+
+

गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाऊँ : मुख्यमन्त्री कँडेल

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १२:३१

१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउनुपर्ने बताएका छन् ।

मंगलबार गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै कँडेलले जनतालाई केन्द्रबिन्दुमा राखेर जनताको इच्छाअनुसार नै गणतन्त्रलाई थप सुदृढ र परिपक्व बनाउनुपर्ने बताएका हुन् ।

जनतामा सार्वभौम बनेको आजको दिन नेपालको राजनीतिक इतिहासको महत्तवपूर्ण र अविस्मरणीय दिन भएको कँडेलले बताएका छन् । ‘गणतन्त्र दिवस जनताले सफलता प्राप्त गरेको र जनता विजयी भएको महान उत्सव पनि हो,’ कँडेलले भनेका छन्, ‘यस उत्सवमा म सबैमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दछु ।’

लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउन सामाजिक न्याय, सुशासन र समृद्धिका तीन वटै आयामलाई समुचित सन्तुलनका साथ अगाडि बढाउनु अहिलेको प्रमुख आवश्यकता रहेको उनको भनाइ छ ।

कँडेलले व्यक्तिको जन्मका आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु गणतन्त्रको प्रमुख विशेषता भएको बताएका छन् ।

यस युगान्तकारी परिवर्तनको आयामलाई सामाजिक आयामसँग जोडेर समुन्नत प्रणाली विकास गर्न सकेमा मात्र गणतन्त्र दिगो बन्न सक्ने मुख्यमन्त्री कँडेलको तर्क छ ।

‘आजको यस ऐतिहासिक दिवसले राष्ट्रिय सार्वभौमिकता‚ स्वाधीनता र राष्ट्रिय एकतालाई अझ सुदृढ गर्दै सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने बाटोमा अघि बढ्न सबैलाई उत्प्रेरित गरोस्’ कँडेलले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?