रो विकेटका लागि निकोलस किर्टोन र धलिवालले ६१ रनको साझेदारी गर्दै सानदार सुरुवात दिलाएका थिए । धलिवाल २७ बलमा ४ चौकासहित ३२ रनमा आउट हुँदा क्यानडा ९.५ ओभरमा ८३-२ को अवस्थामा थियो ।

त्यसपछि भने नेपालले लगातार विकेट लिँदै खेलमा फर्किएको थियो । तर, अन्त्यमा नेपालको डेथ ओभर समस्याको फाइदा उठाउँदै क्यानडाले राम्रो योगफल तयार पार्‍यो ।  परगत सिंह १३, श्रेयस मोभ्भा र साद विन जाफर २-२ रनमा आउट भए ।

नेपालका तीव्र गतिका बलर अभिनाश बोहराले ३ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । करण केसी, सोमपाल कामी, गुलशन झा, ललित राजवंशीले १-१ विकेट लिए । नेपालले दोस्रो वार्मअप खेल यसै मैदानमा बिहीबार घरेलु टोली अमेरिकासँग खेल्नेछ ।

टी-२० विश्वकप नेपाली क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय