+
+
अभिनेत्री साम्राज्ञी शाहसँग संवाद :

‘जब गिभअपको सोच आउँछ, त्यसबेला प्रियंका चोपडाका इन्टरभ्यु हेरेर प्रेरणा लिन्छु’

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १८:२८

काठमाडौं । तन्नेरी पुस्तामाझ अभिनेत्री साम्राज्ञी शाहको क्रेज निकै छ । बोल्ड र ब्युटीफुल अभिनेत्रीको रुपमा छवि बनाएकी साम्राज्ञी सोचमा उदार पनि छिन् । ‘ड्रिम्स’ डेब्यु गर्लको आगामी फिल्म ‘लण्डन टु पेरिस’ २५ जेठमा प्रदर्शन तयारीमा छ । रोमान्टिक फिल्मबाट चिनिएकी उनी सोसल-ड्रामा र महिला प्रधान फिल्म पनि एक्सप्लोर गर्न चाहन्छिन् ।

साम्राज्ञी एकैसाथ अभिनेत्रीसँगै व्यवसायी पनि हुन् । उनी बुटिक लगायतका व्यवसायमा पनि सक्रिय छिन् । पछिल्लो समय लगातार फिल्म असफल रहेपछि साम्राज्ञीसामु हिट फिल्म दिनुपर्ने दबाब पनि छ । यो संकटबीच साम्राज्ञी ‘लण्डन टु पेरिस’ हिट हुने आशामा छिन् । पछिल्लो समय उनी डिम्ब भण्डारणको कुराले पनि चर्चामा थिइन् । यसै सन्दर्भमा अभिनेत्री साम्राज्ञी शाहसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश :

अहिले फिल्म रिलिजलाई लिएर तपाईंको मुड कस्तो छ ?

जसलाई पनि आफ्नो काम मनपर्छ । म आशावादी हुने प्रयास गरिरहेकी छु ।

लण्डन टु पेरिस’ कस्तो फिल्म हो ?

यो लभस्टोरी फिल्म हो । अहिलेको आधुनिक पुस्तामा एउटा मान्छे, अर्कोसँग जाने कथा हो । तर त्यहाँ जहिले पनि एउटा ‘सोलमेट’ हुन्छ । त्यसलाई हामीले चिनेका हुँदैनौं । जहिले चिन्छन्, त्यतिबेला उनीहरु त्यो व्यक्तिकहाँ पुगेर पुनः त्यही गल्ती गर्छन् र नयाँ मान्छेको खोजी गर्छन् । यसको कथा यही वरपर छ । यो ‘सोलमेट’सामु पुग्न गर्ने संघर्षको कथा हो ।

यो फिल्मको लक्षित समूह कुन हो ? यो समयमा यो फिल्म किन हेर्न जरुरी छ ?

मान्छेको आफ्नो हेराइ हुन्छ, के भयो भनेर । फिल्म मनोरञ्जनकै लागि हेरिन्छ । यसभित्रका केही इमोसन र परिस्थिति हुनसक्छन् । तर मुख्यत: मनोरञ्जन नै हो ।

तपाईंको करिअर ग्राफमा यसले के अर्थ राख्छ ?

यो फिल्मलाई मैले दुई वर्षअघि नै साइन गरेकी हुँ । इमान्दार भएर भन्दा मलाई त्यतिबेला मन परेको कथा हो । मलाई थाहा छ, यो राम्रो फिल्म हो । तर करिअरमा के अर्थ राख्छ भनेर मैले त्यसरी सोचेको छैन । अहिलेसम्म सबै दर्शकसामु पुग्ने र सबैलाई मनपर्ने फिल्म अहिलेसम्म गर्न पाएकी छैन ।

राम्रो फिल्म र सबैसामु पुग्ने फिल्म भनेको कस्तो हो ?

