+
+

शिक्षण पद्धतिलाई प्रभावकारी बनाउन मोरङमा लिटिल एन्जल्सको कार्यशाला

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते १२:१९

१६ जेठ, मोरङ । शिक्षण पद्धतिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विराटनगरका शिक्षकको सहभागितामा लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टले कार्यशाला गोष्ठी गरेको छ।

कलेजका प्रधानाध्यापक डा. मित्रबन्धु पौडेलका अनुसार शिक्षक तथा विद्यार्थीमा देखिने तनाव, अध्ययन अध्यापनको चुनौति कम गराउन शिक्षकबीच शिक्षण सिकाइ कार्यक्रम गरिएको हो।

मंगलबार विराटनगरमा आयोजित गोष्ठीमा प्रशिक्षकसमेत रहेका प्रिन्सिपल पौडेलले शिक्षण क्षेत्रमा देखिएको चुनौति र निराशालाई न्यूनीकरण गर्दै शिक्षकको काम प्रभावकारी गराउन कार्यक्रम केन्द्रित भएको बताए।

शिक्षक र विद्यार्थीबीच सैद्धान्तिक अध्ययनसँगै व्यवहारिक र अभ्यासात्मक शिक्षण आवश्यक हुनेमा जोड दिएका प्रशिक्षक डा.पौडेलले विद्यार्थीसँगै अध्यापन गराउने शिक्षकमा समेत संवेदनात्मक चेतको विषयमा प्रस्ट्याइएको जानकारी दिए ।

उनले भने, ‘शिक्षक पेशा मर्यादित हुन्छ। यद्यपि, कतिपय अवस्थामा शिक्षक आफैपनि तनावमा हुन्छन् । कक्षामा शिक्षक तनावमा हुने र विद्यार्थीमा समेत विभिन्न तनाव रहने गरेको पाइन्छ । त्यसको निरुपण लागि केही सकारात्मक सिकाई गराएका हौं।’

मोरङ औद्योगिक क्षेत्र भएको हुदाँ कार्यक्रममा विद्यार्थीलाई ब्यवसायप्रति उन्मुख गराउनका लागि कसरी शिक्षा दिन सकिन्छ त्यसबारे गहन छलफल गरिएको उनले बताए। उनले भने, ‘ विद्यार्थीलाई उद्योगमा पुराएर, व्यवसायीसँग राखेर धेरै कुराको ज्ञान दिन सकिन्छ । यसबारे शिक्षक र शैक्षिक संस्थाले अलि फरक ढंगबाट प्रस्तुत हुन आवश्यक रहेको छ । यहाँ त ठूलो उद्योगहरु छन्। जसबाट विद्यार्थीले प्रत्यक्ष रुपमा लाभ लिन सक्छन् ।’

कार्यक्रममा कलेजकी सहायक एकेडेमी डाइरेक्टर डा. स्मृति कला पन्तले विश्वमा फैलिएको कोभिड १९ महामारीपछि शिक्षण क्षेत्रको विकासबारे प्रस्तुति दिएकी थिइन्। त्यसैगरी, हिसानका उपाध्यक्ष भेषराज पोखरेलले शिक्षण पेशामा देखिएको समस्या र चुनौति निराकरणका लागि छलफल प्रभावकारी भएको बताएकाछन्।

करिब ४० जना शिक्षकको सहभागिता रहेको कार्यशाला गोष्ठी डा. पौडेल र डा. पन्तले संयुक्तमा सञ्चालन गरेका थिए । गोष्ठीमा विराटनगरका शिक्षादीप कलेज, मेरिल्याण्ड कलेज, अरनिको कलेज, नेशनल एकेडेमी, विराट मोडेल कलेज र ग्रीनल्याण्ड कलेजका शिक्षकहरुको सहभागिता रहेको थियो।

त्यसअघि, इटहरीमा सम्पन्न गोष्ठीमा धार्मिक क्षेत्र बराहक्षेत्रको प्रवद्र्धनमा सबै क्षेत्रको पहल आवश्यक रहेको बताइएको थियो। डा. पौडेलका अनुसार बराह क्षेत्रलाई धार्मिक सर्किटमा जोड्न सकिने आन्तरिकसंगै बाह्य धार्मिक पर्यटकलाई भित्राउन सकिनेबारे धारणा प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?