+
+

‘खलीखाने’ चलनबारेको डकुमेन्ट्री दर्जन बढी अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १३:४०

काठमाडौं । नेपाली समाजमा रहेको वायु उतार्ने र खलीखाने प्रचलनका विषयमा निर्माण गरिएको वृत्तचित्र दर्जन बढी अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरुमा छनोट भएको छ ।

नेपालको खलीखाने चलन र जनस्वास्थ्यको विषयमा चार दशकदेखि अध्ययन गरिरहेका अमेरिकी मानवशास्त्री अल्फ्रेड पाक निर्माता रहेको यो डकुमेन्ट्री फिल्म ‘डान्सिङ इन फायर’को निर्देशन रमेश खड्काले गरेका छन् ।

आफ्नो घर तथा कुलमा अकालमा मृत्यु भएका व्यक्तिहरु ‘काँचो वायु’ भएर रहन्छन् र उनीहरुको आत्मालाई पूजाका विधिद्वारा ‘वायु उतार्ने’ जनविश्वास काठमाडौं उपत्यका आसपासको क्षेत्रमा प्रचलित छ । डान्सिङ इन फायरले भक्तपुरको चाँगुनारायण नगरपालिकाको जीतपुरफेदी खड्कागाउँमा भएको वायु उतार्ने र खली खाने चलनलाई डकुमेन्ट्रीमा समेटेको छ ।

महिना दिन लामो वायु उतार्ने प्रक्रिया, उनीहरुको सामाजिक माहोल र मृत्युको दु:खबाट छुट्कारा पाउन परिवार र सिंगो समाजले गरेको कार्यमा पनि यो फिल्म केन्द्रित छ ।

गत मार्चमा पेरिसमा सम्पन्न ईथ्नो अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा प्रिमियर भएको यो फिल्म फ्रान्सको अर्को चर्चित फिल्म महोत्सव कान्स वर्ल्ड फिल्म महोत्सवमा छनोटमा परेको छ भने जर्मनीको ब्रान्डेनबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि छनोटमा परेको छ । काठमाडौंमा मे २९ बाट सुरु हुने काठमाडौं अन्तर्राष्ट्रिय फिल्म महोत्सवको दोस्रो दिन ३० मेमा राष्ट्रियसभा गृहमा देखाइने यो फिल्मले विश्वका विभिन्न फिल्म महोत्सवमा सहभागिता जनाइसकेको छ । केही महोत्सवहरुमा अवार्ड हासिल गरेको छ भने अन्य महोत्सवमा पनि छनोट हुने क्रम जारी छ ।

यसअघि सिंगापुर अन्तर्राष्ट्रिय फिल्म फेयरमा आउटस्ट्याण्डिङ डकुमेन्ट्रीको अवार्ड पाएको यस फिल्मले स्वीडिस अन्तर्राष्ट्रिय मोसन पिक्चर अवार्डमा बेस्ट डकुमेन्ट्री र फुकेट अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पनि बेस्ट डकुमेन्ट्रीको अवार्ड जितेको छ । यसैगरी ‘डान्सिङ इन फायर’ ड्रुक अन्तर्राष्ट्रिय फिल्म महोत्सव भुटान, दुबई अन्तर्राष्ट्रिय सिने कार्निभल, साउथ एसियन अन्तर्राष्ट्रिय फिल्म महोत्सव फ्लोरिडामा पनि प्रिमियर भइसकेको छ ।

आगामी जुन महिनामा अमेरिकामा हुने फिल्म सोसाइटी अफ समिट, न्युजर्सी २०२४ र जुन २० देखि २३ सम्म हुने नेपाल अमेरिका इन्टरनेसनल फिल्म महोत्सवमा पनि प्रदर्शन गरिने छ ।

अध्येता अल्फ्रेडले नेपाली संस्कृतिमा रहेको विविधता संसारका लागि अचम्मलाग्दो मानवीय रुचिको विषय भएकाले यो फिल्म बनाउन प्रेरित भएको बताए ।

यो फिल्ममा काम गरिरहँदा अल्फ्रेडबाट धेरै कुरा सिकेको निर्देशक खड्काले बताए । ‘अरुले नसोचेको एउटा फरक विषयमा ४० वर्षदेखि उहाँको चासो र सरोकारबाट नै यो फिल्मको अवधारणा जन्म भयो । पहिलोपटक यसका विभिन्न पक्षहरुबारे अवलोकानात्मक छायांकन सम्भव भयो । यसले पाइरहेको अन्तर्राष्ट्रिय सफलताप्रति हामी खुसी छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?