+
+

गुल्मी छत्रकोटका ‘स्मार्ट’ आमाहरु सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०८१ जेठ १६ गते ७:३५

१६ जेठ, गुल्मी । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका गुल्मीले स्मार्ट आमाहरूलाई सम्मान गरेको छ । पालिकाले निर्धारण गरेका विभिन्न सूचकको आधारमा छनोट भएका ६ वटा वडाका १८ जना आमाहरुलाई सम्मान गरेको हो ।

गाउँपालिकाले निर्धारण गरेका स्वास्थ्यका सूचकहरू पूरा गर्ने प्रत्येक वडाका ३/३ जना आमा छनोट गरेर सम्मान गरिएको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोखरेलले बताए ।

पालिकाले निर्धारण गरेका २० वटा सूचकहरूमा १०० अंक राखेको थियो । जसमा प्रत्येक सूचकलाई ५ अंक निर्धारण गरिएको थियो । त्यसका आधारमा पालिका भित्रका करिब २ सय आमाहरु मध्येबाट १८ जना स्मार्ट आमाहरुलाई सम्मा गरिएको पोखरेलले बताए ।

‘सुनौला हजार दिन’का आमा र बच्चा दुवैलाई स्वास्थ्य पहुँच दिलाउने हेतुले जिल्लामै पहिलो पटक स्मार्ट आमा सम्मान कार्यक्रमको आयोजना गरिएको पोखरेलले बताए ।

छत्रकोट गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा सुनौला हजार कार्यक्रम सञ्चालन गर्दै आएको छ । गर्भावस्थामा आमाले लिनुपर्ने सबै खालका स्वास्थ्य सेवा लिन जनचेतना पालिकाले कार्यक्रम चलाएको हो ।

न्यून पोषण र गर्भावस्थामा पुर्याउनुपर्ने स्वास्थ्य चेकजाचँमा उदासिनताका कारणले गर्भवस्था र सुत्केरी अवस्थामा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सुनौला हजार दिनका आमाहरुलाई लक्षित गरी स्मार्ट आमा सम्मान कार्यक्रमको सुरु गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए ।

स्मार्ट आमा कार्यक्रमबाट नेपाल सरकारले निशुल्क रुपमा प्रदान गरेका स्वास्थ्य सेवाहरुबारे जानकारी गराउने र सुनौलो एक हजार दिनको महत्वबारे जानकारी गराउने उदेश्य रहेको छ ।

त्यस्तै गर्भावस्थामा लिनुपर्ने स्वास्थ्य सेवाहरुको नियमित रुपमा उपभोग गरी सुरक्षित प्रसूतिको लागि उत्प्रेरित गर्ने, घरमा प्रसूति हुँदाको जटिलताबारे जानकारी गराउने र मातृ तथा बाल मृत्युदर घटाउने अर्को उद्देश्य रहेको गाउँपालिकाको भनाइ छ ।

बालबालिकालाई नियमित तौल अनुगमन, खोप, बालभिटा, भिटामिन ए र जुकाको औषधी खुवाउने लगाएतका स्वास्थ्य सेवा लिनको लागि परामर्श गरि बालबालिकालाई सुपोषित बनाउने उद्देश्य स्मार्ट आमा कार्यक्रमको छ ।

स्वास्थ्य कार्यालय गुल्मीका जनस्वास्थ्य अधिकृत पशुपति आचार्यले स्मार्ट आमा कार्यक्रम राम्रो योजना भएकाले यसले स्वास्थ्य क्षेत्रमा नागरिकको पहुँच पुर्‍याउन सहयोगी भूमिका खेल्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?