यो अहिलेसम्म मैले पाएकै छैन । पाएँ भने मलाई पनि थाहा हुन्छ । आयो भने मलाई ८-९ वटा स्क्रिप्टको अफर आउँछ । तीमध्ये मलाई कतिवटा चित्त बुझेको हुँदैन । स्क्रिप्ट र डायलग नै चित्त बुझ्दैन । नौवटा छानिएर एउटा ठीकैको छ भनेर मैले गर्ने हो । इमान्दार भएर भन्दा सोच्दा म आफूलाई भर्सटायल एक्टरको रुपमा सोच्दिनँ । तर मलाई भर्सटाइल एक्टर बन्न मनपर्छ ।

मलाई रोमान्टिक जनरा पनि मनपर्छ भने मलाई डार्क कमेडी, साइफाई र हरर फिल्म मनपर्छ । मसँग एकदमै ठूलो कल्पनाशीलता छ । तर त्यसअनुसार हरेक जनरामा काम गर्न पाएको छैन । मलाई त्यही ‘रोमान्टिक स्टिग्मा’ र त्यही केटीको रुपमा राखिएको छ ।

तपाईंको प्रमुख भूमिका भएका केही फिल्मले बक्स अफिसमा राम्रो गर्न सकेनन् । बक्स अफिस हिट र फ्लपले एक्टरलाई कति दबाब सिर्जना हुनेरहेछ ?

अवश्य पनि गाह्रो हुन्छ नि । एक्टरलाई मात्र होइन, करिअरमा हरेक मान्छेलाई आफूले सोचेजस्तो र चाहेजस्तो नहुँदा जसलाई पनि गाह्रो हुन्छ । हामी एक्टरको त मुखै पर्दामा हुन्छ । जसले पनि देख्ने हुन्छ । निश्चय नै मलाई, यतिचोटि गिभअप गर्न मन लाग्यो कि सोसल मिडिया पनि चलाउन मन लागेन । यो इन्डस्ट्रीमा पनि काम गर्न मन लागेन । मलाई के भयो भने यही इन्डस्ट्रीले नै म ठूलो भएको हो । यही इन्डस्ट्रीले नै मलाई मान्छे बनाएको हो ।

यसले गर्दा नै मैले लाइफमा धेरै मान्छे चिन्न पाएँ । अनुभव देख्न पाएँ । जीवन नै पूर्णरुपमा राम्रो ढंगले बुझ्न र देख्न पाएँ । जब मलाई नराम्रो हुन्छ, मैले राम्रो कुरा सोच्न थालें । एकदिन राम्रो काम आउन सक्छ, गरिराख भनेर मैले आफैंलाई बुझाएँ । अहिले राम्रो नहोला तर एकदिन त राम्रो हुन्छ होला नि । हार नमान, हान नमान भनिराखें भनेर आफूलाई एकोहोरो बनाउन खोजिराख्या छ ।

यतिबेला तपाईंले कुनै कुरालाई प्रेरणाको स्रोत मान्नुभएको छ ?

जब मलाई मोटिभेसनको जरुरी हुन्छ । त्यतिबेला मलाई प्रियंका चोपडाको इन्टरभ्युहरु हेर्न मन लाग्छ । धेरै प्रेरणादायी लाग्छ । हामीले उनको सफलता मात्र देख्छौं तर उनी पनि धेरैपटक अस्वीकृत भएकी छन्  । उनले पाउने रोल अरु चिन्ने मान्छेलाई दिएको छ । यत्रो ठूलो र प्रसिद्ध मान्छेलाई त के–के भैराख्या हुन्छ । उनी भनेको उनी नै हुन् । उनले कहिल्यै हार मानिनन् ।

उनी अघि बढिरहिन् । सिंढी चढ्ने हो । त्यो सिंढीमा प्वाल हुन्छ होला । खुट्टा अड्किन्छ होला । निकालेर माथि गइराख्ने हो । गिभअप चाहिं नगर्ने हो ।

आफ्नो फिल्म फ्लप हुनुको पछाडि कारण के देख्नुहुन्छ ?

मेरो पहिलो फिल्म ‘ड्रिम्स’ साइन गर्दा म १६ वर्षकी थिएँ । तपाईंलाई लाग्छ त्यतिबेला म के सही थिएँ होला ? के सही, के गलत केही आइडिया थिएन । मेरो बुवा पनि निर्मातामध्येको एक भएर त्यो फिल्म साइन गर्‍या थिएँ । जीवनमा हरेक कुराको अनुभव गर्नुपर्छ । म एक्टर बन्छु भनेर सोचेकै थिइनँ । भगवानले कतिपय कुरा दिनुहुन्छ, भाग्यमै लेखेजस्तो । त्यो फिल्म गर्नु मेरो भाग्य थियो । मैले त्यो फिल्ममा दर्शक कमाएँ ।

