+
+

‘फिल्म सिटी’ काठमाडौंको विकासमा सहकार्य गर्न युनेस्को इच्छुक

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १५ गते १८:०६

काठमाडौं । राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) नेपालका प्रमुख माइकल क्रप्टले काठमाडौं महानगरपालिकालाई फिल्मको रचनात्मक सहरको रुपमा विकास गर्ने कार्यमा सहकार्यका लागि तयार रहेको बताएका छन् ।

टुँडिखेलमा सञ्चालन भइरहेको ‘सीप मेला’को अवलोकनका क्रममा उनले सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीसँग कुरा गर्दै यस्तो इच्छा व्यक्त गरेको काठमाडौं महानगरले जनाएको छ ।

‘फिल्म सिटीको कार्यक्रमभित्र पनि विद्यालय शिक्षामा काम गर्न सकिन्छ । यसका अतिरिक्त सहकार्यमा थप कार्यक्रम पनि सञ्चालन गर्न सकिन्छ,’ क्रफ्टले भने, ‘रचनात्मक उद्योग पहिचान, विकास र विस्तारका लागि काठमाडौंसँग धेरै सम्भावना छन् । यी सम्भावनाहरुलाई महानगरपालिकाको पहिचान, गौरव र समृद्धि वृद्धिसँगै स्थानीयबासीको जीवनस्तर सुधारसँग जोडेर लैजानुपर्छ ।’

कुराकानीका क्रममा उपाध्यक्ष राजभण्डारीले महानगरपालिकाले सीपलाई स्वरोजगारसँग जोड्ने कामलाई प्राथमिकता दिएको बताए । ‘सीप मेला हाम्रो प्रस्थान बिन्दु हो । ज्ञान तथा सीपको अद्यावधिक गराउने, सीपलाई रोजगार र स्वरोजगारसँग जोड्ने यसभन्दा धेरै योजना कार्यान्वयन गर्ने योजनामा छौं,’ उनले भने ।

अवलोकनका क्रममा मूर्तिकला र चित्रकला प्रशिक्षणका बारेमा क्रफ्टले चासो राखेका थिए । उनलाई आयोगका उपाध्यक्षसहित सहरी योजना आयोगका सदस्य शैलेन्द्र झा, अन्तर्राष्ट्रिय सम्बन्ध सल्लाहकार सन्तोष गिरी, सीप मेला निर्देशक समितिका सदस्य सुदीप ढकाल, रोजगार संयोजक देवेन्द्र केसीले मेला र मेलामा सञ्चालन भएका तालिममा विषयमा जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?