+
+

इजरायलका प्रधानमन्त्रीले भने-रफाहमा ४५ शरणार्थीको ज्यान जानु दुःखद्

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते ८:१६

१५ जेठ, काठमाडौं । इजरायलले आइतबार गाजा क्षेत्रमा पर्ने रफाहको शरणार्थी शिविरमा गरेको आक्रमणमा ४५ जनाको ज्यान गएपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सो घटनालाई दुःखद् दुर्घटना भनेका छन् ।

आक्रमणपछि अन्तर्राष्ट्रिय स्तरमा नेतन्याहुको तीव्र आलोचना भएपछि उनले त्यसलाई दुःखद दुर्घटना भन्दै त्यसको अनुसन्धान गरिरहेको जनाएका हुन् ।

संसदमा सम्बोधन गर्दै उनले भनेका छन्, ‘रफाहमा हामीले १० लाख जनालाई बचाएका छौं । सर्वसाधारण नागरिकमा क्षति नपुगोस् भनेर हामी कोसिस गर्छौं । तर एक दुःखद दुर्घटना भयो । हामीले यसको अनुसन्धान गरिरहेका छौं र त्यसबाट हामी सिक्ने छौं ।’

नेतन्याहुले भने गाजा क्षेत्रका नागरिकलाई रक्षाका लागि हर सम्भव कोसिस गरिरहेको जनाएका छन् । सेनाको बचाउ गर्दै उनले भनेका छन्, ‘हमासमा जो संलग्न छैन उनीहरुलाई नोक्सान नपुगोस् भन्ने हाम्रो कोसिस रहन्छ ।’

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायलले रफाहको शरणार्थी शिविरमा आक्रमण गर्दा ४५ जनाको मृत्यु भएको र सयौं घाइते भएको जनाएको छ । घाइतेहरुमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ ।

इजरायललाई गाजामा आक्रमण रोक्न विभिन्न देशहरुले दबाब दिँदै आएका छन् । तर उनले भने हमासलाई निमिट्यान्न पार्ने लक्ष्य पूरा नहुँदासम्म युद्ध नरोकिने दोहोर्याएका छन् ।

गत ७ अक्टुबरमा हमासले इजरायलमा आक्रमण गर्दा १० नेपालीसहित करिब १४ सय जना मारिएका थिए ।

नेपालका विपिन जोशीसहितका दर्जनौं इजरायली नागरिकलाई हमासले अपहरण गरेको थियो । सो घटनापछि इजरायलले हमासको आतंक अन्त्य गर्ने कसम खाँदै युद्ध घोषणा गरेको थियो । इजरायलले थालेको सैन्य कारबाहीको क्रममा हालसम्म ३४ हजार भन्दा धेरैको ज्यान गइसकेको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले दाबी गरेको छ । मृत्यु हुनेमा धेरै महिला र बालबालिकाहरु छन् ।

इजरायलका प्रधानमन्त्री नेतन्याहु र हमासका लडाकु कमाण्डरहरुले युद्ध अपराध गरेको भन्दै नेदरल्याण्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा मुद्दासमेत परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?