मलाई कहिल्यै थाहा नै थिएन दर्शक हुनुहुन्छ भनेर । सोचेको पनि थिइनँ । मलाई त्यतिबेला सबै कुरा थाहा छ भन्ने लाग्थ्यो । तर मलाई केही थाहा थिएन रहेछ । अहिले पनि मलाई धेरै कुरा थाहा थिएन । अझै सिक्नुछ । सुन्न बाँकी छ । बुझ्न बाँकी छ । हरेक कुरामा म पक्का छु भनेर मलाई लाग्दैन । म कच्चै छु । अझै पनि मलाई धेरै कुरा थाहा नै थिएन । मैले केही कुरा सिकेको पनि छु । जुन मान्छेसँग दुःख पाएँ, त्यही मान्छेसँग लोभले गर्दा काम त गर्दिन म ।

तपाईंले हामीसँगै गफगाफमा यसअघि नारीप्रधान फिल्ममा काम गर्ने इच्छा राख्नुभएको थियो । यो कुरा के हुँदैछ ?

मलाई यस्तो फिल्मको अफर अहिलेसम्म आएको छैन । हामीकहाँ केटी केटीलाई दाँजेर झगडा बनाउने टाइपको हुन्छ । छोरी छोरी मान्छेले मिलेर काम गर्दा झन् रमाइलो हुन्छ जस्तो मलाई लाग्छ । राम्रो स्क्रिप्ट भयो भने धेरै मान्छेलाई राम्रो हुन्छ । किनभने धेरैजसो केटाकेटीमै फिल्म बनाउने गरिन्छ ।

करिअरलाई अब कसरी अघि बढाउने सोच छ ?

म वास्तवमै राम्रा स्क्रिप्ट चाहन्छु । राम्रो टिमसँग काम गरेर मैले पनि आफूलाई निखार्न पाऊँ । मेरो लाइफमा कहिल्यै पनि रोमान्स भन्ने कुरा राम्रो भएन । म रोमान्टिक फिल्म अवश्य पनि गर्न चाहन्छु । अरु जनरामा पनि काम गर्न मन छ । यो कुरा राम्रो स्क्रिप्टमा निर्भर हुन्छ । गाउँको कथाका फिल्ममा पनि काम गर्न मन लाग्छ । तर स्क्रिप्ट आउनुपर्‍यो नि ।

तपाईंले अनलाइन व्यवसाय पनि गर्नुभएको थियो होइन ?

मेरो बुटिक थियो । दुई वर्ष चलाएँ । अहिले बन्द छ । फिल्मबाहेक अरु पनि प्लान छ, त्यो भन्दिनँ । यत्तिकै त मान्छेको आँखा लागिराखेको हुन्छ । भविष्यमा केही गरें भने पनि भन्दिनँ म । म साइलेन्ट इन्भेस्ट र साइलेन्ट पार्टनर चाहन्छु ।

विवाह र इन्गेजमेन्टको योजना के छ ?

विवाह गर्ने भनेकै हुनसक्छ ३० देखि ३२ वर्षको उमेरसम्म । लाइफमा अझै घुम्न बाँकी छ । अझै हेर्न बाँकी छ । अझै धेरै अनुभव लिन बाँकी छ । यतिचाँडो विवाहको बन्धनमा बाँधिएर बस्ने । विवाह गर्‍यो भने बच्चा पाउनुपर्‍यो, बच्चालाई हेर्नपर्‍यो । घरगृहस्थीमा तीन-चार वर्ष जान्छ । अनि काम गर्न पाउँदैन नि त ।

तपाईंले ‘एग फ्रिज’को कुरा गर्नुभएको थियो । यसको योजना के हुँदैछ ?

यसको लागि समय एकदमै दिनुपर्छ । अहिले मेरो काम लगातार छ । आगामी फिल्म ‘रुमानी रंग’पछि एग फ्रिजिङ गर्ने सोच छ । अहिले चाहिं भ्याउँदिन । यसको प्रक्रिया केही जटिल तर सुरक्षित छ । म विवाह गर्न र बच्चा पाउन चाहन्छु ।

दुई बच्चा र सुन्दर परिवार चाहन्छु । तर यो उपयुक्त समय होइन । मैले काम गर्नुपर्छ र धेरै काम गर्न जरुरी छ । अर्को वर्ष सम्भवतः यो काम गर्छु होला ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?